कीर्तिपुरको पर्यटन विकासमा थपिएको ऊर्जा

कीर्तिपुरको पर्यटन विकासमा थपिएको ऊर्जा

काठमाडौं : पर्यटन व्यवसाय तङ्ग्रिन थालेको छ। भूकम्प र कोभिड १९ ले थला परेको पर्यटन व्यवसायमा पछिल्लो समय ऊर्जा थपिएको छ। २०२३ अक्टोबरमा १ लाख १७ हजार ३०६ जना विदेशी नागरिक नेपाल घुम्न आएका तथ्याङ्क नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ।

कोरोना महामारी सुरु हुनु अघि २०१९ अक्टोबरमा १ लाख १३ हजार विदेशी नागरिक नेपाल घुम्न आएका थिए। ४ वर्ष पछि बल्ल नेपाल घुम्न आउने विदेशी नागरिकको सङ्ख्या बढेको छ। पर्यटकको सङ्ख्या बढ्न थालेसँगै पर्यटन व्यवसायमा आशा पलाएको छ।

नेपाल घुम्न आउने विदेशी नागरिकको पहिलो पाइला पर्ने काठमाडौं पर्यटन व्यवसायीको उद्गम थलोको रूपमा विकास भइरहेको छ। प्राय पर्यटक ठमेल घुम्न पुग्ने गरेका छन्। तर, पछिल्लो समय विमानस्थलबाटै लुम्बिनी र पोखरा जाने पर्यटकको सङ्ख्या बढ्न थालेको छ।

देशका विभिन्न ठाउँमा जस्तै काठमाडौँको कीर्तिपुरमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ। काठमाडौँको ऐतिहासिक नगरी कीर्तिपुरका स्थानीय पनि पर्यटकको आगमनले उत्साहित भएका छन्।


व्यापार व्यवसायसँगै रोजगारीका अवसर सिर्जना हुने आशा समेत पलाएको कीर्तिपुर गाइड एसोसिएसनका अध्यक्ष जगत महर्जन बताउँछन्। ‘कीर्तिपुर घुम्न आउने पर्यटकलाई सूचना दिँदै आएका छौ, कोभिडकै समयमा पनि रोटरी क्लबसँगको सहकार्यमा हेरिटेज वाक गर्‍यौ,’महर्जनले पहिचानसँग भने,‘हाम्रो ठाउँमा पर्यटक आकर्षित हुने पुरातात्त्विक महत्वका सम्पदाहरू इतिहास बनेर बसेका छन्।’

कीर्तिपुर गाइड एसोसिएसनले प्रचारप्रसारका लागि विभिन्न ठाउँमा पदयात्रा समेत गर्दै आएको छ। भक्तपुरको नगरकोट, काभ्रेको नाला, धुलिखेल, नमोबुद्ध हुँदै पनौतीसम्म एसोसिएसनले पदयात्रा गरेको छ। ‘हामी विदेशी मात्रै होइन, आन्तरिक पर्यटक भित्र्याउन आफ्नो ठाउँको प्रचार प्रसारका लागि अन्य ठाउँमा पनि जाने गरेका छौँ,’अध्यक्ष महर्जनले भने,‘पछिल्लो समय कीर्तिपुर घुम्न आउनेको सङ्ख्या बढेकाले खुसी छौँ।’

कीर्तिपुरमा मछिन्द्रनाथलाई राख्न बनाइएको मन्दिर खाली रहेको उनले सुनाए। मछिन्द्रनाथलाई ललितपुरमा राख्नुको इतिहास सुनाउँदै उनले भने,‘पाटनका ललित ज्यापुले बोकेको भएर मछिन्द्रनाथ ललितपुरमा राखिएको हो।’

कीर्तिपुरमा मछिन्द्रनाथलाई राख्न बनाइएको ल्हों देग मन्दिर बनाइएको थियो भने भक्तपुरको न्यातपोल पाँचतले मन्दिर पनि मछिन्द्रनाथलाई राख्न बनाइएको थियो। ‘भक्तपुरका राजा, काठमाडौँका वैद्य, पाटनका ललित ज्याफु र कीर्तिपुरका कर्कोटक मछिन्द्रनाथलाई लिन गएछन्,कर्कोटकले नदी तार्न सहयोग गरे, वैद्यको मन्त्र, राजा भइहाले,’इतिहास सुनाउँदै महर्जनले भने,‘ललित ज्याफुले बोकेर ल्याए, कहाँ राख्ने भन्ने विवाद हुँदा पाटनमा राख्ने सहमति भएछ,अहिले ६ महिना पाटनमा र ६ महिना बुङमतीमा राख्ने गरिएको छ।’

