भारत र चीनको नाम नलिई प्रचण्डले भने, नेपालको भूगोल नै हडप्ने प्रयास भयो

भारत र चीनको नाम नलिई प्रचण्डले भने, नेपालको भूगोल नै हडप्ने प्रयास भयो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको भूगोल नै हडप्ने प्रयास भइरहेको बताएका छन्। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा पुगेर प्रचण्डले कसैले पूर्वतिरबाट कसैले पश्चिमतिरबाट नेपालको भूगोललाई हडप्ने प्रयत्न गरिरहेको आरोप लगाए।

उनले देशभक्तिहरू एक नभए देशको अस्तित्व नै खतरामा पर्ने सुनाए। ‘कसैले पूर्वतिरबाट नेपाल चुँडाल्ने कसरत गरेको सुनिएको छ,देखिन्छ पनि,कसैले पश्चिमतिरबाट नेपाल चुँडाल्ने,कसैले दक्षिणतिरबाट, कसैले कतैबाट त्यो खतरा छ,’प्रधानमन्त्री प्रचण्डले भने,‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपालको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू बलियो भएनौ भने नेपाल राष्ट्रकै अस्तित्व खतरामा पर्न सक्छ।’

कहिले सत्ता टिकाउन त कहिले भत्काउन प्रचण्डले यस्ता विवादित अभिव्यक्ति दिँदै आएका छन्। देशको प्रमुख कार्यकारी प्रधानमन्त्री पदमा रहेका प्रचण्डले नेपाल राष्ट्रकै अस्तित्व खतरामा पर्न सक्ने अभिव्यक्ति दिए।

माओवादी कमजोर भए राजनीतिक स्थिरता खतरामा जाने प्रचण्डले सुनाए। हिजो फुटेका माओवादी घटकहरू एकजुट हुनुपर्ने अवस्था आएको उनले बताए। प्रचण्डपथ छोड्नु आफ्नो गल्ती भएको बताउँदै उनले अझै पनि संश्लेषण गरेर नयाँ विचारका साथ अघि बढ्ने तयारीमा रहेको बताए।

आफूले अहिले सरकारको नेतृत्व गरिरहँदा चलाएको भ्रष्टाचार विरोधी अभियानले भने केही नेता र दललाई सहन गाह्रो भएको आरोप उनले लगाए। तर यो गठबन्धन र सरकार कसैले चाहेर ढाल्न नसक्ने उनको दाबी छ। ‘यो गठबन्धन टुटाउन अनेक कसरत भइरहेका छन्, रातदिन यो गठबन्धनलाई टुटाउने, फुटाउने, सरकार बदल्ने निकै कसरत भएको छ,’उनले भने,‘यो गठबन्धन पाँचै वर्ष जान्छ,कसैले पनि यो गठबन्धन हल्लाउन सक्ने छैन।’

कोशी प्रदेशको पछिल्लो घटनाक्रमले केही प्रश्न उब्जिए पनि अन्त्यमा त्यहाँ गठबन्धनकै सरकार बन्ने र गठबन्धन झन् बलियो हुने प्रचण्डले दाबी गरे। गठबन्धन सरकार कमजोर भए धर्म, जातको नाममा सामन्ती र निरंकुशताबादीहरुले टाउको उठाउने खतरा रहेको उनले सुनाए। उनले देशको राजनीतिक स्थिरता खलबल्याउने र देशलाई प्रतिक्रान्तितिर लैजाने षडयन्त्र भइरहेको बताए।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने प्रधानमन्त्री प्रचण्डसहित पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली गर्ने नेताहरूलाई जवाफ फर्काएका छन्। प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले पूर्वराजालाई गाली गर्नुभन्दा राम्रो काम गरेर देखाउन चुनौती दिए।

दसैको दिन पूर्वराजाकहाँ टिका थाप्ने जानेहरूको भिडले नै गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको स्पष्ट पारेको उनले दाबी गरे। ‘देशको बिग्रँदो अवस्था प्रति चिन्ता गर्ने राजालाई गाली गर्नुको बदला अहिलेको परिवर्तन ल्याए, यो परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउनु पर्‍यो,’उनले भने,‘अब पनि राजालाई गाली गरेर सत्तामा टिकिराखिन्छ, जनतालाई मूर्ख बनाइराख्न सकिन्छ भन्ने त्यो दिन गयो।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading