नागरिकता नियमावलीमा ‘अन्य’ लैङ्गिक पहिचानको व्यवस्था

नागरिकता नियमावलीमा ‘अन्य’ लैङ्गिक पहिचानको व्यवस्था

काठमाडौँ : सरकारले नागरिकता नियमावली २०८० स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले नागरिकता तेस्रो संशोधन नियमावली स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

नागरिकता ऐन २०६३ मा भएको संशोधन अनुसार नियमावली बनेको हो। नियमावली स्वीकृत भएसँगै अब गैरआवासीय नेपाली नागरिकता, लैङ्गिक पहिचान अनुसारको नागरिकता र आमाको नामबाट नागरिकता जारी गर्ने बाटो खुलेको छ।
संविधानको धारा १२ मा लैङ्गिक पहिचान अनुसार नागरिकता जारी गर्ने उल्लेख छ। यस्तै धारा १४ मा गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकका अधिकारसहितको नागरिकता जारी गर्ने व्यवस्था छ।

संविधानको व्यवस्था अनुसार सरकारले नागरिकता ऐन २०६३ मा संशोधन गरिसकेको छ। ऐनमा संशोधन भए पनि नियमावली बन्न नसक्दा गैरआवासीय नेपाली नागरिकता जारी हुन सकेको थिएन। २०६९ मा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले ‘अन्य’ पहिचानमा नागरिकता पाउँदै आएका थिए।

अब नागरिकता नियमावलीमै ‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता जारी गर्ने व्यवस्था गरिएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालले जानकारी दिए। ‘महिला, पुरुष र अन्य क्याटगोरीमा नागरिकता जारी गर्ने व्यवस्था नियमावलीमा गरिएको छ,’रिजालले पहिचानसँग भने,‘ऐनमा भएको संशोधन अनुसार नै नियमावलीमा व्यवस्था गरिएको छ।’

नागरिकता ऐनको दफा ६ को उपदफा ८ (क) मा पहिचान सहितको नागरिकता दिने व्यवस्था गरिएको छ। यस ऐन बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता लिन सकिने भनिएको छ।

अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्नुपर्ने लेखिएको ऐनको दफा ६ कै उपदफा ३ मा ‘यस ऐन बमोजिम दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा तोकिए बमोजिम लैङ्गिक पहिचान समेत खुलाउनुपर्ने’ लेखिएको छ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको नियमावली प्रमाणित भएर गृह मन्त्रालय फर्किसकेको छैन। मन्त्रालयमा आउने बित्तिकै प्रकाशित हुने रिजालले बताए। ‘मन्त्रिपरिषद्ले स्वीकृत गरेको भन्ने सुनेका छौ,’उनले भने,‘प्रमाणित भएर आउने बित्तिकै राजपत्रमा प्रकाशित हुन्छ।’

नियमावलीमा पहिलो पटक ‘अन्य’ पहिचानको नागरिकता दिने व्यवस्था भएको हो। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावली अनुसार अब गृह मन्त्रालयले कार्यविधि बनाउने जनाएको छ।

नियमावली आएसँगै नागरिकता ऐनमा भएका अन्य प्रावधान कार्यान्वयनका लागि अब बाटो खुलेको हो। ऐनको दफा ७ मा गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी प्रावधान छ।

मूल ऐनको दफा ४ को उपदफा ७ (क) मा ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ लेखिएको छ।

गैरआवासीय नागरिकता पाउनेले भोट हाल्ने तथा राजनीति गर्न भने पाउने छैनन्। सरकारी पदमा पनि बस्न पाउँदैनन्। आफ्नो सम्पत्ति दुवै देशमा राख्न पाउने गैरआवासीय नेपालीले नेपालमा व्यवसाय गर्न पाउँछन्। निवेदन दिने व्यक्ति वा उनको आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण भए पुग्छ। विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्दैन। नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने प्रावधानसमेत ऐन र नियमावलीमा छ।

नयाँ नियमावली पारित भएसँगै आमाको नामबाट नागरिकता लिन अब सहज हुनेछ। नेपाली आमाबाट जन्म भई बाबुको पहिचान खुल्न नसकेको अवस्थामा आमा वा बाबुको थर तथा ठेगानामध्ये रोजेको थर तथा ठेगाना राख्न पाउनेछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.