सरकारको नौ महिना : अपराधीलाई पुरस्कार

सरकारको नौ महिना : अपराधीलाई पुरस्कार

काठमाडौं : सरकार अपराधी जोगाउन लागेको भन्दै चौतर्फी आक्रोश व्यक्त भएको छ। हप्ता असुलीको विरोध गर्ने चेतन मानन्धरलाई नियन्त्रणमा लिएर नेपालगन्जको चोकमा दिनदहाडै खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगप्रसाद ढकालले आममाफी पाए पछि सरकारविरुद्ध आक्रोश व्यक्त भएको हो।

दोषीले फूलमाला र लावालस्करसहित उन्मुक्ति पाउँदा पीडित परिवार भने भयभीत बनेको छ। गणतन्त्र दिवसमा टिकापुर हत्याकाण्डका अभियुक्त रेसम चौधरीलाई आममाफी दिएको सरकारले संविधान दिवसका दिन रिगललाई आममाफी दिएर संविधानको धज्जी उडाएको छ।

पीडितलाई न्याय दिनुको साटो सरकारले अपराधीलाई जेलमुक्त गराएर पुरस्कार दिएको छ। सरकारले जन्मकैदका दोषीलाई राजनीतिक निकटताका आधारमा उन्मुक्ति दिएको छ। सरकारको सिफारिसमा ल्याप्चे लगाउने राष्ट्रपति रामचन्द्र पौडेलको समेत आलोचना हुन थालेको छ।

गत चुनावमा पुराना दलहरूलाई आच्छुआच्छु पारेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलमा आबद्ध नेतालाई राष्ट्रपति बनाउँदा यस्तो अवस्था आएको बताएको छ। सभापति रवि लामिछानेले राजनीतिक आडमा अपराधीहरू रिहा हुन लाइन लागेको बताए।

उनले राजनीतिक दलका ठुला नेताहरूले अपराधी छुटाउने लिस्ट खल्तीमा हालेर बसेको बताए। ‘जघन्य अपराध गरेका मान्छेहरूको लिस्ट पार्टीका ठुला नेताले खल्तीमा हालेर बसेका छन्,’लामिछानेले भने,‘त्यही लिस्ट सरकारमा लिएर जान्छन् र राष्ट्रपतिलाई चढाउँछन्,चाहे जतिसुकै विरोध गर्नुहोस्।’

राष्ट्रपति दल विनाको हुनु पर्ने अवधारणा स्वतन्त्र पार्टीले बनाएको लामिछानेले सुनाए। राजनीतिक दलहरू भन्दा बाहिरको व्यक्ति राष्ट्रपति भएमा दलका गुन्डाहरूलाई छुटाउने हस्ताक्षर नगर्ने दाबी उनले गरे।

पुराना दलहरू गुन्डा पाल्ने र अपराधी छुटाउन लिस्ट बोकेर बस्न थाले पछि जनआक्रोश बढेको छ। इन्द्रजात्रा पर्वमा राष्ट्रपतिसहितका विशिष्ट व्यक्ति भन्दा काठमाडौं महानगरका मेयर बालेन शाहको पक्षमा हुटिङ भएको छ। बालेन, बालेन भन्ने हुटिङ भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर कुमारी घर पुग्न बाध्य भएका थिए। जुद्ध सालिकबाट वसन्तपुरमा गत असारदेखि नै सवारीसाधन प्रवेशमा रोक लगाएकाले राष्ट्रपति पौडेल सहितका विशिष्ट व्यक्ति हिँडेरै कुमारीको रथ यात्रा अवलोकन गर्न पुगेका हुन्।

विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको भन्दै महानगरले गाडी प्रवेशमा रोक लगाएकाले रुट परिवर्तन गर्नेसम्मको तयारी राष्ट्रपति कार्यालयले गरेको थियो। राष्ट्रपति पौडेललाई बग्गीमा लैजाने तयारी समेत बालेनको अडानका कारण सफल हुन सकेन। राष्ट्रपति र अन्य विशिष्ट अतिथिहरूले पैदल गएर जात्रा अवलोकन गरिदिनु भएको भन्दै मेयर बालेनले धन्यवाद नै दिएका छन्।

प्रचण्ड सरकार आन्दोलनको रापमा

पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेको बिहीबार ९ महिना पुरा भएको छ। गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड हाल चीनको औपचारिक भ्रमणमा छन्। गत शनिवार अमेरिकाबाट सिधै चीन गएका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश पर्वत र मानसरोवर पुगेका छन्। उनी शनिवार स्वदेश फर्किने कार्यक्रम छ।

२०६५ सालमा पहिलो पटक ९ महिना र २०७३ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा साढे १० महिना कटाएका प्रचण्डको यो पटकको कार्यकाल कति हो यसै भन्न सकिने अवस्था छैन। पहिलोभन्दा दोस्रो करिब डेढ महिना बढी पदमा रहन सफल प्रचण्डले तेस्रो पटक पनि आलोपालोको सहमति गरेका छन्।

तर तेस्रो पटक प्रधानमन्त्री भएर ९ महिना पुग्दा देशमा शिक्षक र डाक्टरको आन्दोलनले सडक तातेको छ। शिक्षकहरूको १० दिनेदेखिको आन्दोलनले शैक्षिक सत्र नै बिथोलिने चिन्ता थपिएको छ।

एक सातादेखि माइतीघर बानेश्वर सडकमा जारी शिक्षकको आन्दोलनमा चिकित्सकको प्रदर्शनले सरकारलाई झकझक्याएको छ। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले व्यवस्था ल्याउन प्रमुख भूमिका खेलेकाहरूले सत्तामा पुग्दा काम गर्न नसक्दा असन्तुष्टि चुलिएको बताए।

संविधान बनेपछि दोस्रो पटक आएको संसद्ले समेत कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न सकेको छैन। लोकतन्त्र ल्याउनका लागि भूमिका खेलेका दल र दलका शीर्ष नेताहरूले ब्याज खान नछोडेकोले समस्या भइरहेको विज्ञहरूको भनाइ छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.