व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

काठमाडौँ : परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका लागि हर्मोन क्लिनिक सञ्चालन गरेको एक वर्ष भएको छ। जन्मँदा पुरुष फिलिङस महिलाको भएका वा जन्मँदा महिला फिलिङस पुरुष भएकाहरू सङ्घको हर्मोन क्लिनिकमा पुग्ने गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले फिलिङसका आधारमा हर्मोन लिने गरेको सङ्घले जनाएको छ। सङ्घको क्लिनिकमा डा. सुनिल पोखरेल, स्मिता कर्माचार्यले हरेक सोमबार हर्मोन लिन आउने समलिङ्गी तेस्रोलिंगीलाई सेवा दिँदै आएका छन्।

सङ्घमा नील हिरा समाज र मितिनी नेपालले एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई जागिर समेत दिएका छन्। क्लिनिकमा दारी, जुँगा फाल्ने (हेयर रिमुभ) गर्ने काम समेत हुँदै आएको छ। ‘दिनमा २/३ जना समलिङ्गी तेस्रोलिंगी हर्मोन क्लिनिकमा आउने गरेका छन्,’हेयर रिमुभ सेवा दिँदै आएकी एक कर्मचारीले पहिचानसँग भनिन्,‘कहिले काहीँ ६/७ जनासम्म आउने गरेका छन्।’

हर्मोन लिन पुग्नेहरूलाई सङ्घ संस्था एवं डोनरको सहयोग भएमा निःशुल्क सेवा दिइने गरिएको छ। ‘निःशुल्क सेवा लिनका लागि सङ्घसंस्था या डोनरको सहयोग हुने गरेको छ,’उनले भनिन्,‘सहयोग नहुनेका लागि शुल्क लिने/नलिनेबारे थाहा भएन।’

जन्मँदा पुरुष भएकाहरू महिला देखिन दारी, जुँगादेखि शरीरका बाहिर देखिने रौँ उखेल्न सङ्घको हर्मोन क्लिनिकमा पुग्ने गरेका छन्। हर्मोन क्लिनिक सञ्चालन गर्न परिवार नियोजन सङ्घले एक वर्षअघि काभ्रेको धुलिखेलमा नील हिरा समाज, मितिनी नेपाल सहितका संस्थासँग छलफल गरेको थियो। उक्त छलफलको समाचार पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोला।

यो पनि पढ्नुहोस : हर्मोन क्लिनिक सञ्चालनको प्रयास

परिवार नियोजन सङ्घले चिकित्सकको निगरानीमा ल्याब टेस्ट गरेर मात्र हर्मोन दिने गरेको प्रष्टीकरण दिएको छ। ‘डाक्टरको निगरानीमा कसलाई के हर्मोन दिन आवश्यक छ, ल्याब टेस्ट गरेर मात्र दिने गरेको छ,’सङ्घले भन्यो,‘जथाभाबी दिने गरेको छैन।’

सङ्घले सेवाग्राहीलाई प्राथमिकतामा राखेर गुणस्तरीय सेवा प्रदान गर्दै दाबी पनि गरेको छ। नील हिरा समाज र मितिनी नेपालसँग राम्रो समन्वय रहेको बताएको छ। नील हिरा समाज र मितिनी नेपाल सेवा दिने नभई सङ्घको उपभोक्ता मात्रै भएको जनाएको छ।

सङ्घले सेक्स चेन्ज गर्ने काम नहुने बताउँदै काउन्सिलिङ, लेजर र हर्मोन सेवा मात्रै प्रदान गर्दै आएको प्रष्टीकरण दिएको हो।

पहिचान डटकमले आधिकारिक स्रोतबाट पुष्टि गरेर प्रकाशन गरेको समाचारमा नील हिरा समाज र मितिनी नेपालले भने आपत्ति जनाएका छन्। उनीहरूलाई व्यक्तिको स्वास्थ्य भन्दा पनि अभियान रोकिने चिन्ता देखिएको छ। उनीहरूले समाचार प्रकाशन गर्दा आफूहरूसँग स्वीकृति लिनुपर्ने हास्यास्पद तर्क समेत गरेका छन्।

