इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

काठमाडौं : नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको जनाएको छ।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘इड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।

नेकपा एमाले प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले रिबन काटेर तथा बाग्मती प्रदेशका उपसभामुख अप्सरा चापागाईँ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरे।

वर्तौलाले भने,‘इलेक्ट्रिक्स गाडीको प्रयोगले नेपालमा विद्युत्को खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौँ रुपैयाँ बिदेसिनबाट जोगिने हुनाले यसको भविष्य उज्ज्वल छ।’

हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ। साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमश:जोडिँदै जाने कम्पनीले जनाएको छ।

ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने,‘सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ।’

ईड्राइभको विशेषता के?

ईड्राइभ एपको भाडा अन्य सवारी सेवा भन्दा सस्तो छ भने निकै सुरक्षित रहेको दाबी कम्पनीले गरेको छ। ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ। जसले सेवाग्राही र चालक बिच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ। त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बिमा सुविधा प्राप्त गर्नेछन्।

त्यस्तै ईट्याक्सीमा जिपिएस जडान गरिएको छ। यसले गर्दा आफ्नो सवारी साधनको सम्पूर्ण नियन्त्रण ईड्राइभ कम्पनीसँग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउनेछ।

त्यस्तै कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ स्थापना गरेको छ। जसमा पार्किङ लट सहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछ।

महिला चालकलाई विशेष सहुलियत

ईड्राइभ नेपाल प्रालिले महिला चालकहरूलाई विशेष सहुलियत प्रदान गरेको छ। त्यस्तै आफै गाडी मालिक बन्नेहरूका लागि पनि योजना कम्पनीसँग छ। इलेक्ट्रिक सवारी खरिद गरी सञ्चालन गर्न चाहना राखेका तर आर्थिक अवस्था कमजोर रहेकालाई कम डाउन पेमेन्टमा ट्याक्सी खरिद गर्नका लागि कम्पनीले सुविधा दिनेछ।

साथै एपमा आबद्ध सवारी चालकले कमिसन प्रतिशत कम मात्र बुझाउनु पर्नेछ।

इलेक्ट्रिक सेवाको प्रयोग र बचत

काठमाडौँ उपत्यकामा पेट्रोलबाट चल्ने १६ हजार ट्याक्सी दर्ता छन्। त्यसमा दैनिक १२ हजार ट्याक्सी सञ्चालनमा आएको देखिन्छ। जसले दैनिक अनुमानित ३ करोड ६ लाख नेपाली रुपैयाँ बराबरको पेट्रोल खपत गरिरहेको सर्वेक्षणले देखाएको छ।

पेट्रोलका यी सबै ट्याक्सी ईट्याक्सी हुने हो भने १२ हजार ट्याक्सीले दैनिक २४ लाख रुपैयाँ बराबरको विद्युत् खपत गर्नेछ। त्यसो हुँदा दैनिक २ करोड ८२ लाख रुपैयाँ बचत हुनेछ। यसले प्रति महिना८४ करोड ६० लाख रुपैयाँको बचत हुने देखिन्छ।

अर्थात् मासिक ९१ करोड८० लाख रुपैयाँ बराबरको पेट्रोल खरिदबाट बिदेसिने रकम बचत हुनेछ। भने अर्कोतर्फ विद्युत् उत्पादनमा फड्को मार्दै गरेको नेपालको विद्युत्को नेपालमै राम्रो खपत हुनेछ।

ग्रिन सिटी क्लिन सिटी

‘प्रदूषणमुक्त सहर’ सबैको साझा अभियान हो। यस अभियानमा इलेक्ट्रिक सवारीले विश्वमा नै प्राथमिकता पाइरहेको अवस्थामा ईड्राइभ नेपाल पनि प्रदूषणरहित सुन्दर सहरको अवधारणामा जोडिएको छ। इलेक्ट्रिक सवारीको प्रयोगले वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुग्नेछ।

काठमाडौँ महानगरपालिकाको ‘ग्रिन सिटी क्लिन सिटी’ अवधारणालाई अगाडि सारेको छ। महानगरको अवधारणमा ई ड्राइभ नेपालले पनि सहयोगी भूमिका निभाउने कम्पनीको विश्वास छ।

मुख्यतः सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै ई ड्राइभ नेपालको अभियान विशुद्ध व्यापार मात्र नभएर नयाँ नेपाल बनाउने अभियानको एउटा सारथि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सविन भट्टराईले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.