सुन तस्करी

३ अर्ब ५० करोड माग दाबी, १८ जना अझै फरार

३ अर्ब ५० करोड माग दाबी, १८ जना अझै फरार

काठमाडौं : सुन तस्करी प्रकरण अनुसन्धानको क्रममा ब्रेक सु बाटै ३ क्विन्टल सुन नेपाल भित्रिएको खुलेको छ। सुन तस्करीकै लागि ७ कम्पनी खडा गरेर ३०२ किलो सुन तस्करी भएको पाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन।

गत साउन २ गते त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय अगाडिबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको ब्रेक सु सहितको तौल १५५ किलो भए पनि सुन निकालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो।

यसै प्रकरणमा अनुसन्धान गरेको सीआइबीले बुधवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।

सीआइबीले ५० जना प्रतिवादीबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग दाबी लिन भनेको छ। सीआइबी प्रमुख बज्राचार्यले आरोपी विरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैङ्क ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिइएको बताइन।

हाल यस प्रकरणमा पक्राउ परेका ३२ जना सीआइबीकै न्यायिक हिरासतमा छन्। १४ विदेशी नागरिक सहित १८ प्रतिवादीहरू फरारको सूचीमा छन्। हिरासतमा रहेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक रहेको खुलेको छ।

ललिता निवासका आरोपी सबै रिहा, भन्सारको तस्करी लुकाउन आन्दोलन

तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएका उनले एलेक्स भनिने याओ पुचेङसँग मिलेर नेपालमा तस्करीको व्यवस्थापन गर्ने गरेका थिए। दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन्।

सीआइबीले रोकालाई समेत प्रतिवादी बनाएको छ। उनको नाममा रहेको ठमेलस्थित होटल भियना तस्कर समूहले प्रयोग गरेको देखिएका कारण रोकालाई पनि प्रतिवादी बनाइएको सीआइबीले जनाएको छ। माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्व उपाध्यक्षसमेत रहेकी रोका फरारको सूचीमा छिन्।

सीआइबीका अनुसन्धान अधिकृत एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करीका लागि चिनियाँ नागरिकले नेपालीहरूलाई प्रयोग गरी कम्पनी दर्ता गरेका पाइएको बताए।

सीआइबीको प्रतिवेदनमाथि सरकारी वकिलहरूले अध्ययन थालेका छन्। करिब ६१ किलो सुन काण्डमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुधवार सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाए लगत्तै अध्ययन थालिएको हो।

अनुसन्धान प्रतिवेदनमाथिको अध्ययन सकेर शुक्रवारसम्ममा मुद्दा दर्ता गर्ने तयारी सरकारी वकिलको छ। करिब ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिन म्याद थप भएको छ।

यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरूलाई बुधवार चार दिन हिरासतमै राख्न जिल्ला अदालतले सीआइबीलाई अनुमति दिएको हो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.