मोदीको भुटान भ्रमणमा शरणार्थीको खुल्ला पत्र

मोदीको भुटान भ्रमणमा शरणार्थीको खुल्ला पत्र

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानको राजकीय भ्रमण गर्ने भएका छन्। बिहीबार र शुक्रवार दुई दिन हुने भनिएको भ्रमण भने मौसमका कारण स्थगित भएको छ।

तत्कालका लागि अर्को मिति तय नगरी स्थगित भएको मोदीको अब हुने राजकीय भ्रमणका क्रममा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग भेटवार्ता गर्ने र भुटानी शरणार्थी समस्यकाबारेमा कुरा राख्ने अपेक्षा भुटानी नागरिकहरुले गरेका छन्।

छिमेकी पहिलो नीतिलाई प्राथमिकता दिएका मोदीले भ्रमणका क्रममा शरणार्थी समस्या समाधानमा छलफल गर्ने आशा भुटानी नागरिकहरूले गरेका छन्। भ्रमणका क्रममा भारत र भुटानबीच द्विपक्षीय र क्षेत्रीय चासोका विषयमा समेत छलफल हुनेछ।

मोदीले भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि वार्ता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मोदी राजकीय भ्रमणमा भुटान जाने भएपछि भुटानी नागरिकहरूले शरणार्थी समस्या समाधानका लागि खुल्ला पत्र पठाएका छन्।

भ्रमणका क्रममा भारतमा रहेका करिब २५ हजार भुटानीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गर्दै भुटानका राजबन्दी रिहाइका लागि विश्वव्यापी अभियानका संयोजक राम कार्कीले मोदीलाई खुल्ला पत्र लेखेका हुन्।

मोदीलाई विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक प्रधानमन्त्रीको रूपमा चित्रण गर्दै अभियानले छिमेकी–पहिलो नीतिले तत्काल मानवीय समस्याको सम्बोधन गर्न सक्ने भनेको छ। शरणार्थी समस्या भुटानको मात्रै नभई भारतको पनि हितमा रहेकाले परिबारबीचको पुनर्मिलनको कार्यक्रमलाई प्राथमिकता दिन अभियानले आग्रह गरेको छ।

भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)

अभियानका संयोजक कार्कीले नेदरल्याण्ड्सको हेगबाट लेखेको खुल्ला पत्रमा नेपाल–भुटानबीच भएको द्विपक्षीय वार्ताका क्रममा १५ औँ चरण छलफल भए पनि सम्मानजनक रूपमा स्वदेश फिर्ता हुन नसकेको भन्दै मोदीले यस विषयमा थप चासो राख्ने विश्वास गरिएको छ।

विश्वका विभिन्न आठ ओटा विकसित देशहरूमा शरणार्थीहरू पुनर्वास भए पनि भारतमा २५ हजार र पूर्वी नेपालमा ७ हजार बढी अझै पनि सहायता प्राप्त शिविरहरूमा बसिरहेकोले उनीहरूको तत्काल स्वदेश फिर्ती हुनुपर्ने माग अभियानले गरेको छ।

भुटानमा सन् २००८ मा संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र लागू भए पनि देशका विभिन्न कारागारमा अझै पनि सयभन्दा बढी राजनीतिक बन्दीहरू रहेका छन्।

ह्युमन राइट्स वाचले भुटानको विभिन्न कारागारमा दशकौँदेखि रहेका ३७ भुटानी राजनीतिक बन्दीहरूको प्रमाणीकरण गरेको छ भने उनीहरूलाई तत्काल रिहा गर्न समेत माग गरेको छ।

हालै रिहा भएका राजनीतिक बन्दी मधुकर मङ्गरले चेम्गाङ केन्द्रीय कारागारमा रहेका राजनीतिक बन्दीहरूको अवस्था पीडादायी रहेको बताएका छन्। लोकतान्त्रिक परिवर्तन र मानव अधिकारको माग गर्दा उनीहरू सन् १९९० देखि २००८ सम्म पक्राउ परेका थिए।

आजीवन कारावासको सजाय भोगिरहेका पाँच जना राजनीतिक कैदीहरू डम्बरसिंह पुलामी, गोविन्द निरौला, ओमनाथ अधिकारी, नन्दलाल बस्नेत र सानमान गुरुङ यातना र उचित उपचारको अभावका कारण लामो समयदेखि बिरामी परेका मङ्गरले जानकारी दिएको अभियानले मोदीलाई लेखेको खुल्ला पत्रमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

भुटानी शरणार्थी : समाधान गर्न ग्लोबल अभियानले गर्‍यो अपिल

युरोपियन युनियनलाई भुटानी शरणार्थीको पत्र : जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिनु

‘नक्कली भुटानी शरणार्थी बनाइने प्रपञ्चले सक्कलीको जीवन कष्टप्रद’

भुटानी शरणार्थी : प्रधानमन्त्रीको कुरा नक्कली, पीडामा सक्कली

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading