नेपाली भाषा साहित्यको जगेर्नामा भुटानी समुदाय 

नेपाली भाषा साहित्यको जगेर्नामा भुटानी समुदाय 

काठमाडौं : तेस्रोदेश पुनर्वास भएका भुटानी समुदाय नेपाली भाषा साहित्यको जगेर्नामा लागेका छन्।

एक लाखका हाराहारीमा पुनर्वास भएको भुटानी समुदाय सङ्ख्यामा उति ठुलो नभए पनि, पूर्ण परिवार र सङ्गठित समूहका रूपमा बसोबास गरेकाले भुटानी समुदायले अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरूमा नेपाली भाषा, संस्कृति र परम्परालाई विस्तार गर्न प्रभावकारी भूमिका निभाएको साहित्य परिषद्, भुटानले उल्लेख गरेको छ। 

भाषिक हस्तान्तरणका लागि केही हस्तक्षेपकारी कदमहरू चालिए पनि नयाँ पुस्ता फरक भाषामा पढिरहेको हुँदा ठुलो चुनौतीको सामना गरिरहेको छ।भाषाको अधिकार र पहुँच सबै नागरिकले पाउने संवैधानिक व्यवस्था भए पनि ती प्राप्त गर्न यथेष्ट व्यवहारिक कठिनाइहरू रहेको परिषद्ले उल्लेख गरेको छ। 

अमेरिकाको कोलम्बसमा रहेको परिषद्ले त्रिभुवन विश्वविद्यालयलाई अनलाइन शिक्षा प्रणाली अन्तर्गत नेपाली विषय अध्यापन गराउन ज्ञापनपत्र नै बुझाएको छ। साहित्य परिषद्  भुटानका तर्फबाट अध्यक्ष गङ्गाराम लामिटारेद्वारा हस्ताक्षरित ज्ञापनपत्र संस्थाकै पूर्वअध्यक्ष भक्त घिमिरेले बुझाएका हुन्।

ज्ञापनपत्रमा पछिल्लो दशकमा नेपाल बाहिर विभिन्न कारण जानेहरूको लहरमा नेपाली भाषी भुटानीहरूको पुर्नवास कार्यक्रमले नयाँ हलचल ल्याएको उल्लेख छ। ‘इतिहासको कुनै कालखण्डमा नेपालबाट भुटानमा पुगेको यो समूह नेपाली नागरिकता वाहकहरूको समूह होइन,’ज्ञापनपत्रमा लेखिएको छ,‘पुनर्वासित भुटानीहरूको नेपालसँगको नाता इतिहासमा मात्र सीमित छैन।’

दुई तीन दशकसम्म यही देशमा शरणार्थीका रूपमा आश्रय लिएको र अविच्छिन्न रूपमा नेपाली भाषा र संस्कृतिसँग जोडी आएको छ। त्यसमा नेपालमै जन्मी हुर्किएको र यहीँको शैक्षिक प्रणालीमा अध्ययन गरेको र कतिपय अवस्थामा समयक्रममा पारिवारिक नाता सम्बन्धमा बाँधिएको पनि छ। 

ज्ञापनपत्रमा ‘नेपालबाट पाश्चात्य मुलुकहरूमा जानेहरूको सङ्ख्या ठुलो छ तर भुटानीहरूको पुनर्वास बसाइँ सराइको पृथकरुप हो। यो समूह रोजगारीका लागि अस्थायी रूपमा गएको होइन पुनर्वास भएका मुलुकहरूलाई आफ्नो स्थायी घर-बास बनाउन र जीवन व्यतीत गर्न गएको हो’लेखिएको छ।

अनलाइनबाट नेपाली विषय अध्ययन गराए नेपाल बाहिरका थुप्रै शिक्षार्थीहरूले नेपाली विषयको औपचारिक शिक्षा हासिल गर्न पाउने परिषद्ले उल्लेख गरेको छ। नेपाल भित्रै पनि घरमै बसेर, विभिन्न विधा र सङ्कायमा अध्ययन गर्न चाहनेहरूका लागि सर्वसुलभ शिक्षा प्राप्त गर्ने बाटो खुल्ने परिषद्ले विश्वविद्यालयलाई भनेको छ। 

