लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

सबै ठाउँहरूमा भर्चुअल हिंसा

सबै ठाउँहरूमा भर्चुअल हिंसा

काठमाडौं : लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसै प्रति शारीरिक, मानसिक वा यौनजन्य क्षति वा पीडा पुर्‍याउने कार्यहरूलाई जनाउँछ।

लिङ्गको आधारमा हुने कुनै पनि प्रकारको अपमानजनक, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा महिला, पुरुष वा तेस्रोलिंगीलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै पनि कार्य यस भित्र पर्छन्।

प्रविधिको विकाससँगै पछिल्लो समय सबै ठाउँहरूमा भर्चुअल हिंसा बढेको छ। यो अन्त्य हुनुपर्छ। धेरै महिला, बालबालिका वा तेस्रोलिंगीहरूको लागि कुनै पनि ठाउँ पूर्ण रूपमा सुरक्षित छैन।

हिंसाले उनीहरूको घर, विद्यालय र कार्यस्थलहरूमा आक्रमण गर्छ र अहिले, यो उनीहरूको डिजिटल जीवनमा डरलाग्दो रूपमा व्यापक हुँदै गइरहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले उल्लेख गरेको छ।

अनलाइन हिंसा जहाँ पनि जो कोहीलाई, कुनै पनि समयमा हुन सक्छ। संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक डा.नतालिया कनेमका अनुसार विश्वव्यापी रूपमा, लगभग सयमा ६० जना (अर्थात् ६० प्रतिशत) महिलाले आफ्नो फोन वा अनलाइनमा कुनै न कुनै रूपमा डिजिटल हिंसाको अनुभव गरेका छन्। विषाक्त सामाजिक सञ्जाल पोस्टहरू, घृणायुक्त भाषण र हिंसात्मक सामग्रीको साथ बमबारी गरिन्छ।

युएनएफपीएको अनुसन्धानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू, महिला र अपाङ्गता भएका बालिका र अफ्रिकी मूलका मानिसहरूले विशेष रूपमा उनीहरूको पहिचानसँग जोडिएको अनलाइन दुर्व्यवहारमा पर्ने गरेका छन्।

युएनएफपीएले गरेको शारीरिक अधिकार अभियानमा ५४ हजार भन्दा बढी हस्ताक्षर गरेका छन्, जसमा हिंसामा परेर बाँचेकाहरूले न्याय र कारबाहीको माग गरेका छन्। शारीरिक स्वायत्तता र हिंसाबाट स्वतन्त्रताको अधिकार प्रतिबद्ध गर्ने यो अभियानमा नेपाल पनि सहभागी भएको छ।

सही तरिकाले डिजाइन गरिएको प्रविधिले मात्र बाँचेकाहरूको आवश्यकता पुरा गर्न सक्छ। यस्तो असन्तुलनलाई लैङ्गिक समावेशी अनुसन्धान र डिजाइनमा लगानी गरेर सच्याउने बेला आएको युएनएफपीएले उल्लेख गरेको छ।

नेपालमा शनिवार देखि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान सुरु भएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलाउने गरिएको छ।

नेपालमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले अभियान सुरु भएको दिन हरेक वर्ष जस्तै यो पटक पनि सन्देश दिने कामलाई निरन्तरता दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान,२०८० को अवसरमा नेपाली दिदीबहिनीहरूले भोग्नु परिरहेका विभिन्न प्रकारका समस्याबाट मुक्तिका साथै सुख, शान्ति र समृद्धको कामना गरेका छन्।

नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ। ‘कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछुत, घरेलु महिला हिंसाजस्ता कुप्रथाका कारण अझै पनि केही महिला दिदीबहिनीहरू विविध किसिमका हिंसा. विभेद र अपमानका पीडा खप्न बाध्य हुनुहुन्छ ,’राष्ट्रपति पौडेलले दिएको लिखित सन्देशमा लेखिएको छ,‘समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रिय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्दछ।’

महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्। महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवर्द्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको छ।

महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर र महिला तथा पुरुषबीचको असमान शक्ति संरचनाको अन्त्य नगरेसम्म महिला विरुद्धको हिंसा कम गर्न कठिन हुने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको शुभकामना सन्देश नेपाल टेलिभिजनबाट प्रसारण र गोरखापत्रमा प्रकाशन भएको लैङ्गिक हिंसा निवारण सम्पर्क व्यक्ति ममता विष्टले जानकारी दिइन।

अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा देशव्यापी कार्यक्रम गर्ने विष्टले जानकारी दिइन। ‘अभियान आजदेखि सुरु भयो, हिजो पत्रकार सम्मेलन गरेर जानकारी गरायौँ,’विष्टले भनिन्,‘प्रधानमन्त्री र मन्त्रीको सन्देश बिहान नेपाल टेलिभिजनबाट प्रसारण भयो,गोरखापत्र पत्रिकामा पनि प्रकाशन भएको छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.