भुटानी शरणार्थी : छठपछि निरन्तर सुनवाइ

भुटानी शरणार्थी : छठपछि निरन्तर सुनवाइ

काठमाडौं : उच्च अदालत पाटनमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउनेहरूको मुद्दा विचाराधीन रहेको छ।

हरेक हप्ता बिहीबार पेशीमा चढ्ने तर, सुनुवाइ गर्न इजलास बस्ने बित्तिकै निवेदन पर्ने र स्थगित हुँदै आएको भुटानी शरणार्थी मुद्दा यो बिहीबार भने निरन्तर सुनुवाइ हुने आदेश भएको छ।

न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासले तिहार पछि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको हो।

पूर्वमहान्यायधीवक्ता खम्बबहादुर खाती, रमेश बडाल र रमणकुमार श्रेष्ठको आग्रहमा इजलासले भुटानी मुद्दामा निरन्तर सुनुवाइको आदेश दिएको हो।

आज(बिहीबार) सुनुवाइ स्थगित गर्न निवेदन परेन। पौने ११ बजेपछि श्रेष्ठ र कोइरालाको इजलास बाहिर कानुन व्यवसायी जम्मा हुँदै थिए।

न्यायाधीशहरू इजलासमा आउन १० मिनेटअघि कानुन व्यवसायीहरू बहस गर्न २ नम्बर इजलास प्रवेश गरेका थिए। पस्दै निस्कँदै गरेका कानुन व्यवसायीहरू ११ः१० मिनेटमा झुरुप्प जम्मा भए। 

न्यायाधीशहरु ११ः१३ मिनेटमा इजलासमा आउँदा सबै जर्‍याकजुरुक उठे। न्यायाधीशहरू बसे। कानुन व्यवसायीहरू उभिइरहे।

इजलास अधिकृतले भुटानी शरणार्थी मुद्दाको पुनरावेदन निवेदनको फोको न्यायाधीश मुरारीबाबु श्रेष्ठ अगाडी राखिदिए। 

फाइल खुल्यो। सुनुवाइका लागि आउनु भएको होइन? न्यायाधीश कृष्णराम कोइरालाले भने।

पूर्वन्यायाधीवक्ता खम्बबहादुर खाती, रमेश बडाल सहितका कानुन व्यवसायी बोले।

न्यायाधीश कोइरालाले सोधे,‘सुनुवाइ व्यवस्थापन गरौँ,एकै दिनमा सक्ने कि?दुई दिन लगाउने कि कति हो?’

कानुन व्यवसायीहरूले ‘बहस व्यवस्थापनका लागि इजलासलाई सहयोग गर्छौ’भने। कति जना हुनुहुन्छ? न्यायाधीश कोइरालाले सोधे।

१८ जना प्रतिवादीका २०/२५ जना छौँ होला। अहिले त बहस गर्नेको सङ्ख्या घटिरहेको छ, भिड छैन, निरन्तर सुनुवाइ गरेर बढीमा एक हप्तामा सकौँ। कानुन व्यवसायीहरूले आजै देखि सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा राख्न पनि भने।

पुनरावेदन निवेदनमा निरन्तर सुनुवाइको व्यवस्था छैन। उच्च अदालत पाटनले पुनरावेदन निवेदनमा हरेक बिहीबार मात्रै सुनुवाइ गर्दै आएको छ। निरन्तर राख्न कसरी मिल्छ? इजलासले प्रश्न गर्‍यो।

पूर्वमहान्यायाधीवक्ता बडालले यो विशेष प्रकृतिको भएकाले निरन्तर सुनुवाइ गर्न मिल्ने बताए। अर्का पूर्वमहान्यायाधीवक्ता खातीले पनि निरन्तर सुनुवाइको आदेश दिन माग गरे।

बडालले सर्वोच्च अदालतमा पनि वर्षमा २/३ वटा विशेष प्रकृतिका मुद्दामा निरन्तर सुनुवाइको आदेश हुने गरेको सुनाए। ‘केही न केही त आदेश गर्ने पर्छ,नत्र अर्को मुद्दामा जान पनि भएन,’बडालले भने,‘निरन्तर सुनुवाइको आदेश होस् श्रीमान्।’

भुटानी शरणार्थी मुद्दा : कानुन व्यवसायीको निवेदनले सुनुवाइ स्थगित

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालसहित भीआइपीहरु केन्द्रीय कारागार जगननाथदेबल सुन्धारामा छन्।

काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामा पुगेका प्रतिवादीहरूले थुना बाहिरै रहेर मुद्दाको छिनोफानो गर्न पाउने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका छन्।

पुनरावेदन निवेदनमाथि बल्ल आज इजलासमा सुनुवाइको टुङ्गो लागेको छ।

पूर्वमहान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले लगाउमा राखिएको मुद्दालाई उपस्थित प्रतिवादीका कानुन व्यवसायीले बहस गर्न पाउने आदेश पनि गर्न सकिने सुनाए। तर, इजलासले निरन्तर सुनुवाइ गर्न सकिने भए पनि छुट्टाछुट्टै गर्न नमिल्ने बतायो।

खाती र बडालले त्यसो भए डेट फिक्स गरौँ भने। कहिले देखि गरौँ? इजलासले सोध्यो? आजैदेखि गरौँ। न्यायाधीश मुरारीबाबु श्रेष्ठले आजदेखि सुरु गरेर भोलि दिउँसो २ बजेसम्म सक्ने हो? अरू मुद्दा पनि छन्।

एक जना कानुन व्यवसायीले भने,’भोलि दिउँसो २ बजेसम्म सकिँदैन,सबैका आआफ्ना वकिल छन्,सबैले बोल्नु पर्‍यो।’
  
कानुन व्यवसायीहरू शुक्रवार दिउँसो २ बजेसम्म बहस सक्न तयार भएनन्। इजलासले निरन्तर सुनुवाइका लागि मिति तोकेर आदेश गर्ने बतायो। कहिलेदेखि गरौँ? इजलासले सोध्यो।

पूर्वमहान्यायधीवक्ता खाती र बडालले छठ पछि निरन्तर सुनुवाइ गर्न प्रस्ताव गरे। इजलासले मङ्सिर ५ गते मंगलबारदेखि निरन्तर सुनुवाइ गर्न आदेश दिने बतायो।

इजलासले भुटानी शरणार्थी मुद्दामा अर्को पेशी तोक्ने आदेश दिएको छ। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले भुटानी शरणार्थी मुद्दामा निरन्तर सुनुवाइ हुन सक्ने बताए। ‘निरन्तर सुनुवाइको आदेश हुन पनि सक्छ,’भट्टराईले पहिचानसँग भने,‘इजलासले त्यस्तो आदेश दिन पनि सक्छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.