तीजमा समलिङ्गी तेस्रोलिंगी : असल श्रीमान् र विवाह दर्ताका लागि कठोर व्रत

तीजमा समलिङ्गी तेस्रोलिंगी : असल श्रीमान् र विवाह दर्ताका लागि कठोर व्रत

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता हुने कानुन बनेको छैन। विवाह दर्ताको कानुन बनाउन वर्षौँदेखि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले माग गर्दै आए पनि सरकारले सुनेको छैन।

सर्वोच्च अदालतले सुनिलबाबु पन्तले १५ वर्षअघि नेपाल सरकारविरुद्ध दायर गरेको रिटमा कानुन बनाउन निर्देशनात्मक आदेश दिएको थियो। तर, सरकारले हालसम्म कानुन नबनाएपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विवाह दर्ताको आदेश माग्दै सर्वोच्च अदालत पुगेका छन्।

सर्वोच्चले १२ असारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न दिएको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ।

जिल्लाको आदेश विरुद्ध समलिङ्गी विवाह गरेका माया गुरुङ र सुरेन्द्र पाण्डे उच्च अदालत पाटन पुगेका छन्।

२९ असारमा उच्च पुगेका माया र सुरेन्द्रको पुनरावेदन निवेदनमा आदेश आएको छैन। एमिकस क्युरी झिकाएको उच्चले आउँदो बिहीबारका लागि पुनरावेदन निवेदनलाई साप्ताहिक पेशीमा राखेको छ।

माया र सुरेन्द्र जस्तै समलिङ्गी सम्बन्धमा रहेका सयौँ जोडी अदालतको आदेश पर्खेर बसेका छन्। तीज पर्वका अवसरमा असल र आफूलाई बुझ्ने श्रीमान् पाउने प्रार्थनासहित व्रत नै बसेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले बताएका छन्।

थाहा खबरका लागि विराटनगरकी पत्रकार सुजाता लिम्बुले तीजमा व्रत बसेकी नुमा लिम्बु (चञ्चला)सँग कुरा गरेर सामग्री तयार गरेकी छन्।

‘निधारको त्यो रातो टीका, छाप बनी बस्यो यो दिलैमा’ झट्ट हेर्दा गीतको हरफ र नुमा लिम्बू (चञ्चला) को स्वरूपमा कुनै कमी देखिएको थिएन। गाजलले पोतिएका चिम्सा आँखा। गलामा रातो र हरियो पोतेले सजाएकी, रातो सारीले खुबै सुहाएको थियो।

तीजको माहोलमा बेहुली झैँ सिँगारिएकी नुमा कुनै साधारण महिला भने होइनन्। जन्मँदा पुरुष अर्थात् छोरा भएर जन्मेकी नुमा बढ्दो उमेरसँगै उनको इच्छा र चाहानाहरू छोरीझैँ भएपछि अहिले आफूलाई एउटी महिला भएर समाजमा पहिचान दिँदै आइरहेकी छिन्।

बाल्यकालदेखि अहिलेसम्म सङ्घर्षका थुप्रै जँघार तरेर अहिले आफ्नो समुदाय लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा अधिकार स्थापित गराउने काममा अगाडि बढिरहेकी छिन्।

हरेक मान्छेको आ–आफ्नो चाहनाअनुसार जिन्दगी जिउनु पनि जीवनको एउटा महत्त्वपूर्ण पाटो रहेको बताउने उनी अहिले तीजका भगवानको पूजा–आराधना गरी व्रत बसिरहेकी छिन्। अन्य महिलाहरूले जस्तो व्रत बसेर असल र आफूलाई बुझ्ने श्रीमान् पाउने प्रार्थनासहित व्रत बसेको उनी सुनाउँछिन्।

‘हामी वर्षौँदेखि महिला हौँ भनेर समाजमा आफ्नै अस्तित्व र पहिचानको लडाइँ लडिरहेका छौँ, हाम्रो पनि त इच्छा चाहना अन्य महिलाहरूको जस्तै हुन्छ।‘ उनी सुनाउँछिन्, उहाँहरूले जस्तै मैले पनि असल र मलाई बुझ्ने श्रीमान् पाउँ भनेर व्रत बसेकी हुँ।’

तीजमा सधैँ व्रत बस्दा अन्य महिलाले जस्तै सूर्य अस्त नभएसम्म पानी, फलफूल नखाई निराहार व्रत बस्ने गरेको उनी सुनाउँछिन्। ‘म अन्य महिलाहरू जस्तै निराहार व्रत बस्छु, उनी सुनाउँछिन्, ‘साउन महिना, सोमबार र तीज त्यसमा पनि आज त विश्वकर्मा पूजा, सोमबार तीज सबै मिलेको छ त्यसैले आज त झन् कठोर व्रत बस्छु।’

भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्ने बताउने उनी आफूले इच्छाएको कुरा नपुगिन्जेल कठोर व्रत बस्ने बताउँछिन्। आफ्नो कोही नहुनेको भगवान् हुने र भगवान् प्रतिको आस्था नै सबै भन्दा महत्त्वपूर्ण पाटो रहेको बताउने उनी आस्था, विश्वास र आफ्नो लक्ष्य प्राप्तिको बाटो देखाउने आफन्त नै भोलेनाथ बाबा रहेको बताउँछिन्।

लिड नेपाल नामक संस्थामा कार्यक्रम संयोजक भएर काम गरिरहेकी उनी विगत स्मरण गर्दै सुनाउँछिन्, कुनै समय अन्य महिलाहरू तीज कार्यक्रममा नाचिरहेको देख्दा आफूलाई पनि खुब नाच्न मन लागे पनि त्यहाँ समाहित हुन नै असहज महसुस हुन्छ। तर अहिले त्यो विगत जस्तो छैन, हामीलाई हेर्ने दृष्टिकोण बदलिएको छ, अहिले त हामी आफ्नै संस्थाबाट पनि कार्यक्रमको आयोजना गरिरहेका हुन्छौँ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.