कीर्तिपुरमा माया र सुरेन्द्रलाई सम्मान, सुनिलबाबुको प्रशंसा (तस्बिरहरू)

कीर्तिपुरमा माया र सुरेन्द्रलाई सम्मान, सुनिलबाबुको प्रशंसा (तस्बिरहरू)

715
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूमा यतिवेला खुसी छाएको छ। २३ वर्षदेखिको प्रयासमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको पहिलो औपचारिक विवाह दर्ता भएसँगै समुदायमा खुसी छाएको हो।

२७ असोज २०७४ मा सांस्कृतिक विवाह गरेका माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले औपचारिक रूपमा स्थानीय सरकारबाट विवाह दर्ताको प्रमाणपत्र प्राप्त गरेको खुसीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि खुलेका सङ्घसंस्थाले कार्यक्रम गरेर माया र सुरेन्द्रलाई सम्मान गरिरहेका छन्।

उनीहरूले अब स्थानीय सरकारमा विवाह दर्ता गर्ने तयारी गरेको सुनाएका छन्। नेपालमा पहिलो पटक सुनिलबाबु पन्तको पहलमा विवाह दर्ता गराउने बाटो खुलेकोमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पन्तलाई पनि सम्मान गरेका छन्।

लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गरेर नेपालको नाम राख्न सफल भएकोमा माया र सुरेन्द्रलाई आइतबार कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालले सम्मान गरेको छ।

यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि मात्रै नभएर सम्पूर्ण नेपाली नागरिकहरूको खुसी भएको संस्थाकी सचिव हनि महर्जनले बताइन। ‘यो खुसीको क्षण सुनिल सरले ल्याइदिनु भएको हो, नत्र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पनि मानव हुन, मानव सरह समान अधिकार पाउनु पर्छ भनेर अगाडी आउने थिएनन्,’महर्जनले भनिन्,‘सुनिल दाइले ब्लु डायमन्ड सोसाइटी खोल्नु भयो र हाम्रो समुदाय अगाडी आयो, अहिले धेरै अधिकार पाउन सफल भयौँ।’

कीर्तिपुर नगरपालिकाले विवाह दर्ताका लागि तयार रहेको सङ्केत दिएको छ। यो यात्रा अझ सशक्त रूपमा सही गतिमा लम्किने विश्वास नगरपालिकाले गरेको छ। ‘मात्र यो एक जोडीको मात्र विवाह होइन, यो एउटा अभियानको सफलता पनि हो,’कीर्तिपुर नगरपालिकाको सामाजिक विकास शाखाका वरिष्ठ अधिकृत अनुज प्रधानले भने,‘अब भावी दिन सहज बन्ने विश्वास छ।’

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले माया र सुरेन्द्रको विवाह दर्ता हुनु ऐतिहासिक उपलब्धि भएको बताए। उनले संस्थाकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह दर्ता भएसँगै वैवाहिक अधिकारको अगामी यात्रा सुरु भएको बताए। ‘अगामी दिनमा हाम्रो जिम्मेवारी पनि थपिँदै छ,अब नेपालभर सामाजिक र कानुनी रूपमा वैवाहिक जीवन सुरु गर्न चाहन्छौ भन्ने खुलेर आउने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरूलाई संस्थागत रूपमा कानुनी, सामाजिक सहयोग गर्नेछौँ।’

उनले यौन पेसामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई विभिन्न सीप मूलक तालिम दिएर जीविकोपार्जनमा लगाउने लक्ष्य रहेको पनि सुनाए।
सम्मान कार्यक्रममा मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले आफूहरूको विवाह दर्ता भएसँगै व्यक्ति व्यक्तिबीचमा पनि विवाह गर्न सकिने सन्देश गएको बताइन। ‘हामीले जति दुख पायौ अब आउने पुस्ताले दुख भोग्न पर्दैन भन्ने विश्वास छ,’मायाले भनिन्,‘अबको पुस्ताले दुख नपाउन भनेर हामी अगाडि बढ्छौ।’

समर्पण सभ्य समाज नेपालले गरेको सम्मान कार्यक्रममा पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाहलाई स्वीकार गर्न जनसमुदाय तयार देखिएको बताए। ‘भेदभाव छैन, बदलाव भइरहेको छ,’पन्तले भने,‘वैवाहिक हक अधिकार दिन समाज तयार भएको छ, राज्यले पनि अब सहज रूपमा विवाह दर्ता गरिदिने विश्वास छ।’

उनले आफूलाई अगाडी सारेर सम्पूर्ण समुदायका लागि लड्ने माया र सुरेन्द्र बधाईका पात्र बनेका बताए। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक दलमा स्थान दिन आव्हान पनि गरे। ‘राजनीतिक दलहरूले पनि अगाडी बढाउन मद्दत गर्नु पर्छ,’पन्तले भने,‘राजनीतिक स्थान दिन म आव्हान गर्छु।’

पहिलो विवाह दर्ता गर्ने माया र सुरेन्द्रसँग खुसी साटासाट गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले बधाई तथा शुभकामना दिने क्रम जारी राखेका छन्। नेपालमा पहिलो पटक भएको मिस्टर गे हेण्डसमका उपाधि विजेता विश्वराज अधिकारीले पनि माया र सुरेन्द्रसँगै पन्तलाई सम्मान गरेका छन्।

समर्पण सभ्य समाज नेपालको सम्मान कार्यक्रमका तस्बिरहरू

 

 

समाचार शेयर गर्नुहोस्
715
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.