काठमाडौं : भुटानका राजनीतिक बन्दीलाई आममाफी दिन भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई खुल्ला अपिल गरिएको छ। विश्व मानव अधिकार दिवसको अवसरमा भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका युवाहरूले आयोजना गरेको सेमिनार पछि भुटानी राजालाई खुल्ला अपिल गरिएको हो।
आफ्नो राजकीय अधिकार प्रयोग गरी भुटानमा दशकौँदेखि नाजुक अवस्थामा जेलमा राजनीतिक बन्दी बनाएर राखिएकाहरूलाई आममाफी दिन खुल्ला अपिल गरिएको हो।
भुटानी कानुनले त्सा–वा–सुम (राजा, देश र जनता) विरुद्धको अपराधको लागि जेलमा परेकाहरूलाई ‘राजनीतिक बन्दी’ भनेर परिभाषित गरेको छ।
भुटानको संविधानअन्तर्गत देशका राजा वाङचुकलाई मात्र आममाफी दिने अधिकार रहेको छ। उनले थप ढिलाइ नगरी यी बन्दीहरूलाई जेलमुक्त गरी तिनका परिवारको पीडाको अन्त्य गर्न भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले खुल्ला अपिल गरेका हुन्।
भूतपूर्व राजनीतिक बन्दी र परिवारले दिएको विवरणका आधारमा राजनीतिक बन्दीहरूलाई यातना दिइएको छ। हाल बन्दीहरूलाई सामान्यतया चिसो रहेको मौसममा अपर्याप्त खाना र बिछ्यौना दिइएको र परिवारमा नियमित सम्पर्क गर्न वा परिवारलाई नियमित भेटघाट गर्नमा रोक लगाइएको छ।
थाह हुन आएका ३७ जना राजनीतिक बन्दीमध्ये ३२ जना भुटानमा ल्होत्साम्पा भनेर चिनिने नेपाली भाषी समुदायका रहेका छन्। पाँच जना सार्छोप्पा भनिने अर्को समुदायका रहेका छन्।
सार्छोप्पा बन्दीहरूलाई सन् १९९० को दशकमा प्रजातान्त्रिक सुधारका लागि अभियान चलाउने ड्रक राष्ट्रिय काँग्रेस नामको प्रतिबन्धित राजनीतिक दलसँग सम्बद्ध रहेको आरोप लगाइएको छ।
भुटानका राजाले किडु (राहत) का साथै ‘माफी, क्षमादान र सजाय कटौती प्रदान गर्न सक्छन्। भुटानको न्यायपालिकाको सजायसम्बन्धी निर्देशिकामा ‘आजीवन कारावासको सजाय पाएको व्यक्ति उसको मृत्यु नभएसम्म वा उसलाई माफी नभएसम्म वा उसको सजाय एक निश्चित अवधिमा परिवर्तन नभएसम्म वा शाही माफी वा क्षमादान नपाएसम्म वा सजायमा न्यूनीकरण नभएसम्म जेलमै रहने’ व्यवस्था उल्लेख गरिएको छ।
सन् १९९९ मा तत्कालीन राजा जिग्मे सिङ्गे वाङ्चुकले सजाय भोगिरहेका ४० राजनीतिक बन्दीहरूलाई आममाफी दिएका थिए। सन् २०२२ मा वर्तमान राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले आजीवन कारावासको सजाय भोगिरहेका एक जना राजनीतिक बन्दीलाई आममाफी दिएका थिए।
केही समय अघि मधुकर मगर भुटानी जेलबाट रिहा भएर नेपालको भुटानी शरणार्थी शिविरमा आश्रय लिएर बसेका छन्। अभियानका संयोजक कार्कीले भुटानी राजालाई गरेको खुल्ला अपिलमा आफ्ना परिवारका सदस्यहरूलाई आममाफी प्रदान गर्न अनुरोध गरिएको छ। अपिलमा लेखिएको छ,‘यदि मेरो इमानदार अपिललाई उचित रूपमा विचार गरियो भने म हजुरप्रति सधैँ आभारी हुनेछु।’
भुटान संवैधानिक राजतन्त्रसहितको लोकतान्त्रिक मुलुक भइसके पनि ५० भन्दा बढी राजनीतिक बन्दी भुटानको विभिन्न कारागारमा बन्दी छन्। नेपालको शरणार्थी शिविरमा धेरै वर्ष बिताएपछि यीमध्ये धेरैजसो राजनीतिक बन्दीका परिवारका सदस्य विभिन्न देशमा पुनर्वास भइसकेका छन्।
धेरैले सफलतापूर्वक आफ्नो स्थानान्तरण गरिएका देशहरूमा नागरिकता प्राप्त गरेका छन्। त्यस्ता केही परिवार अझै पनि नेपालको शरणार्थी शिविरहरूमा छन् र भुटानमा राजनीतिक बन्दीहरूको रूपमा सजाय भोगिरहेका आफ्ना परिवारका सदस्यहरूसँग पुनर्मिलन हुने आशामा छन्।
‘आर्थिक रूपमा विकसित देशहरूमा बसेर र जीवनका सबै आवश्यक सुविधाहरूको उपभोग गरे पनि, राजनीतिक बन्दीहरूको पुनर्वास परिवार अपूर्ण र भावनात्मक रूपमा उजाड महसुस गर्दछ,’अभियानका संयोजक कार्कीले निकालेको अपिलमा लेखिएको छ,‘दशकौँदेखि, उनीहरूका प्रियजनहरूले भुटानमा जेल सजाय भोग्दै आएका छन्, र उनीहरू धेरै वर्षदेखि सम्पर्क विच्छेद भएका छन्। यी परिवारहरूको पीडा झन् दयनीय छ र वर्णन गर्न चुनौतीपूर्ण छ।’
ती राजनीतिक बन्दीका अभिभावक आफ्नो प्यारो छोराको अनुहार नदेखेर मर्न थालेका छन्। कार्कीले ‘विनम्रतापूर्वक मेरो अपिलमा हजुरको सकारात्मक प्रतिक्रियाको अपेक्षा गर्दछु’ भनेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.