आन्तरिक स्रोतबाट नयाँ जहाज किन्ने निगमको स्पष्टोक्ति

आन्तरिक स्रोतबाट नयाँ जहाज किन्ने निगमको स्पष्टोक्ति

काठमाडौं : नेपाल वायुसेवा निगमले तालुक मन्त्रालयको सहमति लिएर नै जहाज खरिद गर्न लागेको प्रस्टीकरण दिएको छ।

विज्ञप्ति जारी गर्दै निगमले खरिद प्रक्रिया पारदर्शी ढङ्गले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिइएको र सार्वजनिक खरिद ऐन, नियमबमोजिम २२ अक्टोबर २०२३ मा सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको उल्लेख गरेको छ।

निगमको सुधारको लागि बनेका अहिलेसम्मका आयोग, अध्ययन समिति र निगमभित्रको अध्ययन प्रतिवेदनले समेत बजारमा ध्वजावाहकले आफ्नो उपस्थिति देखाउन तत्काल जहाज खरिद गर्नुपर्ने आवश्यकता औँल्याएको विज्ञप्तिमा लेखिएको छ।

जहाज ६÷६ महिनाको अन्तरमा ल्याउने र सम्पूर्ण रकम एकै पटक तिर्ने नभएर पटक(पटक तिर्दै जाने र सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए।

निगमले दैनिक व्यवसाय सञ्चालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन जहाजको उपलब्धता अपरिहार्य भएको जनाएको छ। ‘अर्थ मन्त्रालयको प्रतिनिधिले नोट अफ डिसेन्ट लेखेको भन्ने सम्बन्धमा निगमका सात जना सञ्चालक समिति सदस्य रहने र निर्णय प्रक्रियामा सर्वसम्मत वा सामान्य बहुमतबाट निर्णय गर्न सकिने प्रावधान रहेको छ,’प्रवक्ता पौडेलले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘अर्थ मन्त्रालयको प्रतिनिधिबाहेक सबै ६ जना सञ्चालकहरूले जहाज खरिद गर्ने निर्णयको पक्षमा र अर्थ मन्त्रालयका प्रतिनिधिले सुझावसहित हस्ताक्षर गरेको हुँदा निर्णय प्रक्रिया विधिसम्मत भई टेन्डर समेत आह्वान भइसकेकोले यसमा अन्यथा मानिराख्नु पर्दैन।’

मुलुकको हवाई क्षेत्रमा निगमले पुर्‍याउँदै आएको सेवा, अफगानिस्तानमा भएको उद्धार, कोभिड महामारीको बखत चीनको वुहानबाट नेपालीहरूको उद्धार, इजरायलबाट नेपालीहरूको उद्धार, जाजरकोटमा गएको भूकम्पबाट भएका घाइतेहरूको उद्धार जस्ता विभिन्न विपद् तथा सङ्कटमा राष्ट्रिय ध्वजावाहकको योगदान तथा मुलुकको पर्यटन प्रवर्द्धनमा खेल्दै आएको भूमिका महत्त्वपूर्ण विषय भएको विज्ञप्तिमा उल्लेख छ।

निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वदायी भूमिकाकै कारण निगम यतिवेला सुधारको बाटोमा गएको निगमले दाबी गरेको छ। अधिकारी कार्यकारी अध्यक्षको जिम्मेवारीमा ०७८ कार्तिकमा नियुक्त भएका थिए।

निगमले आर्थिक अवस्थामा सुधार आएसँगै अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई वटा न्यारोबडी जहाजको पूरै र वाइडबडी जहाजको आंशिक गरी ४ अर्ब ३० करोडभन्दा बढी ऋण तिरेको जनाएको छ। निगमले अन्तिम पटक गएको असोज ३० गते ५३ करोडभन्दा बढी किस्ता तिरेको जनाएको छ।

निगमका अनुसार अस्ट्रेलियामा छिट्टै आफ्नो उडानको तयारी थालिएको छ। अस्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो, चीनको गोञ्झाओ र दक्षिण कोरियामा उडान भर्नका लागि निगमले गृहकार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.