भुटानी शरणार्थी : समाधान गर्न ग्लोबल अभियानले गर्‍यो अपिल

भुटानी शरणार्थी : समाधान गर्न ग्लोबल अभियानले गर्‍यो अपिल

काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई क्लिन चिट दिने आशा भुटानको प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूले गरेका छन्।

भुटानमा राजनीतिक बन्दीहरू रिहाइका लागि ग्लोबल अभियान (जीसीआरपीपी) ले विज्ञप्ति निकालेर भनेको छ,‘नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू माझ भुटानी शरणार्थीको नाममा हुने आपराधिक गतिविधिको आभास भई ‘ह्वाइटलब्लोअर’ बन्ने बलियो पहलका कारण उनी झुटो आरोपमा मुछिएका थिए,’विज्ञप्तिमा लेखिएको छ,‘जीसीआरपीपीबी नेपालको न्यायपालिकामा आफ्नो पूर्ण विश्वास व्यक्त गर्न चाहन्छ र रिजाललाई अन्ततः क्लिन चिट दिनेछ भन्नेमा पूर्ण आशा गर्दछ।’

नेदरल्याण्ड्सको हेगमा सन् २०१९ मा गठन भएको अन्तर्राष्ट्रिय अभियानले नेता रिजाल निर्दोष रहेको विश्वास गरेको छ। अभियानले रिजाल भुटानी शरणार्थी आन्दोलनका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेता भएको विज्ञप्तिमा उल्लेख गरेको छ। उनी भुटानका पूर्व हाई प्रोफाइल राजनीतिक कैदी थिए। उनको गिरफ्तारीले आन्दोलनको मनोबल घटेको अभियानले उल्लेख गरेको छ।

भुटानी शरणार्थी : दीर्घकालीन समाधानमा दबाब

रिजाल धरौटीमा रिहा भएसँगै अभियानका संयोजक राम कार्कीले भुटानी शरणार्थी आन्दोलन पुनर्स्थापना भएको आशा गरेका छन्। उनले नेपाल सरकार र यूएनएचसीआरलाई शरणार्थीहरूको चाहना अनुसार स्वदेश फिर्ता, पुनर्वास र स्थानीय एकीकरणलाई सक्रिय र कार्यान्वयन गरेर भुटानी शरणार्थी समस्या समाधान गर्ने कार्यलाई तीव्रता दिन भनेका छन्।

अभियानले समाधान नभेटिएसम्म शिविरमा रहेका वास्तविक भुटानी शरणार्थीहरूलाई स्वास्थ्य र शिक्षा सुविधाहरू सहित पर्याप्त राहत सामग्रीहरू उपलब्ध गराउन राहत एजेन्सीहरूलाई अनुरोध पनि गरेको छ।

नेपालमा नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका अधिकारवादी नेता तथा एमनेस्टी इन्टरनेसनलका पूर्व कैदी रिजाल धरौटीमा रिहा भएका छन्।

उच्च अदालत पाटनको आदेशमा काठमाडौं जिल्ला अदालत र सम्पत्ति शुद्धीकरण विभागमा धरौटी बुझाएर रिजाल बुधवार रिहा भएका हुन्। अभियानका संयोजक कार्कीले रिजालको मुद्दामा बहस गर्ने कानुन व्यवसायी राजकुमार सुवाल र उनको टोलीलाई धन्यवाद दिएका छन्।

नेता रिजालको अवस्थाप्रति निरन्तर चासो देखाएर रिहाइमा सहयोग गर्ने शुभचिन्तकहरू, नागरिक समाजका अगुवाहरू, नेपालका मानवअधिकारकर्मीहरू, पत्रकारहरू, सञ्चारमाध्यमहरू र सबैलाई अभियानले धन्यवाद दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading