एनआरएनएका दुई अध्यक्षले लिए नेपाली नागरिकता

एनआरएनएका दुई अध्यक्षले लिए नेपाली नागरिकता

काठमाडौं : सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरेको छ। संविधानको धारा १४ अनुसार नागरिकता ऐन र नियमावलीमा संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र पर्वतले पहिलो पटक गैरआवासीय नेपाली नागरिकता जारी गरेका छन्। गैरआवासीय नेपाली सङ्घ एनआरएनएका एकै कार्यकालमा भागबन्डा गरेर अध्यक्ष बनेका तीन मध्ये कुल आचार्य र बद्री केसीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार स्थित सरकारी निवासमा गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरे।

वर्तमान कार्यकारी अध्यक्ष केसीको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते र पहिलो ६ महिनाका अध्यक्ष आचार्यको नाममा जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते नागरिकता जारी गरेको थियो। दोस्रो ६ महिनाकी अध्यक्ष रविना थापाले भने गैरआवासीय नेपाली नागरिकता लिएकी छैनन्।

आचार्य र केसीको नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए। आचार्य र केसीलाई नागरिकता हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले निकै ठुलो सङ्घर्ष र मिहिनेतपछि मात्रै यो सफलता हासिल गर्न सकिएको बताए।

उनले गैरआवासीय नेपाली नागरिकता जारी हुनुको जस लिने प्रयास समेत गरे। नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठुलो सङ्घर्ष र पहल गरेको प्रचण्डले बताए।

एनआरएनएको अध्यक्षमा चार जना भिड्ने

उनले त्यसकै बलमा संवैधानिक अधिकार प्राप्त गरेको उल्लेख गरे। ‘मैले भर्खरै सङ्घका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु। यस अवसरमा कुलजी लगायत तपाईँ सबै साथीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु,’प्रधानमन्त्री प्रचण्डले भने,‘विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ। सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ।’

योसँगै अब अन्य गैरआवासीय नेपालीहरूले पनि नागरिकता पाउने बाटो खुलेको छ। एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न भने पाउने छैनन्। तर उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पाउने छन्।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले यसअघि नै नागरिकता नियमावली स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नागरिकता पाउने बाटो खुलेको थियो।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै नागरिकताका लागि चलाएको अभियानले सार्थकता पाएको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता दिएसँगै महतोले आफूहरूले प्राप्त गरेको गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको प्रतिक्रिया दिए।

उनले सबै गैरआवासीय नेपालीले सहज ढङ्गले नेपाली नागरिकता पाउने सम्बन्धित निकायको तर्फबाट सहजीकरण हुने र सजिलै नागरिकता पाउनेप्रति विश्वास समेत व्यक्त गरे।

राष्ट्रपतिको विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उनीहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलन तथा ११ औँ महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।

‘नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाको तर्जुमा गरेको छ,’राष्ट्रपति पौडेलले भने,‘संविधान बमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले तपाईंहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ।’

महाधिवेशन सुरु

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको विश्व सम्मेलन काठमाडौँमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहेको छ।

विश्वभरबाट सङ्घमा सूचीकृत सदस्यको सङ्ख्या भने ९६ हजार ८५० छ। विश्व सम्मेलन तथा ११ औँ महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चुन्नेछ। सङ्घको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ।

वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उपाध्यक्ष, महासचिवसहित ७६ पदाधिकारीका लागि १०९ जनाको उम्मेदवारी परेको छ।

नेपाली काँग्रेस निकट जनसम्पर्क समितिको काठमाडौँमा भएको भेलाले भने एनआरएनए अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई सहयोग गर्न आव्हान गरेको छ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा बिहान काठमाडौँमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आव्हान गरेको हो। काठमाडौँको सोल्टी होटेलमा सुरु महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि कात्तिक २ गते बिहीबार मतदान गर्ने तालिका छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.