नेपालका विष्णु अधिकारी र फ्रान्समा जन्मिएकी मेलोडी म्याडिसन अमेरिकाको कोलोराडोमा सँगै बस्छन्। उनीहरू एउटै लिङ्गका (समलिङ्गी) जोडी हुन्।
झन्डै दुई वर्षसम्मको चिनजान र प्रेमपूर्ण/मायालु सम्बन्ध गाँसिएपछि, कोरोना भाइरसको महामारीकै बिचमा उनीहरूले तीन वर्षअघि अमेरिकामा विवाह गरे।
त्यसयता आफ्नो जीवनमा ठुलो परिवर्तन आएको विष्णु बताउँछन्। ‘त्यसपछि मैले असाध्यै खुसी र मानसिक रूपमा स्वस्थ महसुस गरेँ,’उनले भने,‘मैले खुसी र आनन्द मात्र होइन, सुरक्षाको भावना पनि अनुभव गरेँ। प्रेमको जीत भयो।’
विश्व कोभिड–१९ को महामारीको सङ्कटसँग जुधिरहेको बेला उनीहरूको विवाह सन् २०२० सेप्टेम्बर १५ मा भएको थियो। उनीहरूको विवाह समारोह जुम भिडियो कम्युनिकेसन मार्फत गरिएको थियो।
अनलाइन आवेदन दिएपछि एक न्यायाधीसले भिडियो कलमा भाग लिए र उनीहरूको विवाह सम्पन्न गराइदिए। अमेरिकामा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएकाले उनीहरूलाई वैवाहिक बन्धनमा बाँधिन कुनै कठिनाइ भने भएन।
विष्णुको जन्म ३५ वर्षअघि कास्कीको ढिकुरपोखरीमा भएको थियो। छोरीको रूपमा जन्मिएका विष्णुले आफूलाई पछि गएर पुरुषका रूपमा पहिचान गरे। उनी अहिले आफूलाई तेस्रोलिंगी (ट्रान्सजेन्डर) पुरुषको रूपमा चिनाउँछन्।
आफ्ना सबै कागजातमा उनले आफ्नो लिङ्गलाई ‘पुरुष’ भनेर सूचीबद्ध गरेका छन्। विष्णु भन्छन्, ‘कसैले मलाई ‘उ’ वा ‘उनी’ जे भनेर सम्बोधन गरे पनि फरक पर्दैन, तर मेरा सबै कागजातहरूमा आफूलाई पुरुषको रूपमा चिनाउँछु। यो एक सामाजिक लडाई पनि हो।’
सन् २०१४ मा अमेरिका पुगेपछि विष्णु वासिङ्टन डिसी, मेरिल्यान्ड र भर्जिनियामा बसे। सन् २०१८ मा, उनको भेट एक पारस्परिक साथीमार्फत मेलोडीसँग भयो। सुरुमा, उनीहरूको सम्बन्ध साथीको थियो। तर छिट्टै नै उनीहरू गहिरो प्रेम सम्बन्धमा बाँधिए। सङ्गीत थेरापीमा स्नातकोत्तर गरेकी मेलोडी विष्णुको जीवनमा एक सामान्जस्यपूर्ण उपस्थितिका रूपमा देखा परिन्।
मेलोडीको आगमनपछि नै आफूले जीवनमा प्रेमको अर्थ बुझेको विष्णु बताउँछन्। ‘प्रेम औषधि जस्तै हो। जब तपाईँको मन दुखी हुन्छ, तपाईँले मन पराउने व्यक्तिको साथ पाउँदा शान्ति मिल्छ। आफूले मन पराएको मान्छेसँग मात्रै रुन र हाँस्न सकिन्छ र हाम्रो विवाह भएपछि, म थप परिपक्व भएको महसुस गर्छु। मैले पारिवारिक हेरचाह पाएको अनुभव गरेँ। म धेरै खुसी र मानसिक रूपमा स्वस्थ महसुस गर्छु’ विष्णु भन्छन्।
उनीहरूले आफूलाई थप स्थापित गर्दै, भविष्यमा आफ्नै जैविक सन्तान (बायोलोजिकल चाइल्ड) जन्माउने योजना पनि बनाएका छन्। मेलोडी वा विष्णुमध्ये एकको गर्भबाट बच्चा जन्माउन आफूहरू तयार रहेको विष्णु बताउँछन्। विष्णु भन्छन् ‘हामीले शुक्राणु दान गरेर भविष्यमा आफ्नै बायोलोजिकल सन्तान जन्माउने योजना बनाएका छौँ।’
आफू ‘फरक’ भएको महसुस
दुई ठुला दाजुभाइ, एक बहिनी र अर्की कान्छी बहिनीसहित परिवारमा चौथो सन्तानको रूपमा विष्णुको जन्म भएको थियो। घर परिवारले उनलाई छोरीको रूपमा हेर्दा पनि उनले भने आफूलाई सानैदेखि छोरा जस्तो अनुभूत गरिन्।
समाजमा अनि विद्यालयमा धेरै व्यक्तिहरूले प्रायजसो उसलाई ‘केटा जस्तो’भनेर टिप्पणी गर्थे। उनका धेरैजसो साथीहरू पनि केटाहरू थिए। ‘परिवार र समाजमा मलाई फरक रूपमा हेरियो, तर त्यति बेला त्यस्तो केही महसुस भएन।
विद्यालयमा बिहानको प्रार्थनामा केटा र केटीहरूको लागि छुट्टाछुट्टै लाइनहरू लगाइन्थ्यो। म केटाहरूको लाइनमा उभिन्थे तर शिक्षकहरूले मलाई केटीको लाइनमा लगेर राखिदिन्थे। मलाई बाल्यकालदेखि नै आफू भिन्न लाग्थ्यो। बहिनीसँग खेल्नुको सट्टा अन्य पुरुष साथीहरूसँग खेल्थेँ। यद्यपि, मैले चौध÷पन्ध्र वर्षको उमेरमा ‘म फरक छु’ भन्ने महसुस गरेँ’ विष्णु भन्छन्।
आफू फरक भएको थाहा पाएपछि सुरुमा डराएको उनी बताउँछन्। उनले शारीरिक वृद्धि, विकास हुने क्रममा द्विविधा, भ्रम र चिन्तासँग सङ्घर्ष गर्नुपर्यो। विष्णु भन्छन्, ‘जब म फरक छु भन्ने महसुस गरेँ, तब मभित्र गहिरो अशान्ति उत्पन्न भयो। म फरक छु भन्ने महसुस गरे पनि म जस्तै अरू पनि छन् भन्ने मलाई थाहा थिएन।’
रेडियो अन्तर्वार्ता मार्फत स्वयंको खोज
त्यसै क्रममा पोखराको चर्चित रेडियो अन्नपूर्ण एफएमले तेस्रोलिंगी बिन्दिया गौतमसँगको अन्तर्वार्ता प्रसारण गर्यो। बिन्दियाले तेस्रोलिंगी महिला र अरूभन्दा फरक भएको अनुभव सुनाइन्। बिन्दियाको अन्तरवार्ताले विष्णुको मनलाई गहिरो रूपमा छोयो। त्यही सुनेर विष्णुले खासमा आफू किन फरक रहेछु भन्ने थाहा पाए।
पोखरामा एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) परीक्षाको तयारीका क्रममा ट्युसन पढ्दै गर्दा विष्णुले उक्त अन्तर्वार्ता सुन्न पुगेका थिए। त्यसपछि विष्णुले एक बिहान पोखरामै बिन्दिया गौतमलाई सम्पर्क गरे र उनीसँगै अन्य व्यक्तिहरूसँग पनि कुराकानी गरे।
उनले एलजिबिटीआई समुदायको सदस्यको रूपमा आफ्नो पहिचान रहेको राम्ररी बुझे। त्यही समयमा उनले आफू तेस्रोलिंगी पुरुष भएको महसुस गरे। उनी भन्छन्, ‘त्यसपछि मैले कपाल काटेर छोटो बनाए अनि फर्क (स्कर्ट) लगाउन छाडिदिए।’
स्वयंलाई बुझेर गाउँ फर्केपछि विष्णुले निकै चुनौतीहरूको सामना गर्नुपरेको थियो। कक्षा १२ सम्म पढे पनि उनी आफ्नो वास्तविक पहिचान दबाउन बाध्य भए। छोरीले कस्तो व्यवहार र पहिरन लगाउने भन्नेबारे उनको परिवार र समाजको छुट्टै अपेक्षा र मापदण्डहरू थिए, जुन विष्णुमाथि लागू गर्न खोजिएको थियो। उनलाई केटाहरूसँग भेटघाट गर्नबाट रोकियो अनि केटीको जसरी मेकअप र लुगा लगाउन दबाब दिइयो।
‘मेरो परिवार र समाजले जति केटीका लागि बनाइएका कथित मापदण्ड लागू गराउन खोज्थे म त्यति नै जोडले आफूलाई केटाको पहिचान दिलाउन व्यवस्थित गरिरहेको हुन्थेँ,’ विष्णु भन्छन्,‘सबैले मलाई केटी नभई केटाको रूपमा व्यवहार गरोस् भन्ने मेरो चाहना थियो। समाज र परिवारसँग मेरो द्धन्द त्यहीँबाट सुरु भयो।’
राति घर छोडे
त्यो द्वन्द्व एक दिन चरम सीमामा पुग्यो, र विष्णु अबेर राति घर छाडेर निस्कन बाध्य भए। त्यति बेला उनले कक्षा १२ सम्म पढेका थिए। सामाजिक र पारिवारिक दबाबका कारण घर छोड्ने निर्णय गरे पनि विष्णुले आफ्नो गन्तव्य तय गर्न सकेका थिएनन्।
आधा रातमा चुपचाप उनले आफू जन्मेको, हुर्केको घर छाडे। घर त्यागेर हिँड्दा उनको खल्तीमा पैसा थिएन र कहाँ बस्छु भन्ने पनि उनलाई थाहा थिएन। तैपनि घरबाट निस्किएर राजमार्गमा पुगे। केही बेर पर्खिएपछि रात्रिवश आयो। भाडा तिर्ने पैसा नभए पनि उनी बसमा चढे। चलिरहेको बसको पछाडिबाट उनी छतमा बसे।
‘म पछाडि भर्याङ्ग समातेर छतमा चढेँ। बस कता जाँदै छ थाहा थिएन। केही समय त निक्कै चिन्ता लाग्यो, तर मैले घर छोडेपछि स्वतन्त्र भएको महसुस भने गरेँ। बसको छतमै निदाएछु, कति बेर सुतेँ थाहा भएन। जब ब्युँझिए, म काठमाडौँको बसपार्कमा थिएँ’ उनी सम्झन्छन्।
काठमाडौं आएपछि उनले एलजिबिटीआई समुदायको अधिकारका लागि काम गर्ने संस्था ब्लु डायमन्ड सोसाइटीसँग सम्पर्क राखे। त्यति बेला ब्लु डायमन्ड सोसाइटीको नेतृत्व सुनिलबाबु पन्तले गरेका थिए। सोसाइटीले यौन र लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई सीप तालिम र शिक्षाको लागि छात्रवृत्ति सहित समर्थन र सहायता प्रदान गर्थ्यो।
पोखराबाट अभियानको नेतृत्व गर्दै
ब्लु डायमन्ड सोसाइटीको सहयोग र आश्रयमा केही समय बिताएपछि विष्णुले पोखरा फर्कने निर्णय गरे। उनले पोखरामा एलजिबिटीआई समुदायको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरे र आफ्नै नेतृत्वमा परिवर्तन नेपाल नामक संस्था पनि स्थापना गरे। उनी सक्रिय रूपमा काठमाडौँको ब्लु डायमन्ड सोसाइटीसँग जोडिँदै सहायता र मुद्दाहरूको रिपोर्टिङ गर्ने कार्यमा सक्रिय रूपमा लागे। यसका अतिरिक्त उनले पोखरामै स्नातक तहको पढाई सम्पन्न गरे।
कानुनी परिवर्तनबाट मात्र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार प्राप्त गर्न सकिने विष्णुको दृढ विश्वास थियो। स्वभावका कारण धेरैले उनलाई कानुन पढ्न प्रोत्साहित गरे। राम्रो अङ्क ल्याउने उद्देश्यसहित पद्म कन्या क्याम्पसमा भर्ना भए तर उनले धेरै समय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको वकालतमा बिताउँदा आफ्नो पढाइ पूरा गर्न सकेनन्।
सन् २००८ मा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि सुनिलबाबु पन्तलाई संसद्को सदस्यमा मनोनयन गर्दा एलजिबिटीआई समुदायमा ठुलो उत्साह थियो। उत्साहले भरिएका विष्णु पनि अभियानमा सामेल भए।
उनी सन् २००६ देखि ब्लु डायमन्ड सोसाइटीको सदस्य थिए र सन् २०१४ मा अमेरिका जानुअघि सन् २०१० देखि २०१३ सम्म उनले संस्थाको मिडिया र मानवअधिकार विभागमा काम गरेका थिए। त्यस अवधिमा उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सुधारका थुप्रै कार्यक्रम र पहलहरूमा सक्रिय रूपमा भाग लिए।
जब सुनिलबाबु पन्त सांसद बने, विष्णुले एलजिबिटीआइ समुदायको अधिकार सुरक्षित गर्न राजनीतिक सङ्घर्ष आवश्यक भएको महसुस गरे। ‘एउटै विचारधाराका राजनीतिक दलहरूसँग मिलेर चुनावी अभियानलाई राजनीतिक रूपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष थियो। पार्टीको घोषणापत्रमा आफ्नो आवाज समावेश गर्न राजनैतिक दलको घरघरमा पुग्यौँ। तर, अपेक्षित नतिजा ल्याउनुको सट्टा यसले राजनीतिक विभाजन र विगतमा एकजुट भएका सहकर्मीहरूलाई विभाजन मात्र गराइदिएको छ’ विष्णु भन्छन्।
परिवारलाई बुझाउन कठिन
विष्णुको परिवारले उनलाई बुझ्न धेरै समय लाग्यो। घर छाड्दा उनीहरूको सम्बन्धमा दरार आयो। तर, समय बित्दै जाँदा बिस्तारै विष्णुको परिवारले बुझ्न थालेको छ।
आमाबुवालाई कहिल्यै पनि आफ्नो बारेमा स्पष्ट रूपमा नभने पनि उनीहरूले बिस्तारै बुझ्दै गएको विष्णु बताउँछन्। ‘स्वयंलाई बुझ्न मलाई पनि धेरै वर्ष लाग्यो। रेडियो र टेलिभिजनमा धेरै कार्यक्रम सुन्न र भाग लिन पर्यो। त्यसैले धेरै नपढेकी मेरी आमालाई मलाई छिटो नबुझिदिएकोमा दोष दिन्न’ विष्णु भन्छन्।
तर, शिक्षित परिवारका सदस्यहरूले पनि बुझ्न नसक्नु भने निराशाजनक भएको विष्णु बताउँछन्। उनले नेपालको संविधान र कानुन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका हिसाबले प्रगतिशील भए पनि सामाजिक मनोवृत्ति भने पछाडि रहेको उल्लेख गरे। एलजिबिटीआई समुदायका व्यक्तिहरूले पहिले आफूलाई स्वीकार गर्नुपर्नेमा जोड दिँदै विष्णु परिवारका सदस्यले पनि स्वीकार गर्नु महत्त्वपूर्ण रहेको बताउँछन्।
