किन बन्द भएन टिकटक?

किन बन्द भएन टिकटक?

काठमाडौं : नेपालमा टिकटक नचल्ने बनाउन सरकारलाई हम्मेहम्मे परेको छ। सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन कार्यान्वयनमा अटेरी गर्दा निर्बाध रूपमा टिकटक चलिरहेको छ। बन्द हुन सकेको छैन।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सहमतिमा टिकटक नेपालमा नचल्ने गराएको प्रचण्ड सरकारले जनताको मुख थुनेको आरोप खेपेको छ। बैङ्कको ऋण तिर्न नसकेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जनता उचालेर मङ्सिर ७ गते आन्दोलन गर्ने घोषणा गरेपछि सरकार आत्तिएको टिप्पणी समेत भएको छ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भएर मौन बस्नु पनि गलत भनेका छन्। उनले टिकटक बन्द गर्ने कुन सहमति हो भनेर प्रधानमन्त्रीलाई प्रचण्डलाई प्रश्न गरेका छन्। ‘प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली काँग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले, कसले गर्‍यो सहमति?’काँग्रेस महामन्त्री थापाले प्रश्न गरेका छन्।

पूर्व प्रधानमन्त्रीहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति भन्न नमिल्ने उल्लेख गरे। ‘यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन,’उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।’

उनले पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी पार्टीले बोक्न नसक्ने उल्लेख गरेका छन्। ‘गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौँ,आज पनि र भोली पनि भन्छौँ,’उनले भने,‘सत्तामा हुँदा गलत पनि ठिक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन। बरु, सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत हो।’

टिकटक बन्द गर्ने निर्णयमा माओवादी चुप

विभिन्न धर्म, जात, सम्प्रदायका नाममा सामाजिक सञ्जालबाटै सद्भाव खलबलिएको निष्कर्षमा पुगेको सरकारले अब फेसबुक, ट्विटर सहितका प्लेटफर्म पनि बन्द गराउने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त भएका छन्।

तर, टिकटक नै नेपालमा नचल्ने बनाउन सकेको छैन। सरकारलाई टिकटक बन्द गराउन फलामको चिउरा चपाउनु सरह बनेको छ। तिहारमा टिका लगाएकाहरूले टिकटकमा तस्बिर पोष्टिएका छन्।

२०६१ माघ १९ मा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिँदा टेलिफोन सेवा अवरुद्ध गरेका थिए भने एफएम रेडियोमा समाचार बन्द गराएका थिए। जनता सडकमै उत्रेर ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्‍याए। त्यतिबेला सामाजिक सञ्जाल सशक्त थिएन।

अहिले मिडिया भनेकै सामाजिक सञ्जाल बनेका छन्। सामाजिक सञ्जालकै कारण गलत काम गर्नेहरू मात्रै होइनन् बजार हल्लाहरूले इमानदारहरू पनि मकैमा घुन पिसिएझैँ पिसिने गरेका छन्। सत्य तथ्य केलाउने भन्दा बजार हल्लामै रमाउनेहरूको बलियो माध्यम सामाजिक सञ्जाल राज्य सञ्चालकका लागि टाउको दुखाइ भएको छ।

नक्कली भुटानी शरणार्थी, सुन काण्ड सहित राज्यविरूद्दको अपराधमा चरणचरणको भाका राखेर शक्तिशाली जोगाउन लागेको भन्दै सामाजिक सञ्जालबाटै सरकारको आलोचना भइरहेको छ। भिभिआइपी उम्काउन भिआइपीलाई मात्र अनुसन्धानमा ल्याएको भनेर सरकारको चौतर्फी आलोचना भइरहेको छ।

भूकम्प पीडितलाई चिसोको चिन्ता

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई भने चिसोबाट कसरी बच्ने भन्ने चिन्ता बढेको छ। तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसकोट नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताए।

तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए। त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले दुखेसो गरिन।

सम्बन्धित निकायलाई अस्थायी बसोबासका लागि तत्काल व्यवस्था मिलाउन पीडितले आग्रह गरेका छन्। भूकम्पपछि जाजरकोट र रुकुम पश्चिमका बजार र ग्रामीण क्षेत्र सुनसान बनेका छन्। गाउँ नै शोकमा डुबेकाले यो पटक बजार र ग्रामीण क्षेत्रमा सुनसान देखिए।

भूकम्प पीडितहरूलाई एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन समस्या देखिएको छ। भूकम्पले सबैभन्दा बढी जनधनको क्षति भएको नलगाड नगरपालिका शोकमा डुबेकाले तिहारमा कुनै रमझम देखिएन।

चिसो मौसम आउन लागेकाले तत्काल पीडितहरूलाई न्यानो कपडा, अस्थायी संरचना बनाउन सहयोग गर्न सरकार, राजनीतिक दलहरूसँग स्थानीय प्रशासनले आग्रह गरेको छ। मङ्सिरभित्र अस्थायी आवास निर्माण गर्ने पहल भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उनले सहयोगका लागि अपिल पनि गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading