कोशीको मुख्यमन्त्रीमा गठबन्धनभित्रै हानथाप

कोशीको मुख्यमन्त्रीमा गठबन्धनभित्रै हानथाप

काठमाडौं : कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने दिन गन्ती सुरु भएको छ। सर्वोच्च अदालतको परमादेशमा मुख्यमन्त्री नियुक्त हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अघि नै राजीनामा बुझाएपछि नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने दिन गन्ती सुरु भएको हो।

प्रदेश सभामा कुनै पनि दलसँग एकल दाबी पेस गर्ने सांसद सङ्ख्या नहुँदा मिलीजुली सरकार बनाउन संविधानको धारा १६८ को उपधारा ५ अनुसार आव्हान भएको छ। असोज २६ गते बेलुकी ५ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाका सदस्यहरूलाई समय दिएका छन्।

प्रदेश सभाको ठुलो दल एमालेका ४० सांसद छन्। काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ सांसद छन्। राप्रपाले समेत साथ नदिए पछि कोशी प्रदेशमा एमाले एक्लै परेको छ।

एमालेले अब प्रतिपक्षमै बस्ने मनस्थिति बनाएको एमाले संसदीय दलका उपनेता रामबहादुर रानाले बताए। उनले एमालेले अनुकूल हुने वातावरण बनेमा सहयोग गर्ने बताए। ‘गठबन्धनसँग त हामी प्रतिपक्षमा बस्छौँ,’उनले भने,‘गठबन्धनका साथीहरू छलफलमै होलान्।’

गठबन्धन बाहिरको राप्रपा मुख्यमन्त्रीकै कुर्सी ताकेर बसेको छ। तर, त्यो सम्भावना नरहेको गठबन्धन दलका नेताहरूले बताएका छन्। मुख्यमन्त्रीमा काँग्रेसबाटै तीन जनाको दाबी छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेका छन्।

गठबन्धनबाट मुख्यमन्त्रीमा अहिलेसम्म ५ जनाको नाम चर्चामा आएको छ। काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले गठबन्धनभित्र दाबी कसको भन्ने प्रस्ट नभएको बताए। ‘मूल कुरा काँग्रेसकै दाबी रहन्छ,माओवादीले आफ्नो दाबी गरेको छ,’उनले भने,‘गठबन्धन दलका नेताहरूले जसलाई टुग्याउँछन् त्यसलाई मानेर जाने हो।’

मुख्यमन्त्री नपाए गठबन्धन तोड्ने घुर्की

माओवादी केन्द्रबाट इन्द्र आङबो, एकीकृत समाजवादीबाट राजेन्द्र राई, नेपाली काँग्रेसबाट उद्धव थापा, केदार कार्की र अमृत अर्यालले मुख्यमन्त्रीमा दाबी गरेका छन्।

सरकार बनाउन आवश्यक ४७ सदस्य रहेको गठबन्धनमा मुख्य मन्त्री को बन्ने भनेर हानथाप चलिरहेको छ। सभामुख पद रिक्त रहेको कोशी प्रदेशमा एमालेकी उपसभामुख सृजना दनुवार छिन्।

अघिल्लो पटक उद्धव थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार अनुपस्थित भइन। गठबन्धन दलकै ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गरे। अन्तिममा सभामुखले समेत मत दिँदा विवादित बन्यो र सर्वोच्च अदालतले थापालाई पद मुक्त गर्‍यो।

अहिले पनि राप्रपाले साथ नदिए अवस्था पहिले जस्तै हुने आशङ्का गठबन्धन दलले गरेका छन्। गठबन्धनको बहुमत पुगे पनि एमालेले उपसभामुखलाई नियत बस सदन चलाउन नदिने काँग्रेस संसदीय दलका उपनेता कार्कीले बताए। ‘गठबन्धनको बहुमत पुग्छ,प्राविधिक ढङ्गले एमालेको उपसभामुखले नियतवश सदन चलाउँदैनन्,’कार्कीले भने,‘संवैधानिक ढङ्गले विश्वासको मत पाउन सकिँदैन,त्यस कारण राप्रपाले जसलाई समर्थन गर्छ त्यसको नेतृत्वमा जाने हो।’

सरकार टिकाउने कि मध्यावधि तिर जाने भन्ने निर्णायक भूमिकामा राप्रपा रहेको छ। राप्रपा अहिले गठबन्धन दलको निर्णय कुरेर बसेको छ। राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले तत्काल कुनै निर्णयमा नपुगेको बताए।

कुनै पनि भूमिका निर्वाह गर्ने तयारी गरेर अगाडी बढेको उनले बताए। ‘यसरी जाने भन्ने कुरा हतार हुन्छ होला, त्यतातिर नलागौँ,मात्रै कुरा के भने सबैसँग राजनीतिक सहमति बनाएर नजाँदा प्रदेशको अवस्था त्यस्तै खालको बनेको छ,’उनले भने,‘सबै साथीहरूको सहमति लिएर जानु पर्छ, सहमति जुटाएर जाने पक्षमा हामी छौँ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.