अमेरिकी कम्पनी कोटिभिटीको कर छली सामसुम पार्न लगानी नआउने धम्की

अमेरिकी कम्पनी कोटिभिटीको कर छली सामसुम पार्न लगानी नआउने धम्की

काठमाडौं : राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा मुद्दा दायर गरेपछि अमेरिकी लगानीमा सञ्चालित कम्पनीहरू शक्ति केन्द्र धाउन थालेका छन्।

अमेरिकी लगानीबाट नेपालमा सञ्चालित ५० वटा कम्पनीहरूको एसोसिएसन अमेरिकी चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटेर कर नीतिमा स्थायित्वको माग गरेका छन्।

५ अर्ब १८ करोड कर छली गर्ने अमेरिकी आइटी कम्पनी कोटीभिटीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले अर्थमन्त्री पुनसँग कर नीतिमा स्पष्टता मागेका हुन्।

अमेरिकी चेम्बरका प्रतिनिधिहरूले कोटीभिटीविरुद्धको मुद्दाका कारण लगानीको वातावरण बिग्रने चेतावनी समेत दिएका छन्। कोटीभिटीको नाम नलिए पछि बचाउमा लाग्न अर्थमन्त्री पुनलाई चेम्बरका प्रतिनिधिले दबाब नै दिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

अमेरिकी चेम्बर कमर्सले नेपालको आइटी क्षेत्रमा लगानी भित्र्याउन सम्मेलनको तयारी गरिरहँदा कोटीभिटीको कर छली बाहिरिएकाले समस्या परेको अर्थमन्त्रीसँग गुनासो गरेको छ। ‘ठ्याक्कै कोटीभिटीको बारेमा कुरा गरेनौ,’अमेरिकी चेम्बरका अध्यक्ष निर्मलकाजी श्रेष्ठले भने,‘तर कर नीतिमा क्लियारिटी चाहेको कुरा राख्यौँ।’

राजश्व अनुसन्धान विभागले १० अर्ब बिगो दाबी गरेको कोटीभिटीको कर छलीमा उच्चपदस्थहरूकै संलग्नता रहेको विभागले दाबी गरेको छ। जोगिनका लागि उच्चपदस्थहरू मिडिया ट्रायलमा समेत विभागका अधिकारीले बताएका छन्।

भ्रष्टाचारमा उच्चपदस्थहरूको लर्को, जोगिन मिडिया ट्रायल

अमेरिकी चेम्बर अफ कमर्सले भने शक्ति केन्द्रमा पुगेर कोटीभिटीका कारण नेपालमा आउन लागेको लगानी अन्तै जान सक्ने चेतावनी दिएको छ। कोटिभिटीको जस्तै काम गर्ने गरी अर्को कम्पनी खडा गरी उम्कने प्रयासमा लागेको अमेरिकी कम्पनी जोगाउन चेम्बरका प्रतिनिधिहरूले अर्थमन्त्रीसँग गुहार मागेका हुन्।

चेम्बरका अध्यक्ष श्रेष्ठले भने आफूहरू दबाब दिनेमा नलागेको बताउँछन्। ‘कोटिभिटीको अदालतमा मुद्दा परेको छ, त्यो अदालतको विषय भयो,’उनले पहिचानसँग भने,‘नेपाल सरकारको अस्थिर कर नीतिलाई स्थायित्व दिनु पर्‍यो भन्ने हो,आज १३ प्रतिशत भ्याट नलाग्ने भन्ने र भोलि पल्ट भ्याट लाग्ने भन्दा लगानीकर्ता भाग्ने देखिएको छ।’

अर्थमन्त्री पुनको सचिवालयले भने नेपालले आइटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको र सरकारले त्यसबारे सोचिरहेको जवाफ दिएको जनाएको छ। ‘हाम्रोजस्तो भू–परिवेष्ठित मुलुकका लागि अन्य उत्पादनको बाह्य बजार खोज्नुभन्दा सजिलो आइटी प्रोडक्टको उत्पादनको बजार खोज्न हुन्छ’, पुनले भने, ‘आइटी सेक्टरको प्रवर्द्धनका लागि नीतिगत निरन्तरता हुने गरी काम गर्छौँ।’

उनले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए। अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले भने, ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो,सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौँ भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ।’

कर छली गरेको अमेरिकी कम्पनीको अर्को बदमासी, खारेजी रोक्न निवेदन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.