अमेरिकामा ट्रान्सफोबियाको भयानक आँधी, ५३ जनाको मृत्यु

अमेरिकामा ट्रान्सफोबियाको भयानक आँधी, ५३ जनाको मृत्यु

एजेन्सी : अमेरिकामा ट्रान्स विरोधी कानुनलाई बढवा दिएसँगै ट्रान्सजेन्डर (तेस्रोलिंगी) व्यक्तिहरूको मृत्यु दिनानुदिन बढ्दै गएको छ।

तेस्रोलिंगी समानताका लागी राष्ट्रिय केन्द्र (एनसीटीई) को वार्षिक प्रतिवेदनले जाति र लिङ्गका आधारमा भएका घटनाहरूका सन्दर्भमा डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेको छ।

नयाँ प्रतिवेदन अनुसार, गत वर्ष अमेरिकामा ५३ जना तेस्रोलिंगी मानिसको मृत्यु भएको थियो भने ३२ जनाले आत्महत्या गरेका थिए। ट्रान्स विरोधी कानुन र वक्तव्यबाजीमा उल्लेखनीय वृद्धिका कारण उनीहरूको मृत्युदर बढेको ठहर गरिएको छ।

एनसीटीईको प्रतिवेदनमा उल्लेखित सङ्ख्या अघिल्लो वर्षको भन्दा बढी हो। केही विशेषज्ञहरूले ट्रान्स समुदायभित्र सही र सहज रिपोर्टिङ एवं तथ्याङ्क सङ्कलनमा कठिनाइका कारण ज्यान गुमाउनेको वास्तविक सङ्ख्या सम्भवतः अझ बढी रहेको बताएका छन्।

एनसीटीईका कार्यकारी निर्देशक रोड्रिगो हेङ–लेहटिनेनले भने–‘ट्रान्स विरोधी कानुन बढेकै बेला ट्रान्स विरुद्धको हिंसा बढ्नुलाई संयोग भन्न मिल्दैन। नीतिगत रूपमा आक्रमण बढ्दै जाँदा शारीरिक आक्रमणहरू पनि बढ्दै जान्छ। समाजले कसको जीवन महत्त्वपूर्ण मानिन्छ भनेर इङ्गित गरिदिँदा यस्तो अवस्था भएको हो।’

हरेक वर्ष नोभेम्बरमा जारी हुने एनसीटीईको वार्षिक प्रतिवेदनमा सन् २०२२ देखि यता भएका मृत्युको घटनालाई समेटिएको छ। जसमा ५३ वटा हिंसात्मक मृत्यु र ५६ वटा अहिंसात्मक मृत्यु भएका छन् र ती मध्ये ३२ जनाले आत्महत्या गरेको उल्लेख छ। आत्महत्या र हत्या दुवैमा तेस्रोलिंगी महिलाको सङ्ख्या धेरै छ।

‘यद्यपि संयुक्त राज्य अमेरिकामा घृणित अपराधहरू समग्रमा घट्दै गएका छन्। तर तेस्रोलिंगी व्यक्तिहरू त्यसमा पनि ट्रान्स महिलाहरू माथि भएका घृणित अपराधको घटना उल्लेखनीय बढेको छ’हेङ्ग–लेहटिनेनले भने।

गत अक्टोबरमा जारी गरिएको एफबीआईको राष्ट्रिय अपराध तथ्याङ्क अनुसार, अघिल्लो वर्षको तुलनामा लैङ्गिक पहिचानको आधारमा रिपोर्ट गरिएका घृणित अपराधहरूमा ३२.९ प्रतिशतको वृद्धि भएको थियो।

तथ्याङ्क अनुसार ६४ प्रतिशत अहिंसात्मक मृत्युमा गोरा मानिसहरू थिए भने हिंसात्मक मृत्यु मध्ये ५१% काला व्यक्ति थिए। ५३ वटा हिंसात्मक मृत्यु मध्ये २१ जना काला ट्रान्स महिलाहरू थिए।

हेङ–लेहटिनेनले यो सङ्ख्या स्पष्ट रूपमा सामान्य जनसङ्ख्याको अनुपातदेखि बाहिर रहेको र ट्रान्सफोबियाको भयानक आँधी, दुर्व्यवहार र जातिवादको सामनाको प्रतीक रहेको बताए।

एनसीटीईको सूचीमा ३० वर्षीया काला ट्रान्स कोरियोग्राफर, च्यानलङ पनि सामेल छन् जसको गत अक्टोबर ८ मा मिल्वाउकी, विस्कॉन्सिनमा छिमेकीको घर नजिक हत्या भएको थियो।

लङसँगै एनसीटीईको सूचीमा रहेका अन्य धेरै काला ट्रान्स महिलाहरू हिंसात्मक घटनामा मारिए। गत अगस्टमा, डेवोनी जेरे जोनसनको लसएन्जलसमा हत्या गरिएको थियो, जहाँ उनले लिङ्ग–पुष्टि गर्ने चिकित्सकीय उपचार प्राप्त गरिरहेकी थिइन्। एक कुशल कलाकार उनको परिवार र साथीहरूका अनुसार उनी आफ्नो समुदायका लागि केही उदाहरणीय काम गर्न चाहन्थिन्।

अक्टोबरमा, एनी जोनसनको वासिङ्टन डिसीमा एक आक्रमण पछि मृत्यु भयो। आक्रमणबाट सडकमा पछारिन पुगेकी उनलाई कारले कुल्चिएर मारिदिएको थियो।

विज्ञहरूले हिंसाबाट मारिएका ट्रान्स व्यक्तिहरूको सङ्ख्या रिपोर्टले भनेको भन्दा धेरै रहेको भन्दै यसतर्फ सचेत गराएका छन्। आक्रमणमा परेका सबैलाई पूर्णरुपमा पहिचान गर्न धेरै गाह्रो छ।

हेङ–लेहटिनेनले भने–‘धेरै ट्रान्सजेन्डरहरू, विशेष गरी काला ट्रान्सजेन्डर, प्रहरीमा गई आफूमाथि भएको अपराधको रिपोर्ट गर्न पनि डराउँछन्। रिपोर्ट गर्नु झन् जोखिमपूर्ण हुनसक्ने र प्रहरीले आफ्नो रिपोर्टलाई गम्भीरतापूर्वक नलिने डरले उनीहरू प्रहरीसँग मद्दत लिन पनि डराएको जस्तो मलाई लाग्दछ।’

एनसीटीइका नीति सल्लाहकार एवं स्मरण परियोजनाका प्रमुख कृश टासोनले तथ्याङ्कमा यस्ता घटनाहरूको सही तथ्याङ्क स्थापित गर्नका लागि व्यापक प्रयासहरू आवश्यक रहेको बताए।

अन्तर्राष्ट्रिय रिपोर्टले थप डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेको छ जसअनुसार संसारभर कम्तीमा ४३४ जना ट्रान्स व्यक्तिहरूको मृत्यु भएको छ। ती मध्ये ३३६ जनाको हिंसात्मक मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दगार्डियनले जनाएको छ। 

हेङ–लेहटिनेन ट्रान्स मानिसहरूको हिंसात्मक मृत्युमाथि ध्यानाकर्षण गर्नु महत्त्वपूर्ण रहेको बताउँदै अधिकारकर्मीहरूको पहल कदमीलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिए।

‘ट्रान्समाथि आक्रमणहरू भइरहेका छन्। त्यसविरुद्ध यो समुदायको लडाई जारी छ। उनीहरू बाहिर निस्किरहेका छन्, रयाली गर्दै छन्। राज्य व्यवस्थापिकामा आफ्नो गवाही दिइरहेका छन् र अन्य मानिसहरूलाई आफ्नो अभियानमा सामेल गर्दै छन् जसले सकारात्मक प्रगति पनि भएका छन्’हेङ–लेहटिनेनले भने।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading