टिकटक बन्द गर्ने निर्णयमा माओवादी चुप

टिकटक बन्द गर्ने निर्णयमा माओवादी चुप

काठमाडौं : नेपालमा अब टिकटक नचल्ने भएको छ। अबको २४ घण्टाभित्र सबै टिकटक एकाउन्ट नेपालमा नचल्ने भएको हो। मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

सरकारको निर्णय लगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। २४ घण्टामा सबै टिकटक एकाउन्ट नेपालमा नचल्ने उनले बताए।

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयको सामाजिक सञ्जालबाटै चौतर्फी आलोचना भएको छ। सङ्कटकालमा पूर्वराजा ज्ञानेन्द्र शाहले टेलिकम सेवा बन्द गरेको उदाहरण प्रस्तुत गर्दै अहिलेको सरकारले टिकटक बन्द गरेको टिप्पणी भएको छ।

शासक लोकतान्त्रिक र शासन जनपक्षीय नहुँदा अभिव्यक्तिका हरेक साधनलाई शत्रु ठान्ने प्रतिक्रिया पनि सामाजिक सञ्जालमै पोखिएका छन्। टिकटक बन्द गर्ने निर्णयलाई उत्तर कोरियाली नेता किम जोङ उनका गोर्खे अनुयायीहरू भएको भन्दै केहीले ‘राज्यको भूमिका नियमनको हो, नियन्त्रण होइन’ भनेका छन्।

टिकटक बन्द गर्ने सरकारको निर्णयको सत्तारुढ दलबाटै पनि विरोध भएको छ। टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको सत्तारुढ दल काँग्रेसले आरोप लगाएको छ।

काँग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको टिप्पणी गरे। सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय भएको भन्दै उनले सरकारको नियत ’अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोप लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दल नै बन्द गरिदिने हो त? भनेर व्यङ्ग्य गरेका छन्। ‘सत्ता धारी दल कै कयौँ नेताहरू भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो त? भनेर लामिछानेले प्रश्न गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकारको निर्णयलाई निरंकुशताको संज्ञा दिएका छन्। टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र भएको भन्दै लिङदेनले भोलि ट्विटर, फेसबुक आदिमा प्रतिबन्ध हुनसक्ने बताए।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको प्रतिक्रिया दिए। सामाजिक सञ्जाल फेसबुकमा उनले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताए।

टिकटक बन्द गर्ने निर्णयको बचाउमा सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरू मात्रै चुप बसेका छन्। नेपालमा टिकटक माथिको प्रतिबन्ध दुई हप्ता भन्दा बढी नटिक्ने टिप्पणी पनि भएको छ।

भारत, पाकिस्तान, अमेरिका, बेलायत, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, नर्वे, अफगानिस्तान लगायतका देशमा टिकटक बन्द छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading