निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सहिद घोषणामा लापरबाही, गृह मन्त्रालयले राजपत्र सच्याउने

सहिद घोषणामा लापरबाही, गृह मन्त्रालयले राजपत्र सच्याउने

भिडन्तमा नभई आन्तरिक दुर्घटनामा मृत्यु

235
SHARES

काठमाडौं : सरकारले सहिद घोषणामा गम्भीर लापरबाही गरेको पाइएको छ। आन्तरिक दुर्घटनामा मृत्यु भएकाहरूलाई समेत सहिद घोषणा गरेर सरकारले लापरबाही गरेको पाइएको हो।

बाख्रा चराउन जाँदा खेलौना ठानेर विस्फोटक पदार्थ चलाउँदा मृत्यु भएका एकै परिवारका चार जनालाई सरकारले सहिद घोषणा गरेको पुष्टि भएको छ।
उनीहरूको नाम सहिद घोषणा गर्दा दुई ठाउँमा राखेर सरकारले अर्को गल्ती गरेको छ।

काभ्रे खानीखोला गाउँपालिका साबिकको फलामेटार चिप्लेदमारका याङग्रीमाया वाइबा, मिठु माया वाइबा, सुवास वाइबा र जनक वाइबाको २०६२ साल चैत २२ गते विस्फोटक पदार्थ खेलाउँदा मृत्यु भएको थियो। गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरू सहित २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय अनुसार उनीहरूको नाम राजपत्रमा प्रकाशित भएको छ। सहिद परिवारलाई राज्यले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ। खानीखोला वडा नं १ का अध्यक्ष सन्तमान थिङले आन्तरिक दुर्घटनामा मृत्यु भए पनि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहिद घोषणा गरेर सहयोग रकम उपलब्ध गराइएको बताए।

नमोबुद्धका सन्तोषसँगै थप सहिद घोषणा, याङग्रीमायाको नाम दुई ठाउँमा

सहिद घोषणा भएका चार जना मध्ये तीन जनाको नाम दुई ठाउँमा राखिएको छ। सरकारले घटना एउटै र मिति उही राखेर सहिद घोषणा भएकाको नाम दुई ठाउँमा राखेर राजपत्रमा प्रकाशित गरेको छ।

एकै मितिमा एउटै घटनामा मृत्यु भएका फलामेटार चिप्लेदमारका सुवास वाइबा, मिठुमाया वाइबा र याङग्रीमाया वाइबाको नाम राजपत्रमा प्रकाशित सहिद घोषणा सूचिमा दुई ठाउँमा राखिएको पाइएको हो। उनीहरूले राज्यबाट पाउने सुविधा पाइसकेको वडा अध्यक्ष थिङले जानकारी दिए।

‘जनयुद्धका क्रममा तत्कालीन माओवादीसँग भिडन्त भएको ठाउँमा नेपाली सेनाले छोडेको विस्फोटक पदार्थ भेटाएका उनीहरूले घरमा ल्याएर खेलाएछन्,’वडा अध्यक्ष थिङले भने,‘खेलौना भनिएको विस्फोटक पदार्थ पड्कँदा एक जना बाच्न सफल भए पनि चार जनाको क्षतविक्षत भएर मृत्यु भएको हो।’ उनीहरूको भिडन्तमा नभई आन्तरिक दुर्घटनामा मृत्यु भएको थिङले बताए।

गृह मन्त्रालयले भने स्थानीय प्रशासनबाट सिफारिस भएकाहरूको नाम नै राजपत्रमा प्रकाशित गरेको बताएको छ। दुई ठाउँमा नाम राखिएकोबारे मन्त्रालयले भुलवश टाइप मिस्टेक भनेको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले टाइप मिस्टेक भएर दुई ठाउँमा नाम परेको भए राजपत्र सच्याएर पुन प्रकाशित गर्ने जानकारी दिए। ‘त्यसलाई करेक्सन गर्नुपर्छ, सूचना दिनु भयो धन्यवाद,’गृह प्रवक्ता भट्टराईले भने,‘सुझावका आधारमा राजपत्र करेक्सन हुन्छ।’

जिल्ला प्रशासन कार्यालय काभ्रेले नै सहिद घोषणाको सिफारिस गर्दा एकै व्यक्तिको नाम दुई ठाउँमा राखेर पठाएको पाइएको हो।

समाचार शेयर गर्नुहोस्
235
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.