गज्जबको विवाह कनेक्सन, परिवारको टेन्सन साफ (भिडियो)

गज्जबको विवाह कनेक्सन, परिवारको टेन्सन साफ (भिडियो)

विवाह दर्ताका लागि परिपत्र गर्ने तत्कालीन महानिर्देशकको भने सरुवा

झट्टै रिसाइ हाल्ने हो कि भनेर तौलेर बोल्नुपर्छ उनका अगाडि। उनीभित्रको मन्द मुस्कान नबुझ्ने हो भने प्राय रिसाएझैँ लागिरहन्छ। कोमल मनको भाव झट्ट बुझिहाल्छिन् र मुस्कान दिइहाल्छिन् मात्र ए रिसाएको होइन रहेछ भनेर थाहा पाउन सकिन्छ।

रिसाए जस्तो लाग्ने उनी महिला हुन्। जन्मँदा जुन पहिचान पाइन, त्यसैमा आफूलाई चिनाउँदै आएकी छन् उनले। रिसाए जस्तो नलाग्ने उनकी अर्की साथी छिन महिला नै। झट्ट दुई मध्ये एक जनाको गेटअप पुलिंगी स्वभावको छ। फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर सुरु भएको उनै दुई महिलाको वैवाहिक सम्बन्ध गज्जबको छ।

सन् २०२० अक्टोबर १२ मा मात्रै विवाह गरेका हुन् उनीहरूले। बेलायतमा बस्ने गरेकी सुप्रिता गुरुङको प्रस्ताव नै पहिलो थियो प्रेम गर्ने। उनले अन्जु श्रेष्ठलाई सामाजिक सञ्जाल फेसबुकमा रिक्वेस्ट पठाइन। माया प्रेम दर्साइन र विवाहमै परिणत गरिन्।

केही केहीले केटीकेटीको पनि विवाह हुन्छ र? भन्ने प्रश्नको सामना गरिरहनु उनीहरूको दैनिक जस्तै बनेको थियो। सुप्रिता आफैँले प्रस्ताव गरेकाले कष्टका दिन सुनाउँदिनन्। दिप्ती भने विवाह गरे पछिका तिता अनुभव सेयर गर्न हिचकिचाउँदिनन्।

फेसबुकमा फोटो हेरेर सुप्रिताले दिप्तीसँग गरेको कनेक्सनले दुबैलाई खुसी दिएको छ। आनन्द दिएको छ। जुन कुरा अपेक्षा थिएन, त्यही भएको छ। साथ दिनेहरू प्रशस्तै बटुलेका छन् सुप्रिता र दिप्तीले।

बाटोमा हिँड्दाहिँड्दै अल्छी लागिरहेको थियो दिप्तीलाई। त्यति नै बेला फेसबुक म्यासेन्जर टिङटिङ गर्‍यो। २/४ मिनेटमै दिप्तीले रिप्लाई गरिन्। पहिलो म्यासेजको रिप्लाई दिएको सुनाउँदै दिप्ती भन्छिन्,‘टाइम पासका लागि भनेर बोले, टाइम पास त टाइम पास लङ टाइम पास भएछ।’

हाँसाहाँसी दिप्तीले सुप्रिताबाट प्रपोज आए पछि रिलेसनमा नबस्ने, सच्चा साथी भएर बसौँ भनेर जवाफ दिएकी थिइन। उनले सुरुवाती कनेक्सन सुनाउन कुनै सङ्कोच मानिनन्। ‘६ महिना जति त्यसरी बोलियो,’दिप्तीले भनिन्,‘त्यस पछाडि चाहिँ रेगुलर फेरि…।’

सुप्रिताले घर परिवारलाई भनेकी थिइनन्। दिप्तीको भने घर परिवारलाई पहिल्यै थाहा थियो। ‘केटाहरूसँग विवाह गर्दिन, बरु राम्रो केटी साथी भयो भने सँगै बस्छु,’उनले घरपरिवारलाई भनेको कुरा सम्झँदै भनिन्,‘तर केटासँग विवाह गर्दिन।’

आमाले इच्छा अनुसार बाँच्न पाउने अधिकार सुनाएकी थिइन। आमाले भन्थिन,‘तेरो जे इच्छा छ, त्यही भएर हिँड्। गलत काम गरेर नहिँड।’ गाउँमा बसोबास गर्ने हुन दिप्तीका बाबाआमा। बुबाममीले बुझिदिएकाले दिप्ती स्वतन्त्र भइन।

