एनआरएनएको विवादमा मुक्का प्रहार

एनआरएनएको विवादमा मुक्का प्रहार

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विवादमा मुक्का प्रहार भएको छ। चुनावबाट निर्वाचित समिति र पराजितहरूको अर्को समितिबीच वैधानिकता विवाद कायमै रहँदा एनआरएनएको कार्यालयमै मङ्गलवार मुक्का प्रहार भएको हो।

बद्री केसीले अध्यक्षको शपथ लिएपछि असन्तुष्ट आरके शर्मा सहितको टोली एनआरएनएको कार्यालय बालुवाटार पुग्दा युवा सङ्घका कार्यकर्ताले हातपात र अभद्र व्यवहार गरेका हुन्। एमाले नेता महेश बस्नेतसहित युवा सङ्घका कार्यकर्ता आफूलाई बधाई दिन आउँदा अवरोध भएको अध्यक्ष केसीले बताएका छन्।

आरके समूहसँग एनआरएनएको कार्यालय पुगेका ओम शर्माले भने युवा सङ्घको कार्यक्रम भइरहेको र कार्यक्रमबारे जानकारी लिन खोज्दा हातपात र अभद्र व्यवहार भएको बताए। ‘एनआरएनएको सेन्ट्रल अफिसमा यूथ फोर्सको कार्यक्रम कसरी भयो? भनेर फोटो लिन खोज्दा मलाई हिर्काउनु भयो,’उनले भने,‘मुख ड्यामेज भएको छ, शरीर ड्यामेज भएको छ, मेरो फोन खोसेर फोटो जबरजस्ती डिलिट गर्नुभयो।’

एनआरएनए विवाद : मतदानमा त्रुटि देखिए पद छाड्ने

सङ्घको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम अस्वीकार गर्दै समानान्तर समिति गठन गरेका छन्। केसीले भने चुनाव हार्ने पक्षबाट कार्यालयमा निरन्तर अवरोध भएको आरोप लगाएका छन्।

चुनाव हार्ने पक्षले कर्मचारीलाई अनावश्यक तनाव दिने, अवरोध गर्ने जस्ता गतिविधिले कर्मचारी मानसिक तनावमा रहेको उनले बताए। एनआरएनएको कार्यालयमा युवा सङ्घको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएपछि ओम शर्माले काठमाडौँको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन्।

एनआरएनएका अध्यक्ष बद्री केसी र नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा शर्माले उजुरी दिएका हुन्। प्रहरीले कार्यालयको सिसिटिभी हेरेर अनुसन्धान थाल्ने र दोषीलाई कारबाही गर्ने बताएको छ।

एनआरएनए चुनावमा धाँधली भएको भए छानबिन गर्न तयार रहेको केसीले बताएका छन् भने असन्तुष्ट समूहले पुननिर्वाचन नै हुनु बताउँदै आएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.