सरकारको आम्दानी भन्दा खर्च धेरै

सरकारको आम्दानी भन्दा खर्च धेरै

546
SHARES

काठमाडौं : सरकारले आम्दानी भन्दा खर्च धेरै गरेको छ। असोज महिनामा १५ दशमलव ९३ प्रतिशत आम्दानी गरेको सरकारले खर्च भने १६ दशमलव २ प्रतिशत गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। पहिलो त्रैमासिक अवधिमा दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ। जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो।

पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ।

वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट छुटाइएकामा पहिलो त्रैमास अवधिमा ४९ अर्ब ३४ लाख ९० हजार बराबर खर्च भएको छ।

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाएको छ।

हालसम्मको सरकारी राजस्व सङ्कलन दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ। जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो। सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैर कर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ दशमलव ७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख बराबर रहेको छ।

चालु आवका लागि ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् ६ करोड १८ लाख बराबर अनुदान लिएको छ।

बैङ्क तथा वित्तीय संस्थाको नामा १८ अर्ब

बैङ्क तथा वित्तीय संस्थाले १८ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूले कूल १८ अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।

२० वाणिज्य बैङ्कहरूले १६ अर्ब ६४ करोड ८६ लाख, १७ विकास बैङ्कहरूले १ अर्ब ३५ करोड ११ लाख र १७ वित्त कम्पनीहरूले १४ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका हुन्।

सबैभन्दा बढी ग्लोबल आइएमई बैङ्कले १ अर्ब ७५ करोड ५८ लाख, नबिल बैङ्कले १ अर्ब ५६ करोड ४५ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १ अर्ब ४८ करोड ६५ लाख, हिमालयन बैङ्कले १ अर्ब २३ करोड २४ लाख, र कुमारी बैङ्कले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका हुन्।

समाचार शेयर गर्नुहोस्
546
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.