एनसेल काण्ड : प्रचण्डलाई सत्ता गुम्ने त्रास, प्रतिवाद गर्न निर्देशन

एनसेल काण्ड : प्रचण्डलाई सत्ता गुम्ने त्रास, प्रतिवाद गर्न निर्देशन

काठमाडौं : एनसेलको सेयर खरिद बिक्रीमा नाम जोडिए पछि प्रधानमन्त्री र उनको सचिवालय आक्रोशित बनेको छ। सचिवालयमा बसेकाहरू पैसा उठाउने धन्दामा लागेको आरोपले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गुम्ने त्रास समेत सिर्जना भएको छ।

बालुवाटारदेखि धुम्बाराही र बालकोटसम्मको मिलीभगतमा एनसेलको सेयर खरिद बिक्री भएको आरोप लागेको छ। आफू देश बाहिर हुँदा सेयर खरिद बिक्री काण्ड बाहिरिए पनि पहिलेदेखि नै सेटिङ मिलाइएको आरोपको खण्डन गर्न प्रधानमन्त्री प्रचण्डले समय खर्चनु परेको छ।

नक्कली भुटानी शरणार्थी, सुन तस्करी, बालुवाटार जग्गादेखि एनसेलको सेयर खरिद बिक्री काण्डकै चर्चाले सरकारको एक वर्ष पनि बित्न लागेको छ। एनसेल सेयर खरिद बिक्री काण्डलाई प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियासँग लगेर जोडेका छन्।

उनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन नचाहने तत्त्वले गलत हल्ला फैलाएको बताएका छन्। सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको दाबी प्रधानमन्त्री प्रचण्डले गरे।

सत्ता गठबन्धन र प्रतिपक्षीको मिलीभगतमा अर्बौँको सेयर खरिद बिक्री भएको आरोप लागिरहँदा सरकारले बनाएको छानबिन समितिले काम सुरु गरेको जनाएको छ। तर, समिति भित्रै पनि एनसेल काण्ड सामसुम पार्ने व्यक्तिहरू राखिएको भन्दै असन्तुष्टि देखिएको छ।

छानबिन समिति बनाए पनि एनसेल काण्ड आगो बनेर बाहिर आएको छ। प्रधानमन्त्रीकै कुर्सी हल्लाउने गरी एनसेल काण्ड बाहिरिए पछि प्रचण्डले पार्टी निकट पत्रकारहरूलाई प्रतिवाद गर्न निर्देशन नै दिएका छन्।

अर्बौँको पहिला भएका भ्रष्टाचारका काण्डभन्दा एनसेलमा सयौँ गुणा ठुलो भ्रष्टाचार प्रचण्डले गरेको भनेर प्रचार भएको उनले बताए। ‘म दुबईबाट फर्किँदै गर्दा मैले दुष्प्रचार र षड्‌‌यन्त्रको रूपमा त्यसलाई लिएँ। म राष्ट्र, जनता र लोकतन्त्रको हितमा दृढतासाथ अघि बढेँ,’प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘तपाईँ हामी जनता र राष्ट्रको पक्षमा सत्य लेख्ने बोल्ने भएकाले यस्ता झूटा प्रचारको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ।’

नेताहरू घोचपेचमा, विदेशी लगानी रोक्न एनसेलको जालझेल

अर्बौँको भ्रष्टाचार गरेको आरोप लगाउने स्वतन्त्र सांसद अमरेश कुमार सिंह भने रिट बोकेर सर्वोच्च अदालत पुगेका छन्। एनसेलको कर छलीमा विभिन्न राजनीतिक दलका नेताहरूले करोडौँ रकम बुझेको प्रमाण आफूसँग रहेको दाबी उनले गरेका छन्।

सर्वोच्च अदालतमा एनसेलको सेयर खरिद बिक्रीबारे सिंहले दायर गरेको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’मा परेको छ। एनसेलको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र अहिले ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठुलो भ्रष्टाचारको सङ्केत गरेको जिकिर सिंहले गरेका छन्। प्रधानमन्त्री प्रचण्डले खण्डन गरिरहँदा सांसद सिंहले भने अर्बौँ भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको सुनाए।

एनसेल काण्डमा सकभर बोल्न नपरे हुन्थ्यो भनेर तर्किरहेको प्रतिपक्षी नेकपा एमाले भने सरकार ढाल्ने रणनीतिमा लागेको छ। प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर सत्ताको बागडोर सम्हाल्न एमाले अध्यक्ष केपी शर्मा ओली दाउ हेरेर बसेका छन्।

पार्टी र आफ्नो प्रभाव क्षेत्रमा सङ्कल्प यात्रा गरेको एमालेले अब पार्टीको एकल सरकार बनाउनु पर्ने दलिल पेस गरिरहेको छ। झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभामा अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने दाबी सुनाए।

एनसेलको प्रस्टीकरण

एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अङ्गीकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरू हासिल गर्न सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ।

स्पेक्ट्रलाइट युके लिमिटेडका नेपाली मूलका शेयर धनी सतिशलाल आचार्यले भनाई उद्धृत गर्दै एनसेलले निकालेको विज्ञप्तिमा आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्टकिट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको उल्लेख गरेको छ।

स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको दाबी एनसेनलले गरेको छ। ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो,’एनसेलले भनेको छ,‘सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेसपेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ।जुन कम्पनीको कार्य सम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ।’

लाखौँ नेपालीहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरूप परिष्कृत डिजिटल सेवाहरूमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रूपमा अघि बढ्न तयार रहेको एनसेलले बताएको छ।

मोबाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरू प्रदान गर्न नेटवर्कको पूर्वाधार विकासलाई निरन्तरता दिने र यससँगै देशमा प्रविधिले ल्याउने महत्त्वपूर्ण अवसरहरूको पनि सिर्जना हुने दाबी एनसेलले गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.