काँग्रेस र एमालेको सत्ता सहकार्य सुरु

काँग्रेस र एमालेको सत्ता सहकार्य सुरु

काठमाडौं : नेपालको राजनीतिमा नयाँ धुब्रिकरण देखिएको छ। २०७२ सालको संविधान जारी भएपछि भएका दुवै चुनावमा पहिलो र दोस्रो दल बनेका नेपाली काँग्रेस र नेकपा एमालेबीच पहिलो पटक सत्ता सहकार्य भएको छ।

सत्ता सहकार्यको सुरुवात कोशी प्रदेशबाट भएको छ। अघिल्लो चुनावमा पहिलो दल बनेको एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेर सरकार बनाएको थियो। साढे तीन वर्ष पछि तत्कालीन नेकपा भङ्ग भएसँगै एमाले फुटाएर बनेको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले काँग्रेससँग सहकार्य गरेका थिए।

दोस्रो चुनाव पछि पनि एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। तीन महिना नपुग्दै प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको गठबन्धनलाई निरन्तरता दिएपछि एमाले सत्ता राजनीतिबाट बाहिरिएको थियो।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डसँग बदला लिँदै एमालेले माओवादीलाई बाहिर राखेर कोशीमा काँग्रेससँग नयाँ समीकरण बनाएको छ।

आइतबार बिहान कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई आफ्नै निवास बालकोटमा भेटेर दिउँसो सल्यान पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश मध्यावधिमा जान थाले पछि देशको आर्थिक अवस्थालाई हेरेर काँग्रेसका विद्रोही उम्मेदवारलाई सघाएको बताएका छन्।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट कार्की ओलीलाई भेट्न बालकोट पुगेपछि तत्कालीन नेकपा फुटाएर काँग्रेससँगको गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई झट्का लागेको छ।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त कार्कीलाई गठबन्धनको साथ

चितवनको भरतपुरमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरेका छन्।

एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेर अध्यक्ष बनेका माधव नेपालले आइतबार सुर्खेत पुगेर अहिलेको गठबन्धन सरकार एमालेले ढाल्न नसक्ने दाबी गरेका छन्।

दुई वर्षअघि केपी ओली नेतृत्वको सरकार ढाल्न एमालेका २३ सांसदलाई लिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टी फुटाएका नेता नेपालले अहिले एमालेलाई चुरीफुरी नगर्न भनेका छन्।

कोशीमा गठबन्धनमा आएको विभाजनसँगै एमालेका नेताहरू हौसिएका छन्। रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रचण्ड सरकारको आयु मङ्सिरसम्म मात्रै भएको टिप्पणी गरेका छन्।

सङ्घीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा अभिव्यक्ति दिएको नभई केही तथ्य र सूचनाहरू प्राप्त गरेको उपाध्यक्ष पाण्डेको दाबी छ।

एमाले भर्सेस समाजवादी मोर्चाको वाक युद्ध चलिरहँदा काँग्रेस नेता शेखर कोइरालाले प्रचण्ड सरकारमा दबाब बढाएका छन्। कोइरालाले सामाजिक सञ्जालमा लेख्दै नेपाली सेनामा गरिने चलखेल स्वीकार्य नहुने बताए।

पूर्वमाओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको उनले विरोध गरेका हुन्।

पहिलो पटक प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रुक्मागत कटवाललाई चलाएर पदच्युत भएका प्रचण्डलाई कोइरालाले तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै झस्काएका छन्।

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद्

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ। नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएसँगै नेकपा एमाले र नेपाली काँग्रेसबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले काँग्रेसका शमशेर राई र एमालेका राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरे।

मन्त्रिपरिषद्को पहिलो बैठक आइतबार बसेको छ। बैठकले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको प्रवक्तामा मन्त्री राईलाई तोक्ने, प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने, राजश्व चुहावट रोक्ने निर्णय गरेको छ।

यससँगै एमाले सत्तापक्षको बेन्चमै रहने भएको छ। काँग्रेसका उद्धव थापा मुख्यमन्त्री हुँदा प्रतिपक्षी बेन्चमा पुगेको एमाले काँग्रेसकै शेखर कोइराला पक्षका नेता कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर सत्तारुढ दल बनेको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी बनेको छ। कार्तिक १ गते नै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव टेबल गर्ने तयारी समेत गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.