बीमाको प्रिमियम शुल्क वृद्धि, मारमा उपभोक्ता

बीमाको प्रिमियम शुल्क वृद्धि, मारमा उपभोक्ता

काठमाडौं : बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरू समक्ष विराटनगरका उद्योगी व्यवसायीले बिमासँग सम्बन्धित समस्या प्रस्तुत गरी समाधानका लागि बीमा प्राधिकरणको सक्रियताका लागि आग्रह गरेका छन्।

उद्योग सङ्गठन मोरङ र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा सङ्गठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्र विषम परिस्थितिबाट गुज्रिरहेको वर्तमान समयमा विभिन्न बीमाको प्रिमियम शुल्कमा भइरहेको वृद्धिले उपभोक्ता थप मारमा परेको बताए।

प्रिमियम शुल्कलाई उपभोक्ता मैत्री बनाउन प्राधिकरणको अग्रसरताका लागि उनले अनुरोध गरे। उनले बीमा कम्पनीहरूले हाल बाढी, पहिरो, भूकम्प, आँधी तुफान लगायत अन्य धेरै प्रकारका जोखिमहरूलाई एउटै डालोमा हाली बिमा गर्न बाध्य बनाएको हुँदा उपभोक्ता अधिकारीलाई मध्यनजर गरी आफूलाई आवश्यक शीर्षक मात्र छनौट गर्न दिइनुपर्ने बताए।

अध्यक्ष सुरानाले लस अफ प्रफिट पोलिसिको प्रावधान नभएकाले ठुलो घाटा भइरहेको हुँदा उक्त पोलिसिको अविलम्ब व्यवस्था गर्न, ट्रान्जिट इन्स्यूरेन्स अन्तरगत लिइने मेरिन पोसिली र स्वदेशमा ढुवानीका लागी लिइने पोलिसि दरमा लगभग समान भएकाले यसमा परिवर्तन गर्न अनुरोध गरे।

कच्चा पदार्थ र मिल मेसीनेरिलाई जोखिम प्रकृतिका आधारमा फरक फरक वर्गीकरण गरी सोही अनुरूप प्रिमियम लिने व्यवस्था गर्न र कृषिमा आधारित सबै क्लेमको भुक्तानीको सरल व्यवस्था गर्न प्राधिकरणको पहल आवश्यक रहेको उनले बताए।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्रिमियम शुल्क संशोधन गर्दा वस्तुको प्रकृतिका आधारमा गरिने भएकाले सबै प्रकारका प्रिमियम शुल्कमा नभई केहीमा बढी भएको बताए।

बीमाको कभरेजमा गेप नहोस् भनी कतिपय पोलिसिलाई एकीकृत गर्नुपरेको, डोमेस्टिक ट्रान्जिटको हकमा भोलुम कम हुनुका साथै प्रोपर्टि र व्रेकडाउन पोलिसिलाई एकै पटक लिनुपर्दा उपभोक्तालाई प्रिमियम शुल्क बढी पर्न गएको बताउँदै उनले बिमा प्रति उपभोक्ताले विश्वास गर्नुपर्ने बताए।

उनले बीमा कम्पनीहरूमा रि ईन्स्यूरेन्य गर्नुपर्दा ग्लोबल कम्पनीहरूको सर्तहरू समेत पालना गर्नुपर्ने भएकाले कतिपय शिर्षकहरुलाई एउटै बास्केटमा समावेश गर्नुपरेको बताउँदै बिमा कम्पनीहरूलाई समेत आफ्नो सेवालाई विस्तार गर्न अनुरोध गरे।

बीमा प्राधिकरणमा पर्ने मुद्दाका सन्दर्भमा स्पष्ट पार्दै सिलवालले प्राधिकरणले मेलमिलाप तथा मध्यस्थताको माध्यमबाट वार्षिक सय भन्दा बढी बीमा सम्बन्धी मुद्दाको छिनोफानो गर्दै आएको र आगामी दिनमा यो सङ्ख्यालाई बढाउँदै लैजाने आश्वासन दिए।

नेपाल बीमा प्राधिकरण प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानी प्रिमियम दर संशोधन गर्दै आएको बताए। उनले बीमा कम्पनीहरूले उपभोक्ताको अधिकार हनन नहुने गरी सरल र सहज वातावरणमा क्लेम सेटलमेन्ट गर्नुपर्ने उनले उल्लेख गरे।

पुराना मात्र नभएर नयाँ स्थापना भएका उद्योग व्यवसायको हक हितलाई समेत मध्यनजर गरी सहज रूपले बिमा गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो।

छलफलमा उद्योगी व्यवसायीले नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई बीमा कम्पनीहरूको सेवा, सर्तलाई नियमन गरी क्लेम सेटलमेन्टका सन्दर्भमा सक्रियता अपनाउन अनुरोध गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.