‘प्रविधिको आजको दुनियाँमा यो असम्भव पनि छैन,’परिषद्ले भनेको छ, ‘स्नातकोत्तर तहमा मात्रै होइन, नेपाली विषयको विज्ञाता, लेखकीय अनुभव र अन्य विषयमा स्नातक अध्ययन गरेको भए नेपाली विषयमा विद्यावारिधि गर्न पाउने व्यवस्था गर्ने हो भने शिक्षाको उपल्लो तहसम्म अध्ययन गर्न चाहने अध्येताहरूलाई फाइदा हुने थियो भन्ने हामीलाई लागेको छ।’

त्रिभुवन विश्वविद्यालय नयाँ प्रविधिको प्रयोग गर्दै नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको अध्ययन गर्न सक्ने भर्चुअल शैक्षिक योजना लिएर आउनेमा साहित्य परिषद् भुटानले विश्वास गरेको छ। 

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो, धेरै विद्यार्थी अध्ययन-अध्यापन तथा दीक्षित गराउने नेपालको शैक्षिक संस्था रही आएको कुरामा परिषद्ले गर्व गरेको छ।

‘नेपाल र नेपाली जनताको शैक्षिक आकाङ्क्षा र आवश्यकता परिपूर्ति गर्न त्रिभुवन विश्वविद्यालयले ऐतिहासिक भूमिका निर्वाह गरिरहेको सबैलाई अवगत नै छ,’परिषद्ले भनेको छ,‘परिवर्तित समयको आवश्यकता र विद्यार्थीको चाहना अनुरूप शैक्षिक प्रणालीमा लचकता अपनाउँदै यसै वर्ष देखि जुनसुकै विषयमा स्नातक गरेकाले पनि नेपाली वा अङ्ग्रेजी विषयमा स्नातकोत्तर अध्ययन गर्न सक्ने व्यवस्था गरिनु धेरै विद्यार्थीका लागि उपयोगी हुने नै छ।’

अहिले नेपाल भन्दा बाहिर धेरै ठुलो जनसङ्ख्या अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुकहरूमा रोजगार, पेसा, व्यवसाय र बसोबासका लागि गइरहेको अवस्थामा नेपाली भाषा, साहित्य र संस्कृति ती ठाउँहरूबाट अध्ययन गर्न सक्ने व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयले कदम चाले अझ राम्रो हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

स्कुल डिस्ट्रिकहरूमा नेपाली भाषी विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य भए नेपाली भाषा विषय पढाउन सकिने भए पनि नेपाली विषयमा आवश्यक शैक्षिक योग्यता भएको जनशक्ति नभएका कारण सम्भव नभएको परिषद्ले उल्लेख गरेको छ। 

ज्ञापनपत्र यस्तो छ

त्रिभुवन विश्वविद्यालय नेपालको सबै भन्दा पुरानो, धेरै विद्यार्थी अध्ययन(अध्यापन तथा दीक्षित गराउने नेपालको शैक्षिक संस्था रही आएको कुरामा हामी गर्व गर्दछौँ। नेपाल र नेपाली जनताको शैक्षिक आकाङ्क्षा र आवश्यकता परिपूर्ति गर्न त्रिभुवन विश्वविद्यालयले ऐतिहासिक भूमिका निर्वाह गरिरहेको हामी सबैलाई अवगत नै छ।परिवर्तित समयको आवश्यकता र विद्यार्थीको चाहना अनुरूप शैक्षिक प्रणालीमा लचकता अपनाउँदै यसै वर्षदेखि जुनसुकै विषयमा स्नातक गरेकाले पनि नेपाली वा अङ्ग्रेजी विषयमा स्नातकोत्तर अध्ययन गर्न सक्ने व्यवस्था गरिनु धेरै विद्यार्थीका लागि उपयोगी हुने नै छ। यससन्दर्भमा अहिले नेपालभन्दा बाहिर धेरै ठुलो जनसङ्ख्या अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुकहरूमा रोजगार, पेसा, व्यवसाय र बसोबासका लागि गइरहेको अवस्थामा नेपाली भाषा, साहित्य र संस्कृति ती ठाउँहरूबाट अध्ययन गर्न सक्ने व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयले कदम चाले अझ राम्रो हुनेछ भन्ने हामीलाई लागेको छ।

