लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

काठमाडौं : उमेरले ४७ वर्ष भएका उमेश पाण्डे जन्मँदा छोरा हुन्। हुर्कँदै जाँदा महिला बन्नका लागि पाण्डेले हर्मोन प्रयोग गरे। स्तन बढाउन बैंककबाट समेत हर्मोन मगाए। नियमित प्रयोग गरे हर्मोन। राम्री हुन मन लागेर हर्मोन प्रयोग गरेको बताउँछन् उनी।

सन् २००८ देखि हर्मोन प्रयोग गरेका उनले अहिले चटक्कै छोडेका छन्। ‘हर्मोन लिन थाले पछि गालामा पोतो आयो, रिस उठ्ने, जिउ दुख्ने हुन थाल्यो,’पाण्डेले भने,‘शरीर दुब्लाउँदै गएपछि एचआइभी भयो भनेर चेक गराए, नेगेटिभ आयो, ढुक्क भए, तर डायबिटिज पो भएछ।’

पुरुष महिला बन्नका लागि हर्मोन थेरापी गर्छन्। जुन स्वास्थ्यकर मानिँदैन। हर्मोन प्रयोगले राम्री बने पनि नराम्रो लाग्ने, झट्टै बिर्सने, खुट्टा पोल्ने, भोक धेरै लाग्ने पाण्डेले बताए। पहिले थाहा नपाएर हर्मोन प्रयोग गरिए पनि अहिले स्वास्थ्यमा समस्या देखिन थालेकाले छोडेको उनले बताए।

समाजमा पारलिंगी महिला र पारलिंगी पुरुष भनेर चिनिन हर्मोन प्रयोग गर्नेदेखि शल्यक्रिया गर्नेसम्म छन्। उनीहरू नै अहिले पश्चात्ताप गरिरहेका छन्। उनीहरू आफ्नो स्वास्थ्यमा आएको समस्या सुनाएर नयाँ जेनेरेसनलाई सुझाव पनि दिइरहेका छन्। ‘जे नगर्नु पर्ने रैछ त्यहीँ गरेर अहिले समस्या भोगिरहनु परेको छ,’नील हिरा समाजको उपाध्यक्ष समेत रहेका पाण्डेले भने,‘अबको जेनेरेसनलाई राम्री महिला (पारलिंगी) बन्न आफूखुसी हर्मोन प्रयोग नगर्न आग्रह गर्छु।’

पश्चिमा देशहरूमा पुरुष र महिलालाई मात्रै स्वीकार गरिएको छ। ट्रान्स (पारलिंगी)लाई अमेरिका जस्तो विकसित देशमा समेत विभेद हुने गरेको छ। त्यसैले पुरुषमा महिलाको फिलिङस आए पारलिंगी महिला र महिलामा पुरुषको फिलिङस आए पारलिंगी पुरुष नै बन्ने गर्छन्।

अमेरिकामा तेस्रोलिंगीमाथि हुने हिंसाका घटनामा सुनुवाइ गरेको सुनेका छैन। ननबाइनरी (आफ्नो पहिचान महिला वा पुरुष दुवै नठान्ने) सनरोज मास्केले अमेरिकामा ल्याब टेस्ट गराएर हर्मोन प्रयोग गरिन्। पारलिंगी महिला बन्नका लागि उनले साढे १ वर्ष हर्मोन लिइन। ‘३ वर्ष नियमित हर्मोन लिनुपर्ने भनेका थिए,’उनले भनिन्,‘मैले साढे १ वर्षमै हर्मोन प्रयोग गर्न छोड्दिए।’

एलिन भण्डारी र सुदिप गौतमले पारलिंगी पुरुष बन्नका लागि शल्यक्रिया गरेर पाठेघर फालिदिए। अहिले हर्मोन प्रयोग गर्नै पर्ने बाध्यतामा छन् उनीहरू। ‘त्यसले स्वास्थ्य समस्या आइरहेको छ, लिनै पर्ने बाध्यता छ,’भण्डारी र गौतमले भने। हर्मोनकै कारण जाडोमा समेत खुट्टा पोल्ने समस्या आउने गरेको सुदिपले सुनाए। ‘रिस उठ्ने, कतै जाऊँ जस्तै नलाग्ने, एक्लै बस्न मन पर्ने हुँदो रहेछ,’यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान र अधिकारका लागि आवाज उठाउँदै आएका गौतमले भने,‘मिडियामा गएर बोल्न पनि फिटिक्कै मन लाग्दैन।’

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

पश्चिमा संस्कृतिको प्रोपोगाण्डामा परेका नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक हर्मोन प्रयोगमा मात्रै लागेका छैनन्, केही केहीले त जटिल शल्यक्रिया नै गरेका छन्। यौनाङ्ग परिवर्तन गरेका २६ जनाले महिलाको नागरिकता लिन गृह मन्त्रालयमा निवेदन दिएका छन्। त्यसमध्ये १० जनाले मन्त्रिपरिषद्को निर्णयबाट महिलाको नागरिकता नै लिएका छन्।

हर्मोन प्रयोग गर्ने र भरखरै आएको नयाँ जेनेरेसनबिच पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले ललितपुर पुलचोकको विकल्प आर्ट फाउन्डेसनमा अनुभव आदान प्रदान गराए। पन्तले आफ्नो इच्छा चाहनामा बाच्न पाउनु पर्ने बताए। ‘अरू देशमा पुरुष र महिलालाई मात्रै स्वीकार गरिन्छ भनेर यहाँ हामी त्यसकै पछि लाग्दा पहिचान नै गुम्न सक्छ,’पन्तले भने,‘यहाँ पुरुष, महिला, तेस्रोलिंगी पुरुष, तेस्रोलिंगी महिला, अन्तरलिंगी पुरुष र अन्तरलिंगी महिला सदियौँदेखि अस्तित्वमा छन्,विदेशमा भएन भनेर त्यही सिको यहाँ गर्नु राम्रो होइन।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले हर्मोन प्रयोग, जटिल शल्यक्रिया गर्दा उत्पन्न शारीरिक समस्या प्रस्तुत गरे। मिस वर्ल्ड बन्ने तयारीमा रहेका समर्पण सभ्य समाज नेपालमा स्वयंसेवक रहेका मौनी महर्जनले हर्मोन प्रयोग गर्नेहरूको कुरा सुने पछि ढुक्क भएको बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू लहैलहैमा लागेर हर्मोन प्रयोग गर्ने मात्रै नभई यौन अङ्ग प्रत्यारोपण गरेर पुरुषबाट पारलिंगी महिला बन्ने धेरै छन्। पुरुषलाई पारलिंगी महिला बन्न अलि सजिलो देखिन्छ।

तर, महिलालाई पारलिंगी पुरुष बन्न जटिल देखिन्छ। विकसित देशहरूमा पुरुष र महिलाको मात्रै अस्तित्व स्वीकार गर्ने ट्रेन्डलाई सदियौँदेखि तेस्रोलिंगीको अस्तित्व स्वीकार गरिएको नेपालमा लाद्न खोज्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान गुम्ने खतरा रोक्न हर्मोन प्रयोग र जटिल शल्यक्रियाबारे छलफल भइरहनु पर्ने पन्तले बताए।

सरकारको रेकर्डमा कोरोना सङ्क्रमित ‘एलजीबीटीआइ’को सङ्ख्या शून्य, ट्रान्समेनको डेथ सर्टिफिकेटमा महिला

लैङ्गिकता शिक्षा : फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading