निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आतङ्कबाट आतङ्कित लामिटारेको ‘दन्किँदो भुटान’

आतङ्कबाट आतङ्कित लामिटारेको ‘दन्किँदो भुटान’

599
SHARES

काठमाडौं : राजतन्त्रका अत्याचारले पीडित धेरै भुटानीहरू भारतका आसाम, बङ्गाल र सिक्किमका शरणार्थी बनेर बसिरहेका छन्। शदियौैंदेखि आवाद भुटानी गोरखाली जनतालाई वर्तमान समयमा गेटपास दिएर भुटानबाट नेपाल भगाउन थालेको रहेछ। यसको बदला जनताले लिनेछन्। यिनीहरूले स सम्मान आफ्नू देशमा फर्कने अधिकार पाउनु पर्दछ। देश छोडाउँदा सहनु परेका अनेक प्रकारका कष्टहरूको नुक्सान र अपमानको वदलामा यिनीहरूले उचित आर्थिक सहयोग पनि पाउनु पर्दछ।

यो अंश देवीभक्त लामीटारेको ‘दन्किँदो भुटान’ पुस्तकबाट लिइएको हो। पत्रकार विनोद ढुङ्गेलले सम्पादन गरेको पुस्तक भुटान मिडिया सोसाइटीले प्रकाशन गरेको हो। पुस्तकमा सोसाइटीका बिद्यापति मिश्रले प्रकाशकीय लेखेका छन्।

लामिटारे अविवाहित थिए। उनी देवीभक्त भन्ने नाम कसैको नहोस् भन्थे। सम्पादक ढुङ्गेलका अनुसार लामिटारे ‘आतङ्कबाट आतङ्कित’ भएको मान्छे हुन्। ‘दन्किँदो भुटान’ भुटानी राजाले हत्या गरेर सुनकोश नदीमा फालेका महासुर क्षेत्रीमाथिको अत्याचारले जन्मिएको पुस्तकमा लेखिएको छ।

देवीभक्तसँग कोही थिएनन्। उनी भारतको हरिद्वारमा सन्न्यासी बनेर बसेका थिए। विवाह गरेका थिएनन्। सोसाइटीका मिश्र ‘बोरामा हालेर पठाए पनि प्लेनबाट भाग्छु’ भन्थे। उनी पनि अमेरिका गए पछि लामिटारेबारे बुझ्न केही समय लागेको पुस्तकका सम्पादक ढुङ्गेलले बताए।

दन्किँदो भुटान अहिले प्रकाशन भएको भने होइन। यो पुस्तक सन् १९७० मा लेखिएको हो। त्यति वेला लामिटारेले भनेका ‘सिक्ममको भारतमा विलय र नेपालको राजतन्त्र जान्छ’ भन्ने भविष्यवाणी मिलेको छ। नेपालको मधेसलाई उनले भुटानको लोत्साम्पा समुदायसँग पनि तुलना गरेका छन्। तर, उनको सन् २०२२ मा निधन भयो।

भुटानी नागरिक कृषि विज्ञ समेत रहेका गोविन्द रिजालले भुटानी राजाले लामिटारे भुटानमा जन्मेको होइन भनेर बोल्ने गरेको सुनाए। भुटानमा नेपाली भाषीमाथिको अत्याचारविरुद्ध बोल्दा अहिले पनि पक्राउ गर्ने गरिएको छ। लामिटारेले भुटानमा प्रजातन्त्र ल्याउने आन्दोलनलाई जीवित बनाइदिएको रिजालले बताए।

अमेरिका पुर्नवास भएका भुटानी नागरिक शेखर कोइरालाले भौतिक सुख भए पनि सामाजिक रूपमा दुख रहेको बताए। ‘दसैँमा बुबाले दिएको आर्सीवाद सहितको टिका पुछेर हिँड्नु पर्ने अवस्था छ,’कोइरालाले भने,‘भौतिक सुख त छ। सामाजिक रूपमा दुख छ।’

उनले आफ्नो देश भुटान फर्कन पाउनु पर्ने बताए। भुटानबाट लखेटिएका मध्ये १ लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो देश पुर्नवास भइसकेका छन्। नेपालको शिविरमा अझै पनि ६ हजार भन्दा बढी भुटानी शरणार्थी स्वदेश फर्कन पाउने आसमा बसेका छन्।

समाचार शेयर गर्नुहोस्
599
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.