केटी साथीहरूले फसाउँलान भनेर बुबाममीले उनलाई सुझाव दिइरहन्थे। उनी पनि टाइम लिएर कुरा गर्थिन। स्याङ्जा र बुटवलबाट दिदीहरू घरमा जाँदा नै दिप्तीले सुप्रितालाई चिनाएकी थिइन साथी हो भनेर।

सुप्रिताले पनि आफ्नो परिवारमा रिलेसनमा रहेको नभएर साथीको रूपमा चिनाएकी थिइन। ‘ममीले अगाडी भन्न नसक्नु भए पनि भित्रभित्र रिलेसनमा रहेको थाहा पाइसक्नु भएको रहेछ,’सुप्रिताले भनिन्,‘अहिले त उसको पनि मेरो पनि राम्रो छ, परिवारसँग हाम्रो बारेमा कुराकानी हुन्छ।’

यसरी भयो विवाह दर्ता

दुवैको परिवारले स्वीकार्यो। विवाह गरिनै सकेपछि परिवारले पनि केही त्यस्तो नराम्रो व्यवहार गरेन। खुसी नै भए दुबैका परिवार। उनीहरूको इच्छा हो। सँगै बस्छन्, राम्रो हुन्छ भने किन नराम्रो गरिदिनु परिवारले उनीहरूलाई अपनायो।

तर, कानुनी रूपमा त पुरुष र महिलाको मात्रै विवाह दर्ता हुन्छ। मुलुकी देवानी संहितामा महिलामहिला र पुरुषपुरुषबीच भएको विवाह दर्ता गर्ने कानुन छैन। सर्वोच्च अदालतले ६ पुस २०६४ मा सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको रिटमा समलिङ्गी विवाहको कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो।

सर्वोच्चको आदेश अनुसार सरकारले गठन गरेको समलिङ्गी विवाह अध्ययन समितिले २०७१ साल वैशाखमा प्रतिवेदन बुझाएको थियो। समलिङ्गी विवाहलाई कानुनी मान्यता दिँदा उपयुक्त हुने सुझाव दिए पनि सरकारले संविधान जारी गरे पछि संशोधन भएको मुलुकी संहितामा समलिङ्गी विवाह दर्ता गर्ने कुनै व्यवस्था गरेन।

चोर बाटोबाट नागरिकता, रनभुल्लमा सरकार

सर्वोच्चमा पहिलो रिट लिएर गएका उनै पन्तले नील हिरा समाजलाई नै अगाडि राखेर दर्ता गराएको रिटमा १२ असार २०८० मा न्यायाधीश तिलप्रसाद श्रेष्ठले कानुन नबनेसम्म तत्काल राहतका लागि अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन अन्तरिम आदेश दिए। वर्षौँसम्म कानुन नबनाउने सरकारी निकाय अहिले अन्तरिम आदेश छोटो समयका लागि हो भन्दै विवाह दर्ता नगर्ने दाउमा देखिएका छन्।

सर्वोच्चको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले कार्यान्वयन गरेन भने उच्च अदालत पाटनले इतिहासमै पहिलो पटक एमिकस क्युरी झिकाएर सुनुवाइ गरे पनि जिल्लाको आदेश बदर गरेन। माया गुरुङ्ग र सुरेन्द्र पाण्डे रिट निवेदक मध्येको एक जोडी थियो।

सर्वोच्चको आदेश लगत्तै उनीहरू विवाह दर्ताका लागि स्थानीय तहमा गए। विवाह दर्ताका लागि आवश्यक अविवाहितको सिफारिस दिन सक्ने स्थानीय पालिका दर्ता नै गर्न भने तयार थिएनन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीले विवाह दर्ताका लागि स्थानीय तहमा जान भने पनि उनीहरू मैनालीकै आदेश बदर गराउन उच्च अदालत पुगेका थिए।

उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि माया र सुरेन्द्र फेरि सर्वोच्च पुगे। न्यायाधीश तिलप्रसाद श्रेष्ठले अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न दिएको पहिलेको आदेशमा कुनै संशोधन गर्न नपर्ने अर्को आदेश दिए।

सर्वोच्चको अन्तरिम आदेश, अविवाहितको सिफारिस सहित माया र सुरेन्द्रले विवाह दर्ताको निवेदन लमजुङको दोर्दी गाउँपालिकाको २ नं वडामा दिए। वडाले पालिकालाई पत्र लेख्यो, पालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग राय माग्यो।

