सरकारको रेकर्डमा कोरोना सङ्क्रमित ‘एलजीबीटीआइ’को सङ्ख्या शून्य, ट्रान्समेनको डेथ सर्टिफिकेटमा महिला

सरकारको रेकर्डमा कोरोना सङ्क्रमित ‘एलजीबीटीआइ’को सङ्ख्या शून्य, ट्रान्समेनको डेथ सर्टिफिकेटमा महिला

काठमाडौँ : ‘म कनट्याक्ट ट्रेसिङमा परे। घरमा भान्जीलाई कोरोना पुष्टि भएपछि आत्तिए। डाक्टरसँगको सल्लाहमा १४ दिनपछि कोरोना परीक्षण गराए। रिपोट आयो नेगेटिभ। म कम्ता खुसी भइन।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका एक सदस्यले व्यक्त गरेको खुसी हो यो।

‘डाक्टरले परीक्षण गरे पनि नगरे पनि कन्फर्म तपाईँमा कोरोना पोजेटिभ छ’ भनेका थिए। डाक्टरको सल्लाह अनुसार नै होम क्वारेनटाइनमा बसे, तर घरधनीले कोरोना पोजेटिभ थाहा पाउने बित्तिकै कोठामा बस्न नदिने भएकाले परीक्षण गराइन।’ उनले भने।

प्रेसर र सुगरका बिरामी थिए नानुमाया मल्ल किरण। नानुमायाको वैशाख २० गते पीसीआर रिपोर्ट पोजेटिभ आयो। उनी २३ गते उपचारका लागि भेरी अस्पतालमा भर्ना भइन। वैशाख २५ गते नानुमायाको मृत्यु भएको भरी अस्पतालका कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए।

को हुन् नानुमाया ‘किरण’?

बर्दिया घर भएकी उनी झन्डै तीन दशकदेखि नेपालगन्जमा घर बनाएर जीवनसाथीसँग बस्दै आएका थिए। ‘समलिङ्गी सम्बन्धमा रहेको २५२६ वर्ष भइसकेको थियो। एकदम मिल्ने राम्रो जोडी थियो,’ किरणलाई नजिकबाट चिन्ने पश्चिम तारा नेपालकी कार्यक्रम संयोजक परिना चौधरीले पहिचानसँग भनिन्,‘किरणकी जीवन साथीलाई पनि कोरोना पोजेटिभ देखिएको छ।’

जन्मँदा छोरी, हुर्कँदै बढ्दै जाँदा पुरुष लैङ्गिक पहिचान। तेस्रोलिंगी पुरुष (ट्रान्समेन) को पहिचानमा उनले महिलासँगै विवाह गरेर बसेकी थिइन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी तेस्रोलिंगी अधिकारकर्मी परिनालाई मातृ शोक परेको छ। उनकी ९० वर्षकी आमा गन्तीदेवी थारुको निधन भएको हो। ‘म अहिले आमाको निधन भएर गाउँको घरमा आएकी छु,‘चौधरीले भनिन्,‘आज त्यही १० ११ दिन भयो होला किरण दाइको कोरोनाका कारण मृत्यु भएको। आमाको दुई दिनपछि मृत्यु भएकाले म गाउँमा आएकी छु।’

नानुमायाको परिवारमा जेठी भाउजू, कान्छो दाइभाउजू र भदैहरू रहेका आफन्त बाँके खजुराका भीम बहादुर शाहीले बताए। ‘बुबा आमा त पहिल्यै बितिसक्नु भएको हो,’ नानुमायाका भदै नि ज्वाइँ शाहीले पहिचानसँग भने,‘नानुमाया महिलासँगै विवाह गरेर नेपालगन्जमा बस्दै आएकी थिइन।’

नानुमायाको कोरोना सङ्क्रमणबाट मृत्यु भए पनि डेथ सर्टिफिकेटमा महिला नै उल्लेख गर्न भनेको भदै नि ज्वाइँ शाहीले बताए। ‘डेथ सर्टिफिकेटमा महिला हो कि, पुरुष हो कि, कि के हो भनेर सोधेका थिए’ शाहीले भने,‘हाउभाउ पहिलेदेखि फरक भए पनि शरीर महिलाकै भएर महिला जनाउन भनेको हुँ।’

तेस्रोलिंगीहरुको अफिसमा जाने गरेको सुनेको बताएका शाहीले अस्पतालले डेथ सर्टिफिकेट दिने बेलामा के हो भनेर सोध्दा अलमलमा परेर महिला नै जनाउन भनेको बताए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक संक्रमित भएको रेकर्ड छैन : स्वास्थ्य मन्त्रालय

बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये जेठ ४ गते साँझसम्म २४५ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये १०४ जना महिला र १४१ जना पुरुष रहेको  जिल्ला कोभिड सङ्कट व्यवस्थापन बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। उनले कोरोनाबाट मृत्यु भएका महिला र पुरुषको मात्रै रेकर्ड रहेको बताए। ‘कोरोना सङ्क्रमणबाट तेस्रोलिंगीको मृत्यु भएको डेथ सर्टिफिकेट आएको छैन,’ उनले पहिचानसँग भने, ‘मृत्यु भएकामा महिला र पुरुष मात्रै छन्।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ ४ गतेसम्मको कोरोना सङ्क्रमितको तथ्याङ्क अनुसार नेपालमा ५ हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। १ लाख १४ हजार ५२९ जना सङ्क्रमित भएका छन् भने ३ लाख ५२ हजार ४१४ जना निको भएर घर फर्केका छन्।

नेपालमा हालसम्म कोरोना सङ्क्रमित भएका ४ लाख ७२ हजार ३५४ जना मध्ये एक जना पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (अन्य लैङ्गिक पहिचान) का व्यक्ति भनेर उल्लेख गरिएको छैन। स्वास्थ्य मन्त्रालयको वैशाख ४ गतेसम्मको रेकर्डमा अन्य पहिचान भएका व्यक्ति कोरोना सङ्क्रमित भएका छैनन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला र पुरुषको मात्रै रेकर्डमा रहेको बताए। उनले पहिचानसँग भने,‘महिला र पुरुष बाहेक अन्य रेकर्डमा आएको मलाई लाग्छ छैन।’

कोरोना सङ्क्रमितको तथ्याङ्कमा महिला र पुरुषको मात्रै रेकर्ड रहँदा केन्द्रीय तथ्याङ्क विभागले यो समुदायका व्यक्तिको ‘अन्य’ लैङ्गिक पहिचानमा जनगणना गर्दैछ। तथ्याङ्क विभागले महिला, पुरुष र अन्य लैङ्गिक पहिचान जनाउने फारम बोकेर गणकहरूलाई खटाउँदै छ। घरको मुली मान्छेबाट लिइने तथ्याङ्कमा यो समुदायका व्यक्तिको वास्तविक तथ्याङ्क आउँला? बाँके जानकी गाउँ पालिका ३ का ५५ वर्षका नानुमाया मल्ल (किरण)को मृत्यु प्रमाणपत्रमा जनाइएको लैङ्गिक पहिचानले प्रश्न उठाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading