गैह्रीगाउँ सामूहिक हत्याका भण्डारी गोलघरमा, राहुल महरा केन्द्र बन्दी गृहमा

गैह्रीगाउँ सामूहिक हत्याका भण्डारी गोलघरमा, राहुल महरा केन्द्र बन्दी गृहमा

5.6k
SHARES

काठमाडौं : काठमाडौँको गैह्रीगाउँमा सामूहिक हत्या गरेका सञ्जय भण्डारीलाई गोल घरमा राखिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ।

बोल्न नसक्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका भण्डारी एक्लैले एकै परिवारका तीन सहित चार जनाको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ।

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो। तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला स्थित साथीको घरमा पुगेका थिए।

राति मूल गेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउन्डभित्र पुगेका थिए। तर त्यहाँ उनले साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई ३१ भदौमा प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको थियो।

‘आइ किल्ड फोर पिपल’ लिखित बयान दिएका बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

प्रतिवेदन अनुसार भण्डारीलाई आजीवन कारागारमा राख्न मागदाबी गर्दै मुद्दा दायर भएको छ।

गैह्रीगाउँ हत्या : ‘बोल्न नसक्ने’ भण्डारीको मात्रै संलग्नता

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भण्डारीविरुद्ध दायर गरेको मुद्दामा क्रुर तथा निमर्मतापूर्वक हत्या गरेको कसुरमा उनलाई आजीवन कारागारमा राख्न माग गरिएको छ। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। भण्डारी जन्मजात बोल्न सक्दैनन्।

२९ भदौको शुक्रवार राति तीनकुनेको दिव्य सःमिलमा धनकुटाका नवीन भनिने विशाल राई, दोलखा घर भएका कुमार भनिने पूर्णबहादुर भुजेल, श्रीमती अम्बिका भुजेल, आमा सुभद्रा भुजेलको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो।

मारिएकामध्ये मोरङका नवीन राईसँग रिसीइबी रहेको र सोही कारण हत्या गरेको भण्डारीले बयान दिएका छन्।

नवीनको हत्याबारे अरू तीन जनाले जानकारी पाएकाले उनीहरूको पनि हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्।

सुरक्षा संवेदनशीलताका कारण भण्डारीलाई गोल घरमा राखिएको कारागार प्रशासनले जनाएको छ। गोल घरमा ३३ किलो सुन काण्डका अभियुक्त चूडामणि उप्रेती (गोरे) लाई राखिएको छ।

गोलघरमा आफूलाई महिला हौँ भन्ने दुई पुरूषलाई पनि राखिएको कारागार प्रशासनले जनाएको छ।

राहुललाई केन्द्रीय कारागार

विद्युतीय चुरोट (भेप)मा हालेर गरिएको सुन तस्करी प्रकरणका आरोपी राहुल महरा केन्द्रीय कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा पठाउने आदेश दिएको थियो। राहुल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्।

राहुललाई केन्द्रीय कारागारमा राखिएको कारागार प्रशासनले जनाएको छ।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ। भेप प्रकरणका एक जना ६१ किलो सुन काण्डमा पक्राउ परेका छन्। अर्का एक जना भने अझै फरार छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.