पछिल्लो दशकमा नेपाल बाहिर विभिन्न कारण जानेहरूको लहरमा नेपाली भाषी भुटानीहरूको पुर्नवास कार्यक्रमले नयाँ हलचल ल्याएको छ।हुन त इतिहासको कुनै कालखण्डमा नेपालबाट भुटानमा पुगेको यो समूह नेपाली नागरिकता वाहकहरूको समूह होइन।तथापि पुनर्वासित भुटानीहरूको नेपालसँगको नाता इतिहासमा मात्र सीमित छैन। दुई तीन दशकसम्म यही देशमा शरणार्थीका रूपमा आश्रय लिएको र अविच्छिन्न रूपमा नेपाली भाषा र संस्कृतिसँग जोडी आएको छ। त्यसमा नेपालमै जन्मी हुर्किएको र यहीँको शैक्षिक प्रणालीमा अध्ययन गरेको र कतिपय अवस्थामा समयक्रममा पारिवारिक नाता-सम्बन्धमा बाँधिएको पनि छ। नेपालबाट पाश्चात्य मुलुकहरूमा जानेहरूको सङ्ख्या ठुलो छ तर भुटानीहरूको पुनर्वास बसाइँ सराइको पृथकरुप हो।यो समूह रोजगारीका लागि अस्थायी रूपमा गएको होइन पुनर्वास भएका मुलुकहरूलाई आफ्नो स्थायी घरबास बनाउन र जीवन व्यतीत गर्न गएको हो।

एक लाखका हाराहारीमा पुनर्वास भएको भुटानी समुदाय सङ्ख्यामा उति ठुलो नभए पनि, पूर्णपरिवार र सङ्गठित समूहका रूपमा बसोबास गरेकाले भुटानी समुदायले अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरूमा नेपाली भाषा, संस्कृति र परम्परालाई विस्तार गर्न प्रभावकारी भूमिका निभाएको छ। भाषिक हस्तान्तरणका लागि केही हस्तक्षेपकारी कदमहरू चालिए पनि नयाँ पुस्ता फरक भाषामा पढिरहेको हुँदा ठुलो चुनौतीको सामना गरिरहेको छ। भाषाको अधिकार र पहुँच सबै नागरिकले पाउने संवैधानिक व्यवस्था भए पनि ती प्राप्त गर्न यथेष्ट व्यवहारिक कठिनाइहरू छन्।स्कुल डिस्ट्रिकहरूमा नेपाली भाषी विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य भए नेपाली भाषा विषय पढाउन सकिने भए पनि नेपाली विषयमा आवश्यक शैक्षिक योग्यता भएको जनशक्ति नभएका कारण सम्भव भइरहेको छैन।नेपालमा एउटा तहसम्म नेपाली विषय पढेर आएका वा नेपाली विषयमा उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि भर्चुअल अध्ययन गर्न सक्ने विश्वविद्यालय वा शैक्षिक प्रणाली नहुनु दुखद कुरा हो।अहिले विश्वका अनेक विद्यालयहरूले अनलाइन शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएका छन्। जसका कारण अध्ययन गर्न चाहनेहरूले विश्वका जुनसुकै ठाउँमा बसेर पनि आफूले चाहेको विषय अध्ययन गर्न सक्दछन्।