पत्रको रिप्लाई आउन कम्तीमा सात दिन लाग्ने बताए पछि विवाह दर्ताका लागि माया र सुरेन्द्रलाई सहयोग गरिरहेका पन्त विभागसम्म पुगे। विभागले सिस्टममै मिलाउनु पर्ने भएकाले केही दिन लाग्ने बतायो। ३/४ भित्रै विभागले दोर्दी पालिकालाई परिपत्र गर्‍यो र हस्तलिखित सर्वोच्च अदालतको आदेश उल्लेख गरेर माया र सुरेन्द्रको विवाह कानुनी रूपमा दर्ता भयो।

उनीहरूको विवाह दर्ताको समाचार देशदेखि विदेशी सञ्चारमाध्यममा प्रमुखताका साथ सम्प्रेषण भए। नेपाल दक्षिण एसियामै समलिङ्गी विवाह दर्ता गर्ने पहिलो देश भनेर प्रचार भयो।

भारतमा सर्वोच्च अदालतले भरखरै समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने आदेश दिएको अवस्थामा नेपालमा त विवाह दर्ता नै भयो। नेपालको अग्रगामी छलाङलाई विश्वले नजिकबाट नियाल्यो। यो विवाह दर्ताका लागि परिपत्र गर्ने तत्कालीन महानिर्देशकको भने सरुवा भयो।

माया र सुरेन्द्रले जस्तै विवाह दर्ता गर्न दिप्ती र सुप्रिताले वडा कार्यालयमा निवेदन दिए। वडा कार्यालयले पञ्जीकरण विभागमा फोन गरे। तर, उल्टै झपारे। ‘हाम्रै अगाडि फोन गर्नु भएको थियो, सरहरू हाम्रो अगाडि अरूको थर्काइ खादा कस्तो स्याड(दुखी) फिल हुन्छ त्यस्तै रातो न पिरो हुनुभयो,’दिप्तीले भनिन्,‘त्यसपछि घर गयौँ र के गर्ने के गर्ने भनेर मितिनी नेपालमा रिक्वेस्ट गर्‍यौ।’

लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

मितिनी नेपाल समलिङ्गी महिलाहरूको हक अधिकारका लागि खुलेको संस्था भनेर चिनेकी थिइन दिप्तीले। ‘एउटा सानो कुरा जान्न चाहन्छौ भनेर धेरै पटक रिक्वेस्ट गरेका थियौँ,’दिप्तीले भनिन्,‘मितिनी नेपालकै फेसबुक साथी भएकाले पनि पछि हामीलाई अनफ्रेण्ड गरिदिनु भयो।’

त्यसपछि नै हो उनीहरूले माया र सुरेन्द्रसँग सम्पर्क गरेको। फेसबुकमा दिप्तीले म्यासेज गरिन, माया र सुरेन्द्रले तत्कालै रिप्लाई दिए। ‘उहाँहरूले बुझाइदिनु भयो, गाउँको अधिकृत सरले पनि यता सरहरूसँग कुरा गरिदिनु भएछ, धेरै सजिलो भयो पछि चैँ,’उनले भनिन्,‘सुनिल सरले पञ्जीकरण विभागमा नभनेको भए हाम्रो हुन्थेन।’

सुप्रितालाई विवाह गरे पनि दर्ता हुन्छ भन्ने थाहा थिएन। कानुन व्यवसायी राखेर रिलेसनमा बसेको कागजमा सहीछाप गरेका थिए दुवैले। ‘त्यो नै विवाह दर्ता भएको थियो हाम्रो,उहाँहरू(माया र सुरेन्द्र)को विवाह दर्ता भए पछि नै थाहा पायौँ, कति खुसी भयौँ,’सुप्रिताले भनिन्,‘उहाँ(दिप्ती)को ठुलो दिदी धेरै खुसी हुनु भयो।’

दिदीले सुप्रितालाई विवाह दर्ता हुन थालेको सुनाएकी थिइन। ‘दिदीले गाउँपालिकासँग कुरा गर्नुभयो,उहाँको सरहरूले पनि हुन्छ, गर्दिन्छौ, आउनु न त प्रक्रिया मिलाएर भन्नुभयो,’दिप्तीले भनिन्,‘प्रक्रिया पुरा गरेर हामीले विवाह दर्ताको निवेदन दियौँ।’

गाउँपालिकाका जनप्रतिनिधिहरूले सहयोग गरे। ‘हामीले कुनै गलत गरेको भए त हेल्प गर्नुहुन्थेन होला,’दिप्तीले भनिन्,‘ल हामी कुरा गर्छौ नि त भन्ने धेरै जना हुनुभयो।’ विवाह दर्ता भएको समाचार आइसकेपछि पार्टी चाहियो भनेर फोन आउन थाल्यो।

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

तर, गाउँपालिकाका सचिव दीपक नेपालीले भने चौतर्फी दबाब पाए। सचिव नेपालीले कति दिनसम्म त खाना खाएनन्। ‘प्रेसर बढेर रातभरि पनि सुत्नु भएन रे, छटपटिएको छटपटिएकै रे,’सचिव नेपालीकी म्यामको भनाई उद्धृत गर्दै दिप्तीले भनिन्,‘केही न केही दबाब त आयो होला नि।’

विवाह दर्ताको प्रमाणपत्र दिइसकेपछि १५ दिनको छुट्टीमा बसे सचिव नेपाली। गाउँपालिकाको वडा कार्यालयले धेरै सहयोग गरेको सुनाउँछिन् दिप्ती।

उनीहरूलाई अहिले घर परिवारले मिलेर बस्न आर्सीवाद दिएका छन्। ‘केटा मान्छेसँग भए पनि केटी मान्छेसँग भए पनि लाइफ आफैँले बिताउने हो भन्नुहुन्छ,’सुप्रिताको कुरामा थप्दै दिप्तीले भनिन्,‘हाम्रो झन् त्यही भन्नुहुन्छ, पहिले पनि सँगै बस, झगडा नगर भन्नुहुन्थ्यो।’

अहिले परिवारले कानमा तेल हाले जस्तो आनन्द महसुस भएको सुनाउँदा दुवै खुसीले गदगद् हुन्छन्। ‘विवाह दर्ता नहुँदा छुट्टिने हुन कि भनेर टेन्सन हुन्थ्यो उहाँहरूलाई,’दिप्तीले भनिन्,‘परिवारको टेन्सन साफ भयो।’

उनीहरू भित्रभित्रै लुकेर नबस्न सन्देश दिन चाहन्छन्। ‘आफूले नकमाई परिवारको कमाइमा बस्यो भने गाह्रो हुन्छ,आफ्नो आम्दानीमा उभिन सक्यो भने फेमेलीलाई भन्न पनि सजिलो हुने रैछ,’दिप्तीले भनिन्,‘आफ्नो लाइफ आफैँले अगाडि सार्ने हो।’

समावेशी चरित्र पर्यटन प्रवर्द्धनमा

पन्तले भने समलिङ्गी विवाह दर्ता गरेर नेपालले अन्तर्राष्ट्रिय जगतलाई देखाएको समावेशी चरित्र पर्यटक भित्र्याउने गतिलो माध्यम बन्न सक्ने सम्भावना देखेका छन्। उनले आउँदो अप्रिल २० र २१ तारिखमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘गुलाबी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन’ नेपालमा आयोजना गर्ने चाँजोपाँजो मिलाइरहेका छन्।

मायाको पहिचान नेपाल आयोजक रहेको ‘पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स’मा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि स्थापना भएका संघसंस्थाहरुले उत्सुकता जनाउँदै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइरहेका छन्।

अमेरिका, बेलायत, बङ्गलादेश, भारत, भुटानसहित विभिन्न देशबाट सम्मेलनमा सहभागिता सुनिश्चित भैसकेको छ। पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले पर्यटन प्रवर्द्धनका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको राष्ट्रिय परामर्श सम्पन्न गरिसकेको छ।

मायाको पहिचान नेपालले स्थापनाको वर्ष दिन नपुग्दै समुदायको अधिकारमा सर्वोच्च अदालतमा निजामती सेवामा आरक्षण र समावेशी निर्वाचन ऐन निर्माणका लागि रिट दायर गरिसकेको छ। रिटलाई सर्वोच्चले अग्राधिकार दिएर कारण देखाऊ आदेश जारी गरिसकेको छ।

अधिकार प्राप्तिको अभियानमा हातमा हात मिलाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई मायाको पहिचानले आव्हान गरिरहेको छ। तर, समुदायको नाममा गरेको गलत कामको ढाकछोप गर्न केही व्यक्तिहरू भने नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको विरोध गर्न थालेका छन्।

नेपालको आफ्नो पहिचानमा भन्दा विदेशी पहिचानलाई अँगाल्ने केही व्यक्तिहरू सम्मेलनको विरोधमा लाग्दा समुदायका व्यक्तिहरूले भने सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। लक्षित व्यक्ति चिन्न कठिन नपर्ने गरी सामाजिक सञ्जाल फेसबुकमा कडा र नरम दुवै खालका प्रतिक्रिया पोस्ट भएका छन्।

अब चुप लाग्दैनौ

फेसबुकमा पहिलो समलिङ्गी विवाह दर्ता गरेका पाण्डे लेख्छन्,‘भगवान् गौतम बुद्धले भन्नुहुन्छ काम गर्दै जाँदा अल्झाउने भड्काउने मान्छेहरू धेरै हुन्छन्। कहिले पनि नआत्तिनु सत्यको जहिले पनि जित हुन्छ। किन हो थाहा छ, ती व्यक्तिले आफूले काम गर्न सक्दैनन् अरूले गरेका काममा अल्झाउने भड्काउने गर्छन्।’

त्यही स्ट्याटसमा प्रतिक्रिया जनाउँदै समुदाय सुधारका अभियन्ता देवेन्द्र बहादुर खत्रीले लेखेका छन्,’शरीरका साथै मनमस्तिष्क, बिचार, हेर्ने दृष्टिकोण सबै हिजडा दृष्टि भएकाहरू कातर जसले आफूले माखो मार्न सक्दैनन्,अन्तिममा आउने बिचमा सुत्न खोज्नेहरू,चोर मानसिकता भएकाले हो यस्तो गरेका। आज आएर बाउलाई सिकाउने भए गाँठे घिन आउँछ अब त सम्झेर पनि। गाउँका बापती अहिले आएर संस्थामा सभापति भएर बसेका छन् दाइजोमा आएको पेवा सम्झेर। हिजोको चल्ला आजको माउ भन्ने उखान चरितार्थ भएको छ आज। पीठ पछाडि खच्चड घोच्ने होइन र?’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र काम गर्न नदिने तत्त्वहरू सक्रिय भएर लागेकाले प्रतिकार गर्नु नपरोस् भनेर चेतावनी पनि दिएका छन् उनीहरूले। ‘समुदायको नाममा लुटिखाने भाँडो बन्द होला’ भन्ने चिन्ताले भाँड्न लागेकाहरूलाई उनीहरू सामाजिक सञ्जालमार्फत खबरदारी गरेका छन्। समुदायकै सचेत नागरिकहरूले पन्तको अभियानमा साथ दिएका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि नेपालमा काम गर्ने संस्था एउटा मात्रै छैन। झन्डै चार दर्जन संस्था यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकै लागि भनेर स्थापना भएको समाज कल्याण परिषद्को तथ्याङ्क छ।

अब अहिले पुरानो या नयाँ काम गर्नेलाई विश्वास गर्न थाले पछि गोष्ठी र सेमिनारमा मात्र करोड, करोड खर्च भएको देखाउनेहरू आत्तिएर दातृ निकायसँग हार गुहार गर्न थालेको समुदायका सदस्यहरू बताउँछन्।

यता पन्त भने सरकारसँग अधिकारका लागि फाइट गरिरहेका छन्। समलिङ्गी विवाह दर्ताका लागि सबै स्थानीय तहलाई परिपत्र जारी गराउन सरकारी निकाय धाइरहेका पन्त परिपत्र जारी गराएर विवाह दर्ताका लागि कसैले पनि झन्झट बेहोर्न नपर्ने अवस्था ल्याउन लागिरहेका छन्।

तर, समुदायको अधिकारका लागि भनेर ढोङ पिट्ने केही व्यक्तिहरू भने पन्तको अभियानमा भाँजो हाल्न लागिरहेका छन्। त्यसकै विरोधमा समुदायले सामाजिक सञ्जालबाट चेतावनी दिएका हुन्।

पहिलो समलिङ्गी विवाह दर्ता गरेका पाण्डेले लामो स्ट्याटस लेख्दै ‘अझै पनि समुदाय भड्काउने र आक्षेपहरू लगाएको पाइएमा हामी सम्बन्धित निकायसम्म पुग्ने छौ, यति कुरा हेक्का रहोस्। सधैँभरि तपाईँहरू बोलिरहने हामी चुप रहने अवस्था कतिन्जेलसम्म? अब हामी चुप लाग्दैनौ’ भनेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading