भूकम्पका मृतक : व्यक्ति एकै, गणना डबल

भूकम्पका मृतक : व्यक्ति एकै, गणना डबल

काठमाडौं : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार गएको भूकम्पमा ज्यान गुमाउने ४ जनाको नाम दोहोरिएको पाइएको छ।

जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको सङ्ख्या दोहोरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

५५ जनाको मृत्यु भएको भनिएको नलगाड नगरपालिकामा अहिले ५१ जनाको मृत्यु भएको सङ्ख्या यकिन भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार १५७ मृतक घोषणा गरेको प्रशासनले अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएका मृतकहरू दोहोरिएकाले मृतक सङ्ख्या घटेको जनाएको छ।

भूकम्प पीडितको त्रिपालमुनि बास, घर पुनर्निर्माण गर्न एक वर्ष लाग्ने

नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना विष्टको नाम दोहोरिएको हो भने टेकबहादुर पुन व्यक्ति एकै र नाम दुई हुँदा सङ्ख्या दोहोरिएको पुष्टि भएको प्रशासनले जनाएको छ।

जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ। त्यस मध्ये २८ महिला १४ पुरुष छन्। जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको सङ्ख्या जम्मा १५३ मात्र निश्चित भएको छ। मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन्। प्रहरीले यसअघि जाजरकोटमा नै १०५ जनाको मृत्यु भएको जनाएको थियो।

सबै नाम र ठेगानाको भेरिफाइ गर्दा मृतकको सङ्ख्या घटेको हो। यसअघि १५७ जनाको मृत्यु भएको प्रहरी र स्थानीय प्रशासन आफैँले पुष्टि गरेको थियो। हाल मृत्यु हुनेमा ९७ जना महिला र ५६ जना पुरुष गरी जम्मा मृतक सङ्ख्या १५३ जना कायम भएको छ।

परकम्पको झड्का १३ घाइते

जाजरकोट लगायत आसपासका क्षेत्रमा सोमबार ४ः३१ मा पुन भूकम्प गएको छ। भूकम्पको तीव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ। पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ः४० मा जाजरकोटकै पैंक केन्द्रबिन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

परकम्पमा रुकुम पश्चिममा ७ जना र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन्। जाजरकोटमा ३ वटा घर भत्किएका छन्।

भूकम्पले जिल्लाको आठबिसकोट नगरपालिकाका ४ जना, चौरजहारी नगरपालिकाका २ जना र सानीभेरी गाउँपालिकाका एक जना गरी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

यसअघि गत शुक्रवार जाजरकोटको रामिडाँडा नै केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको झट्का महसुस भएसँगै स्थानीय त्रसित भएका छन्।

भूकम्प पीडितको बिचल्ली

भूकम्पमा परेर जाजरकोटमा एक जना शिक्षक र ११ जना विद्यार्थीको मृत्यु भएको छ। २ शिक्षक र २० विद्यार्थी घाइते भएको प्रारम्भिक विवरण सङ्कलन भएको छ।

जाजरकोटका २ सय १३ विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको छ। ४ सय ७६ कोठामा आंशिक क्षति पुगेको छ। विद्यालयका ४३ शौचालय, ११ वटा आइसिटी ल्याब, १ पुस्तकालय, ७ विद्यालयका घेराबार र ४ विद्यालयका सोलार सिस्टममा पूर्ण क्षति भएको छ।

भूकम्प पीडितलाई सहयोगको घोषणा

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.