‘सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको परिवारको सहयोग हो। आमाबुवा, दाजुभाइ, दिदीबहिनीले साथ दिनुपर्छ। मुख्य गरी परिवारले बुझ्न आवश्यक छ। ‘राजनीतिक दलका नेता र प्रधानमन्त्रीले यो विषयलाई बुझ्न सक्दैनन्। त्यो भन्दा पनि परिवारकै सदस्यले नबुझिदिँदा धेरै पीडा हुन्छ,’ विष्णु भन्छन् ‘मेरो शिक्षित, पढे लेखेको दाइले मलाई बुझ्न नसकेको देख्दा मन दुख्छ। एक पटक परिवारले स्वीकार गरेपछि अरू कुनै कुराले केही फरक पर्दैन। परिवारले स्वीकार गर्यो भने हिम्मत बढ्छ र प्रधानमन्त्रीले मानुन् या नमानुन्, कसैले स्विकारोस् या नस्विकारोस् सामान्य हुन्छ।’
धेरै समलिङ्गीहरूले आफ्नो परिवारको बुझाइको कमीका कारण विपरीत लिङ्गी विवाह गरेर आफ्नो जीवन र अरूको जीवनसँग समेत सम्झौता गर्नुपरेको विष्णुको भनाई छ। आफ्ना छोराछोरीले विपरीत लिङ्गीसँग विवाह गरेपछि उत्सव मनाउने परिवारले आफ्ना छोराछोरीले एउटै लिङ्गको व्यक्तिसँग विवाह गर्दा पनि उत्सव मनाउनु पर्ने उनको भनाई छ। ‘माया त माया नै हो नि। तर विपरीत लिङ्गीबिचको प्रेम सम्बन्ध र विवाहलाई उत्सवका रूपमा मनाइन्छ, एउटै लिङ्गीको प्रेम, विवाह र सम्बन्धलाई उपहास किन गरिन्छ?’ विष्णुको प्रश्न छ।
शिक्षाको महत्त्व
विष्णु एलजिबिटीआई समुदायका लागि शिक्षा निक्कै महत्त्वपूर्ण रहेकोमा जोड दिन्छन्। आफूलाई बुझेर स्वीकार गर्दै सकेसम्म अध्ययन गर्नुपर्ने उनको सुझाव छ। ‘अरूले के भन्छन् भन्ने चिन्ता नगर्नुहोस्। अरूको बुझाइ तिनीहरूको ज्ञानको स्तरमा निर्भर गर्दछ। आफ्नो युवा शक्तिलाई सही ठाउँमा लगानी गर्नुहोस्। जोसुकैले जे सुकै भनोस्, पढ्न र ज्ञान प्राप्त गर्न कहिल्यै नछोड्नुहोस्’ विष्णु भन्छन्।
अध्ययन र बुझाई पछि मानिसको जीवनस्तरमा सुधार आउने भएकाले साथीभाइ र सहकर्मीहरूसँग समान स्तरमा जोडिन सक्ने उनको भनाई छ। सीमान्तकृत समुदायको भए पनि शिक्षित र आर्थिक रूपमा स्थिर भएमा सीमान्तकृतको जीवन बिताउनु नपर्ने विष्णुको विश्वास छ। उनी शिक्षालाई व्यक्तिगत उन्नति र आत्मसम्मान बढाउनको लागि महत्त्वपूर्ण मार्ग मान्छन्।
तर, विष्णु मूलधारको यात्रा लामो रहेको र सामाजिक चेतना, राजनीतिक संयन्त्र बाधक भएको स्वीकार गर्छन्। ‘समाज, राजनीतिक दल र राज्य व्यवस्था, मूलधारमा आउन बाधक बन्नेछन्। राजनीतिक दलका युवा नेताहरूमा पनि यी विषयप्रति संवेदनशीलता छैन। राजनीतिमा नयाँ व्यक्ति र नयाँ पार्टी सुरु गर्नेहरूले एलजिबिटीआइ समुदायको सरोकारका विषयलाई सम्बोधन गर्न कम चासो देखाउँछन्’ विष्णु भन्छन्।
विष्णुले राजनीतिक दलहरूमा गएर आफ्नो आवाज उठाउँदा तीतो अनुभव रहेको सुनाए। उदासीनताको सामना गर्नुबाहेक केही नपाएको उनको भनाई छ। पार्टीका नेताहरूले सुरुमा एलजिबिटीआई समुदायका सदस्यहरूलाई भेट्न समेत नखोज्ने र भेटिहाले पनि झूटा आश्वासन मात्र दिन्थे।
समलिङ्गी विवाहको अस्थायी दर्ताका लागि सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत केही नेताहरूले विरोध गरेको देखेर विष्णु दुःख व्यक्त गर्छन्। ‘धेरै साथीहरूले एलजिबिटीआई समुदायको अधिकारको लागि निरन्तर वकालत गरेका छन्। यस सन्दर्भमा सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेश स्वागतयोग्य छ। यद्यपि, केही नेताहरूले यसको विरोध गरेको देख्छु जुन निराशाजनक छ’ उनी भन्छन्।
गम्भीर मानसिक रोग
विष्णुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा मानसिक स्वास्थ्य समस्या गम्भीर रहेको बताए। डिप्रेसन र आत्महत्याको दर डरलाग्दो रूपमा उच्च छ र कोभिड–१९ महामारीको प्रभावका कारण यो थप बढेको छ। आर्थिक सङ्कटले एलजिबिटीआइ समुदायका धेरै व्यक्तिहरूलाई डिप्रेसन र आत्महत्यामा धकेल्दै सामाजिक भेदभावको पीडालाई अझ बढाएको उनी बताउँछन्।
‘जब अन्य व्यक्तिहरू महामारीको समयमा घर फर्किरहेका थिए, एलजिबिटीआई सदस्यहरू जसलाई, परिवारले पहिले नै अस्वीकार गरिसकेका थिए, तिनको जाने ठाउँ पनि कतै थिएन। सामाजिक भेदभाव र दुर्व्यवहारबाट पीडितहरूको अवस्था महामारीका कारण झन् बिग्रियो। यसको प्रभाव वर्षौँसम्म रहनेछ,’ विष्णुले भने।
विष्णुले नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूमा हर्मोनको बढ्दो प्रयोग र यौनाङ्ग शल्यक्रियाको विषयमा पनि चिन्ता व्यक्त गरे। यस्ता कुराहरूसँग सम्बन्धित स्वास्थ्य जोखिमप्रति सचेत रहन उनी आग्रह गर्दछन्। आत्म–स्वीकृति महत्त्वपूर्ण रहेकोमा जोड दिँदै उनी हर्मोनको प्रयोगले शारीरिक र मानसिक रूपमा पार्ने प्रभाव बारेमा ध्यान दिन सुझाव दिन्छन्।
सामाजिक विकृति, विसङ्गति, अपमान र घृणाका कारण व्यक्तिले पढाइलाई निरन्तरता दिन नसक्ने, समाज र परिवारबाट बहिष्कारको सामना गर्नुपरेको भन्दै विष्णुले मानसिक स्वास्थ्य समस्या पनि दुर्व्यसन र लागु औषधको प्रयोगले हुने गरेको बताए। ‘समाज र परिवारबाट माया नपाएपछि सुखको खोजीमा धेरै व्यक्ति लागु औषधको जालमा फस्छन्। यसले डिप्रेसन र आत्महत्याको बाटोमा डोर्याएको छ’ विष्णु भन्छन्।
स्रोत : nepyork.com
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.