हामी नेपाली भाषी भुटानीहरू नेपाली भाषाको औपचारिक अध्ययन गर्ने सिलसिलामा कहिले अभाव, कहिले निषेध र कहिले प्रतिकूलता भोगिरहेका छौँ।शरणार्थी क्याम्पमा हुँदा नेपाली भाषा परिषद्, भुटानले नेपाली साहित्य समिति सिलगढीसँग समन्वय गरेर नेपाली साहित्यका अनौपचारिक कक्षा सञ्चालन गर्दै आएको थियो। उक्त कार्यक्रमबाट कक्षा चारदेखि स्नातकसम्मका विभिन्न तहमा अध्ययन गर्नेहरूको सङ्ख्या आठ हचार जति थियो।सन् १९९३ मा बेलडाँगी शिविरमा स्थापित भाषा परिषद्, अहिले रूपान्तरित भएर साहित्य परिषद्, भुटानका रूपमा अमेरिकामा दर्ता भएको छ।परिषद्ले अहिले औपचारिक रूपमा कुनै शिक्षक कार्यक्रम सञ्चालन नगरे पनि नेपाली भाषा र साहित्यको प्रवर्धन गर्न अनेक गतिविधि गर्नुका साथै विगत पन्ध्र वर्ष देखि पाक्षिक-पत्रिका Bhutaneseliterature.com निरन्तर सञ्चालन गर्दै आइरहेको छ। ई-पत्रिका बाहेक विभिन्न लेखकहरूका कृति र सङ्कलित रचनाहरू पनि प्रकाशन गर्दै आएको छ।

साहित्य परिषद् भुटान आफ्नो स्थापनाकालदेखि (१९९३) तीन दशकसम्म निरन्तर रूपमा नेपाली भाषा(साहित्यको उन्नति र विकासका लागि काम गरिरहेको छ र गरिरहने छ। तर हाम्रो सामान्य प्रयासले मात्रै ठुलो उपलब्धि हासिल हुन सक्तैन, त्यसमा विश्वविद्यालयहरूको भूमिका नै महत्त्वपूर्ण हुन्छ।त्रिभुवन विश्वविद्यालय जस्तो गरिमामय इतिहास बोकेको संस्था माथिका विषयहरूमा अनभिज्ञ छैन तर पनि हामीले भोगिरहेका सन्दर्भ र अनुभावहरू केही उपयोगी हुन सक्लान् कि भन्ने आशा गरेका छौँ।

सारमा भन्नुपर्दा त्रिभुवन विश्वविद्यालय जस्तो शैक्षिक संस्थाले अनलाइन शिक्षा प्रणाली अन्तर्गत नेपाली विषयलाई अध्यापन गराउने हो भने नेपाल बाहिरका थुप्रै शिक्षार्थीहरूले नेपाली विषयको औपचारिक शिक्षा हासिल गर्न पाउने थिए। नेपाल भित्रै पनि घरमै बसेर, विभिन्न विधा र सङ्कायमा अध्ययन गर्न चाहनेहरूका लागि सर्वसुलभ शिक्षा प्राप्त गर्ने बाटो खुल्ने थियो। प्रविधिको आजको दुनियाँमा यो असम्भव पनि छैन। त्यस्तै स्नातकोत्तर तहमा मात्रै होइन, नेपाली विषयको विज्ञाता, लेखकीय अनुभव र अन्य विषयमा स्नातक अध्ययन गरेको भए नेपाली विषयमा विद्यावारिधि गर्न पाउने व्यवस्था गर्ने हो भने शिक्षाको उपल्लो तहसम्म अध्ययन गर्न चाहने अध्येताहरूलाई फाइदा हुने थियो भन्ने हामीलाई लागेको छ।

भविष्यमा देशभित्र मात्र होइन त्रिभुवन विश्वविद्यालय नयाँ प्रविधिको प्रयोग गर्दै नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको अध्ययन गर्न सक्ने भर्चुअल शैक्षिक योजना लिएर आउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।

गङ्गा लामिटारे

अध्यक्ष

साहित्य परिषद्,भुटान
कोलम्बस, अमेरिका

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.