निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कोशीको मुख्यमन्त्रीले गठबन्धनमा भुईँचालो

कोशीको मुख्यमन्त्रीले गठबन्धनमा भुईँचालो

456
SHARES

काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका दुई जनाको दाबी परेको छ। प्रदेश प्रमुखको कार्यालय पुगेर नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली काँग्रेस प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएसँगै सत्ता गठबन्धनमा भुईँचालो गएको छ। नेपाली काँग्रेसमा विभाजन भएको छ। प्रदेश प्रमुख परशुराम खापुङलाई मुख्यमन्त्री नियुक्ति गर्न सकस परेको छ।

माओवादीलाई ग्रिन सिग्नल दिएको राप्रपाको अनौपचारिक सहमतिमा आङ्बोले सत्ता गठबन्धनको बालुवाटार बैठकमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गराएका थिए। सोही निर्णयअनुसार आङ्बोले गठबन्धनमा रहेका दलको ४७ सांसदको हस्ताक्षर बुझाएका छन्।

तर, काँग्रेस सांसद केदार कार्कीले काँग्रेसकै शेखर कोइराला समूहका ९ सांसद र नेकपा एमालेका ३९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। गठबन्धन तोडेर नयाँ सरकार बनाउन काँग्रेस सांसद हिमाल कार्कीले संसदीय दलको उपनेता पदबाटै राजीनामा दिएका छन्।

कोशीको मुख्यमन्त्रीमा गठबन्धनभित्रै हानथाप

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने नजिर छ। तर, काँग्रेसले विद्रोह गर्ने सांसदलाई कारबाही गर्ने सङ्केत गरेको छ। दलको ह्विप नलागे पनि पार्टीको अनुशासन लाग्ने भन्दै काँग्रेसले शुक्रवार बिहान प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कोइराला समूहका काँग्रेसका ९ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा स-शरीर उपस्थित भएर कार्कीलाई समर्थन रहेको र आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्। आङ्बोले भने कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णय लिने अधिकार प्रदेश प्रमुख परशुराम खापुङलाई नै भएको प्रतिक्रिया दिएका छन्।

विकसित राजनीतिले एमालेले काँग्रेसको कोइराला समूहलाई मनाएर कोशीबाट सत्ता गठबन्धनमा खटपट गराइदिएको छ। गठबन्धन फेरिने क्रमले गत मङ्सिरमा भएको चुनावपछि कोशीमा अहिलेसम्म चार पटक सरकार फेरबदल भइसकेको छ।

एमालेले यसअघि केन्द्रमा पार्टी फुटाएको बदला लिन काँग्रेसकै असन्तुष्ट पक्षलाई समर्थन जनाएको छ। माओवादीका आङबोलाई रोक्ने काँग्रेसको कोइराला पक्ष र एमाले काँग्रेसका कार्कीको पक्षमा उभिएका छन्।

समाचार शेयर गर्नुहोस्
456
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.