भत्ता मोहमा मन्त्रीहरूको विदेश शयर

भत्ता मोहमा मन्त्रीहरूको विदेश शयर

काठमाडौं : सरकारका मन्त्रीहरूले विदेशमा हुने सम्मेलन, बैठकमा मोह देखाएका छन्। विदेशमा हुने सानातिना कार्यक्रम र सम्मेलनमा समेत मन्त्रीहरू आफैँले सहभागिता जनाउन थालेका छन्।

मन्त्रीहरू धेरै विदेश शयर गरेको भन्दै आलोचना भइरहँदा मन्त्रीपरिषद् बैठकले पाँच जना मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका जाँदै छन्। उनले कार्तिक १२ गते नेपाल भ्रमणमा आउने संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेशलाई भेटे लगत्तै अमेरिका जाने तयारी गरेका छन्।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भने मन्त्री साउदको कार्तिक ८ देखि १६ गतेसम्म अमेरिका भ्रमण गर्ने तालिका स्वीकृत गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

शिक्षा मन्त्री अशोककुमार राई कात्तिक २१ देखि मङ्सिर ६ गतेसम्म संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४२ औँ महासभामा भाग लिन फ्रान्सको पेरिस जाँदै छन्। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले यही कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्यान्डको बैंककमा हुने सम्मेलनमा भाग लिन अनुमति पाएका छन्।

आगामी मङ्सिर १९ र २० मा घानामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल बैठकमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

गृहमन्त्री श्रेष्ठलाई हृदयाघात

असोज २९ गते चीन गएका अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भने हृदयाघात भएको छ। बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन गएका मन्त्री श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ।

चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको छ। उनको मुटुको बाया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ। हाल उनलाई २४ घण्टे निगरानीका लागि आइसियुमा राखिएको छ।

मन्त्री श्रेष्ठको अवस्था अहिले खतरामुक्त रहेको सूचना तथा संचारमन्त्री रेखा शर्माले जानकारी दिइन। अस्पतालले सूचना जारी गर्दै मन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको महत्त्वपूर्ण सङ्केत देखिएको जानकारी दिएको छ।

विदेश भ्रमणमा जाने मन्त्रीले २ सय ५० डलर दैनिक भ्रमण भत्ता पाउने व्यवस्था छ। चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ‘नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने’ उल्लेख भए पनि मन्त्रीहरू अनिवार्य भन्दै विदेश भ्रमणमा गइरहेका छन्।

विदेश भ्रमण गर्ने मन्त्रीहरू

विदेश भ्रमण गर्ने मन्त्रीको सूचीमा अर्थमन्त्री डा. प्रकाशशरण महत अग्रस्थानमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाल सहभागी थिए।

सहरी विकासमन्त्री सीता गुरुङ जुन ५ देखि ९ सम्म केन्यामा सम्पन्न संयुक्त राष्ट्रसङ्घ ह्याबिट्याट एसेम्ब्लीमा सहभागी भइन। भएकी थिइन्। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी स्विट्जरल्यान्टमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी भए भने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू श्रीलङ्का गएका थिए।

ओमनमा सम्पन्न गैरआवासीय नेपाली सङ्घको ८ औँ मध्यपूर्वी क्षेत्रीय सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रमुख अतिथिको रूपमा सहभागी थिए। उनी मङ्सिरमा घाना जादैछन्।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अजरबैजान गए भने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी कोरिया पुगे। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान पुगे। परराष्ट्रमन्त्री साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले थाइल्यान्ड भ्रमण गरिसकेका छन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण पछि क्यानडा, स्विजरल्यान्डको भ्रमण गरेका अर्थमन्त्री महत इजिप्टमा हुने एसियाली पूर्वाधार लगानी बैङ्कको बोर्ड अफ गभर्नर्सको ८ औँ वार्षिक बैठकमा सहभागिता जनाउने तयारी गरेका छन्। मन्त्री महत मोरक्कोमा हुने विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा पनि आफैँ जाने तयारीमा छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.