अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा यौनिक अल्पसङ्ख्यक

अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा यौनिक अल्पसङ्ख्यक

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको अकालमा ज्यान गइरहेको छ। सन् २०१२ तिर समलिङ्गी विवाह गरेका सन्तोष राई (दिया)को न्यूरोड आकाशे पुलको शौचालयमा बेहोस अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

रत्नपार्कको सार्वजनिक शौचालयमा सरसफाइ गर्दै आएका दियाको २५ कार्तिकका दिन वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ललितपुरको कुसुन्तीमा रहेका आमा र दाइहरूले काठमाडौं न्यूरोड आकासे पुलको शौचालयमा सरसफाइको काम गर्दै आएका ३५ वर्षका तेस्रोलिंगी दियाको मृत्यु भएको २१ औँ दिनमा मात्रै थाहा पाए।

तेस्रोलिंगी भएको थाहा पाएपछि वास्ता नगरेको भन्ने हल्ला सत्य नभएको परिवारले बताएको छ। ‘उसको इच्छा हो, हामीले केही भनेका थिएनौ,’परिवारले भन्यो,‘वास्ता नगरेको भन्ने हल्ला सत्य हुँदै होइन।’

‘मायाको पहिचान नेपाल’ले परिवारलाई मृत्यु भएको खबर दिए पछि दियाको पोस्टमार्टम भएको छ। आफन्त कोही नपुग्दा २२ दिनदेखि शिक्षण अस्पतालको शव गृहमा राखिएको दियाको शव परिवारले शनिवार बुझे।

मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्री (मधु), सचिव सुरेन्द्र पाण्डे र सुरेश भुजेल (नाम परिवर्तित)ले दियाको परिवार पत्ता लगाएका थिए। शुक्रवार शिक्षण अस्पताल पुगेर दियाको पहिचान गरेका उनीहरूले ललितपुरको कुसुन्तीमा बस्ने आमा, दाइ भाउजूलाई घरमै पुगेर मृत्युको जानकारी दिएका थिए।

उनीहरूले शुक्रवार मुस्किलले दियाका आफन्त बस्ने घर पत्ता लगाएको बताए। घर पत्ता लगाएर मृत्युको खबर दिएका उनीहरूले शनिवार जनसेवा प्रहरी कार्यालयमा निवेदन दिन सघाए। जनसेवा प्रहरीले परिवारको निवेदन लिएर शवको पोस्टमार्टम र शव बुझाउने पत्र दिएको थियो।

दिया यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य थिए। ‘हामीलाई संस्थामा काम गर्छु भन्थ्यो, घर नआएको पनि ६ वर्ष भएको थियो, कहाँ गयो होला भनेर आमा चिन्तित हुनुहुन्थ्यो,’दियाका दाइले भने,‘त्यस्तो बनेर हिँडेको रहेछ, उहाँहरू (मधु, सुरेन्द्र र सुरेश) हिजो आएर भनेपछि आमा रातभरि रोएर बस्नु भयो।’

दिया नील हिरा समाजमा गइरहन्थे। तर, उनलाई रोजगारी थिएन। बिहान बेलुकाको छाक टार्न दियाले शौचालयमा काम गर्नु परेको थियो। ‘संस्थामा काम गर्ने भने पनि शौचालयमा बस्दो रहेछ,’दाइले भने,‘घरमा बस्न धेरै अनुरोध गरे पनि बसेन।’ दियाका दुई दाइ छन्। बुबाको १० वर्ष अघि नै मृत्यु भएको थियो।

बुबाको काजक्रियामा आउँदा अब त्यसरी बाहिर नजान भनेको उनकी भाउजूले बताइन। ‘एउटा पसल राखेका छौ, पसलमै बस्नु न बाबु भनेको थिए,’भाउजूले भनिन्,‘मान्नु भएन,पछि पछि त आउनै छाड्नु भयो।’

दियाको खोजी गरिरहे पनि पत्ता लगाउन नसकेको परिवारले एकै पटक मृत्युको खबर सुन्नु पर्‍यो। दियाका दुई दाइलाई पुर्ख्यौली घर कहाँ हो भन्ने समेत पत्तो छैन। ‘बुबा आमा नै अरूको घरमा आएर काम गर्नुहुन्थ्यो, हामी यतै हुर्कियौ,’दियाका दाइले भने,‘आमाको माइती समेत थाहा छैन, हाम्रो पुर्ख्यौली घर कहाँ हो कहाँ।’

मायाको पहिचान नेपालको पहलमा शनिवार दियाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। शव गृहमा राख्दा लागेको २७ हजार रुपैयाँमा नपुग १३ हजार रुपैयाँ मायाको पहिचान नेपालले सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका दियाको परिवारलाई शव निकाल्न सहयोग गरेको उपाध्यक्ष मधुले बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि काम गर्न मायाको पहिचान नेपाल भन्दा अगाडी स्थापना भएका सङ्घसंस्थाको सहयोग नहुँदा समलिङ्गी विवाह गरेका दियाले विष सेवन गरेर प्राण त्याग गर्नु परेको नाम उल्लेख नगर्ने सर्तमा समुदायका एक सदस्यले बताए।

मृत्यु हुँदा समेत आफूलाई घागरान एक्टिभिष्ट भन्नेहरूको सहयोग पाएनन् दियाले। भरखरै खुलेको मायाको पहिचान नेपालले सदस्यहरूबाट सहयोग सङ्कलन गरेर दियाको शव व्यवस्थापन गर्‍यो।

पशुपति आर्यघाटमा दियाको शवमा मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दियो। ‘तपाईँहरूलाई केही पर्‍यो भन्ने भन्नुहोला, हामी सहयोग गर्न तयार छौ,’उपाध्यक्ष केसीले भने,‘कुनै अप्ठ्यारो मान्नु पर्दैन।’

दियाको परिवारले मायाको पहिचान नेपालका सदस्यको सहयोग प्रति आभार व्यक्त गरेको छ। ‘धेरै सहयोग गर्नुभयो,हामी खोजी गरिरहेका थियौ, पत्ता लगाउन सकेका थिएनौ,’परिवारले भन्यो,‘तपाईँहरूलाई धेरै धेरै धन्यवाद।’

१३ मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिकामा पहिलो इन्द्रेणी विवाह दर्ता गराउन सफल माया गुरुङ्ग दियाको अन्तिम श्रद्धाञ्जलीमा भावविह्ल भइन्। ‘मेरो भन्दा अगाडी समलिङ्गी विवाह गरेका थिए,’मायाले भनिन्,‘मेरो पहिलेदेखि नै चिनाजान थियो, म असाध्यै दुखी छु,दियाको आत्माले शान्ति पाओस्।’

बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका एक व्यक्तिको शव बेवारिसे अवस्थामा रहेको सुनेको बताए। ‘मैले पनि सुनेको थिए,’ बस्नेतले मायासँग भने,‘तपाईँहरूले व्यवस्थापन गर्नु भएछ, धन्यवाद छ, यहाँ राज्यले केही गर्दैन।’

बस्नेतले दुर्गा प्रसाईँको आन्दोलनमा पक्राउ परेको भनेर गलत प्रचार भएको प्रस्टीकरण पनि दिए। केही सञ्चारमाध्यमहरूले आफ्नो बारेमा भ्रमपूर्ण अफवाह फैलाएको उनले बताए।

‘बेवारिसे अनागरिकको सेवामा खटिरहेको छु,लास जलाउने काममा आफैँ लागेको छु, असहायहरूलाई खाना खुवाउने गरेको छु,’बस्नेतले भने,‘मलाई जिउँदा लासहरूसँग डर छैन, राजनीतिक स्वार्थ पूर्तिका लागि समाज सेवाको खोल ओढ्नेहरूसँग कुनै डर छैन।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.