ललित ज्याफुको नामबाट ललितपुर रहेको किंवदन्ती उनले सुनाए। ‘ज्या भनेको काम हो, फु भनेको दरिलो,बलियो अर्थात् काम गर्न सक्ने भन्ने हो,’उनले भने,‘अहिले ज्याफु भनिँदैन, ज्यापु भनिन्छ,ललित ज्यापुकै नामबाट ललितपुर नाम रहेको पुस्तकहरूमा पढ्न पाइन्छ।’

सम्पदा पद यात्रा : अरूको ठाउँमा जाने, आफ्नो ठाउँमा बोलाउने

मछिन्द्रनाथलाई नदी तार्दा आगोले कर्कोटक नागको पुच्छर जलेको उनले सुनाए। ‘मछिन्द्रनाथको रथमा कर्कोटक नागको पुच्छर बुच्चे देखिन्छ नि,त्यो मछिन्द्रनाथलाई नदी तार्दा आगोले जलेर हो,’उनले भने,‘टौदह कर्कोटक नागलाई बनाइदिएको दह हो।’

कीर्तिपुरको पर्यटनलाई व्यवस्थित गर्ने काममा एसोसिएसन लागिरहेको अध्यक्ष महर्जनले बताए। पर्यटन सूचना केन्द्रले ‘भोलेन्टियर सोसाइटी’लाई निःशुल्क सूचना प्रदान गर्दै आएको छ। कीर्तिपुर घुम्न आउने पर्यटकलाई जगतपाल महाविहार, ल्हो देग, बाघ भैरव लगायतका स्थान अवलोकन गराउने काम एसोसिएसनले गरिरहेको उनले बताए।


यसले स्थानीयलाई रोजगारी समेत प्रदान गरेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक हनि महर्जन र नमस्तिका श्रेष्ठ विदेशी पर्यटक घुमाउने गर्छन्। ‘हनि एसोसिएसनको कार्यसमितिमै हुनुहुन्छ, उहाँ संस्थापक सदस्य हुनुहुन्छ,’अध्यक्ष महर्जनले भने,‘अस्ति मात्रै इङल्याण्डबाट आएका पर्यटकलाई हनि र नमस्तिकाले कीर्तिपुर घुमाउनु भयो।’

एसोसिएसनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआइ) हनि सदस्य छन्। कीर्तिपुर घुम्न आउने विदेशी पर्यटकलाई गाइड गर्दै आएका तेस्रोलिंगी हनि कीर्तिपुरको वातावरण एलजीबीटीआइ फ्रेण्ड्ली रहेको बताउँछन्।

पर्यटन बोर्डले भने कीर्तिपुरलाई टाढा राखेको हनि बताउँछन्। ‘धेरै शान्त छ कीर्तिपुर, घुम्न आउने पर्यटकलाई सुविधा छ, मठ मन्दिर छन्,’उनले भने,‘पर्यटन बोर्डले प्रचारप्रसारमा सहयोग गरे कीर्तिपुर घुम्न आउने पर्यटकको सङ्ख्या बढ्ने थियो।’

गाइड एसोसिएसनले पर्यटकलाई आकर्षित गर्न सरसफाइमा विशेष ध्यान दिँदै आएको जनाएको छ। स्थानीय सरकारसँगको समन्वयमा स्वंयमसेवकहरु सरसफाइमा खटिँदै आएका छन्।

ऐतिहासिक नगर कीर्तिपुर घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि सवारी साधन पार्किङको भने समस्या देखिएको छ। पार्किङ व्यवस्थापनका लागि ठाउँको अभाव नभए पनि आर्थिक स्रोत उपलब्ध नहुँदा व्यवस्थापनमा कठिनाइ आएको एसोसिएसनका अध्यक्ष महर्जनले बताए।

एसोसिएसनले गाइड र ट्राभल एजेन्सीहरूको सम्मेलन गर्ने तयारी समेत गरेको छ। पर्यटन विकासमा विशेष सहयोग गर्ने गाइड र ट्राभल एजेन्सीलाई सम्मान गर्ने तयारी गरिएको अध्यक्ष महर्जनले बताए। पार्किङ व्यवस्थापनका लागि बागमती प्रदेश सरकारबाट आश्वासन पाएको उनले सुनाए।

एसोसिएसनले कीर्तिपुर घुम्न जाने जर्मन पर्यटकहरूका लागि स्थानीय गाइडलाई जर्मन भाषा कक्षा सञ्चालन गर्ने योजना पनि बनाएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.