हर्मोन क्लिनिक सञ्चालन भइरहेको पुष्टि हुँदा समेत नील हिरा समाज र मितिनी नेपाल भने गलत कामको ढाकछोप गर्न पूर्वस्वीकृति लिनुपर्ने भनेर मिडियालाई नै धम्क्याउने प्रयासमा लागेका छन्।

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

समाजकी अध्यक्ष पिंकी गुरुङ र मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले निकालेको खण्डनमा ‘नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २९ करोड’ शीर्षकमा रहेको समाचारमा नील हिरा समाज, मितिनी नेपाललाई समेत समावेश गरी जबरजस्ती हर्मोनको प्रयोग गर्न नेपाल परिवार नियोजन सङ्घलाई सिफारिस गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँछौँ’ लेखिएको छ।

यो पनि पढ्नुहोस : लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने भन्ने भ्रामक र अतिरञ्जित कुराले सरकार र समाजमा भ्रम सृजना गरी समुदायलाई हेर्ने दृष्टिकोण नकारात्मक बनाउन सक्ने र अभियानमा नकारात्मक असर पर्ने हुनाले, आगामी दिनमा समाचार सम्प्रेषण गर्दा तथ्य सत्य बिना जानकारी र स्वीकृति नलिई समाचार सम्प्रेषण नगर्न भनेर स्वतन्त्र प्रेसको अधिकार कुण्ठित गर्ने प्रयत्न गरेका छन्।

सत्य, तथ्य समाचारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्ने कुतर्क समेत उनीहरूले गरेका छन्। हर्मोन लिइरहेकाहरूले स्वास्थ्यमा विभिन्न समस्या आइरहेको बताइरहँदा परियोजनामुखी, व्यक्तिवादी अभियान सञ्चालन गरिरहेका यी संस्थाले भने हर्मोन लिन उक्साइरहेको पुष्टि समेत भएको छ।

त्यसो त जनगणना रोकेर सर्वे गर्ने काममा दाता खोजेका यिनै संस्थाहरूको यस्तै गलत कामका कारण अर्थ मन्त्रालयमा एसियाली विकास बैङ्कको २७ करोड अनुदान रकम रोकिएको समेत उनीहरूले गरेको यस्तो खण्डनबाट प्रस्ट समेत भएको छ।

यो पनि पढ्नुहोस : नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड

खण्डन यस्तो छ :

विषय: ˶नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २९ करोड˶ शीर्षकमा मितिनी नेपाल र नील हिरा समाज को खण्डन सम्बन्धमा।

उपयुक्त सम्बन्धमा यहाँको पहिचान मिडिया प्रा.लि मा मिति २०८० असोज ११ गते प्रकाशित नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २९ करोड शीर्षकमा रहेको समाचारमा नील हिरा समाज, मितिनी नेपाल, लाई समेत समावेश गरी जबरजस्ती हर्मोनको प्रयोग गर्न नेपाल परिवार नियोजन सङ्घलाई सिफारिस गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँछौँ । निम्न अभिव्यक्तिहरूप्रति नील हिरा समाज र मितिनी नेपालको गम्भीर आपत्ति रहेको छ। यो समाचार कुनै आधिकारिक श्रोतमा आधारित नभई लेखिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

१.विदेशमा मानव स्वास्थ्यमा असर पर्ने पुष्टि भएको हर्मोन नेपालको परिवार नियोजन सङ्घले उपलब्ध गराइरहेको छ। नील हिरा समाज, मितिनी नेपाल सहितका संस्थाको स्वीकृति लिएर परिवार नियोजन सङ्घले हर्मोन क्लिनिक सञ्चालन गरिरहेको छ।

महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने भन्ने भ्रामक र अतिरञ्जित कुराले सरकार र समाज मा भ्रम सृजना गरी समुदायलाई हेर्ने दृष्टिकोण नकारात्मक बनाउन सक्ने र अभियानमा नकारात्मक असर पर्ने हुनाले, आगामी दिनमा समाचार सम्प्रेषण गर्दा तथ्य सत्य बिना जानकारी र स्वीकृति नलिई समाचार सम्प्रेषण नगर्न हुन अनुरोध गर्दछौ।

बोधार्थ

१. प्रेस काउन्सिल नेपाल।

निवेदक:

नाम/पद संस्था

लक्ष्मी घलान, अध्यक्ष मितिनी नेपाल

पिंकी गुरुङ, अध्यक्ष नील हिरा समाज

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading