निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दूध बिक्रीको भुक्तानी नपाउँदा समस्यामा किसान

दूध बिक्रीको भुक्तानी नपाउँदा समस्यामा किसान

443
SHARES

काठमाडौं : देशभरका दुग्ध उत्पादक किसान दूध बिक्री बापतको भुक्तानी नपाउँदा समस्यामा परेका छन्। सरकारी र निजी डेरी कम्पनीले किसानको ७ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन्।

असोजमा बिक्री गरेको दूधको भुक्तानी मङ्सिर अन्त्य हुन लाग्दा समेत पाउन नसकेको किसानले गुनासो गरेका छन्। सरकारी र निजी डेरी कम्पनीले किसानलाई ७ अर्ब भुक्तानी गर्न बाँकी रहेको छ। जसमा ७० प्रतिशत निजीको रहेको छ। निजी क्षेत्रले दुई महिनाको रकम भुक्तानी गर्न बाँकी रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ।

उत्पादन अनुसारको खपत हुन नसक्दा किसानलाई भुक्तानी गर्न नसकिएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए। अहिले उत्पादन र बिक्रीको रेसियो बिग्रिएको उनले बताए। अध्यक्ष दाहालले दूधको खपत झन्डै ३० प्रतिशतले कम भएको बताए।

हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बनेको गुनासो गरेका छन्। नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन हुन्छ।

उपभोक्ताको क्रयशक्ति घटेका कारण धेरैले दूधमा कटौती गरेका छन्। देशभर ६ लाख किसान दुग्ध व्यवसायमा प्रत्यक्ष संलग्न भएका छन्। केही महिना अघिसम्म दूध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दूध व्यवस्थापनको चिन्ता थपिएको छ।

भारतबाट दूध अवैध रूपमा अत्यधिक आउन थालेको छ। धुलो दूधको प्रयोग बढेको छ। नेपालमा ६५ रुपैयाँ लिटरमा दूध पाइन्छ भने भारतको विहारमा भारु ३४ मा प्रतिलिटर दूध पाइन्छ। भारतभन्दा नेपालमा १० रुपैयाँ महँगो भएका कारण सीमावर्ती क्षेत्रका भारतीय किसानले नेपालमा आएर दूध बेचिरहेका छन्।

भारतमा दूध सस्तो पाइन्छ भनेर केही डेरीवालाले सीमा क्षेत्रमा सङ्कलन केन्द्र नै खोलेका छन्। त्यहाँ भारतीय दूध अवैध रूपमा खरिदबिक्री भइरहेको छ। नेपालमा उत्पादन हुने दूधमध्ये ५० प्रतिशत किसान आफ्नै घरमा खपत गर्छन्। बाँकी ५० प्रतिशत दूध बजारमा जान्छ।

तर, किसानले बिक्री गरेको त्यही दूधको भुक्तानी चार महिनादेखि पाउन सकेका छैनन्। माघ फागुन भन्दा अगाडी रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको डेरी एसोसिएसनका अध्यक्ष दाहालले बताए।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पनि चार महिनाको करिब ७१ करोड रकम भुक्तान गर्न बाँकी रहेको जनाएको छ।

आर्थिक मन्दीका कारण संस्थानकै खपत १५ प्रतिशतले कम भएको संस्थानका महाप्रबन्धक सञ्जीव झाले बताए। निजी डेरीमा जाने दूध पनि अहिले संस्थान तिर आउन थालेको बताए।

समाचार शेयर गर्नुहोस्
443
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.