निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालको भूगोल हडप्ने आफ्नै अभिव्यक्तिमा प्रधानमन्त्री मौन

नेपालको भूगोल हडप्ने आफ्नै अभिव्यक्तिमा प्रधानमन्त्री मौन

411
SHARES

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूगोल हडप्ने प्रयास भएको आफ्नै अभिव्यक्तिमा मौन बसेका छन्।

कार्तिक ९ गते रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा पुगेर प्रचण्डले कसैले पूर्वतिरबाट कसैले पश्चिमतिरबाट नेपालको भूगोललाई हडप्ने प्रयत्न गरिरहेको आरोप लगाएका थिए।

नेपाली काँग्रेसको चियापानमा सहभागी प्रधानमन्त्री प्रचण्डलाई पूर्व, पश्चिम र दक्षिण भनेर कता सङ्केत गर्नु भएको हो भन्ने पहिचानको प्रश्नमा उनले कुनै जवाफ दिएनन्।

‘कसैले पूर्वतिरबाट नेपाल चुँडाल्ने कसरत गरेको सुनिएको छ,देखिन्छ पनि,कसैले पश्चिमतिरबाट नेपाल चुँडाल्ने,कसैले दक्षिणतिरबाट, कसैले कतैबाट त्यो खतरा छ,’प्रधानमन्त्री प्रचण्डले भनेका थिए,‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपालको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू बलियो भएनौ भने नेपाल राष्ट्रकै अस्तित्व खतरामा पर्न सक्छ।’

तर, नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रम पछि सोधिएको प्रश्नमा भने प्रधानमन्त्री प्रचण्डले उत्तर नै दिएनन्।

भारत र चीनको नाम नलिई प्रचण्डले भने, नेपालको भूगोल नै हडप्ने प्रयास भयो

उनले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटरेसको नेपाल भ्रमणले विश्व समुदायमा नेपालको प्रतिष्ठा बढ्ने दाबी भने गरे।

गुटरेसको भ्रमणबाट नेपाललाई महत्त्वपूर्ण सहयोग मिल्ने उनले बताए। राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

उनले आफू प्रधानमन्त्री भएयता नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको दाबी गरे। युएन महासचिवको भ्रमण लगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको उनले सुनाए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस शनिवार राति काठमाडौं आउँदै छन्। आइतबारदेखि सुरु हुने चार दिने नेपाल भ्रमणका क्रममा महासचिव गुटरेस राति काठमाडौं आउन लागेका हुन्।

गुटरेसको भ्रमण सुरक्षाका लागि सम्भावित क्षेत्रको कडा निगरानीका साथै आवश्यक सुरक्षा फौज परिचालन भइसकेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले समन्वयात्मक रूपमा सुरक्षा मिलाइएको जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
411
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.