भ्रष्टाचारमा उच्चपदस्थहरूको लर्को, जोगिन मिडिया ट्रायल

भ्रष्टाचारमा उच्चपदस्थहरूको लर्को, जोगिन मिडिया ट्रायल

काठमाडौं : भ्रष्टाचारीलाई जतिसुकै किरा परोस् भनेर सत्तोसराप गरे पनि उच्चपदस्थहरू लर्को लागेर भ्रष्टाचारमा संलग्न भएको पाइएको छ। नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, बाँसबारी छालाजुत्ता, वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारमा उच्चपदस्थहरूको लर्को लागेको हो।

उच्च पदस्थकै संलग्नतामा राज्यलाई हानी नोक्सानी हुने गरी ५ अर्ब १८ करोड भन्दा बढी कर छल्ने अमेरिकी कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा नै दायर भएको छ। राजश्व अनुसन्धान विभागले नेपालमा कर छल्ने अरू एक सय भन्दा बढी कम्पनीहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

उच्चपदस्थहरूको नाम जोडिने डरले केही उच्चपदस्थहरू मिडिया ट्रायलमा समेत लागेको विभागले दाबी गरेको छ। यस प्रकरणमा धेरै ठुलाको हात रहेकाले नै यो विषय बाहिर आएको विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले जानकारी दिए।

उच्चपदस्थ नै संलग्न भएर नेपालको राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको वाइड बडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइड बडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वपर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

भन्सार विभागको महानिर्देशक हुँदै अर्थ मन्त्रालयको सचिव समेत भएका शिशिरकुमार ढुङ्गाना अर्का पूर्वसचिव शङ्कर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारले पनि विमान खरिदमा भ्रष्टाचार गरेका छन्।

भ्रष्टाचार गर्ने पूर्वपर्यटनमन्त्री शाही कर्णाली प्रदेशका बहालवाला प्रदेशसभा सदस्य र पूर्वमुख्यमन्त्री समेत हुन्। मुद्दा दायर भए लगत्तै शाही निलम्बनमा परेका छन्। उनी पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा काँग्रेसबाट पर्यटनमन्त्री बनेका थिए।

वाइड बडी खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछानेलाई पनि अभियुक्त बनाइएको छ।

वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा, ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाहलगायतलाई पनि प्रतिवादी बनाइएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले २४ जना नेपाली र ८ जना विदेशी विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए।

संसद्को सार्वजनिक लेखा समितिले वाइड बडी खरिदमा दोषी ठहर्‍याएका अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आफ्नो हात जगन्नाथ भने जस्तै आफैँलाई क्विन चिट दिएका छन्।

आफैँलाई क्विन चिट दिएका राई नेतृत्वको अख्तियारले जहाज खरिदमा दोषी ठहर्‍याएका तत्कालीन पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई पनि उन्मुक्ति दिएको छ।

यो समेत एक वर्षको अवधिमा पूर्वसभामुख कृष्णबहादुर महरा, तीन जना पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँण र जीवनबहादुर शाही भ्रष्टाचारमा मुछिएका छन्। सुन तस्करीमा मुछिएका महरा हाजिरी जमानीमा र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण धरौटी बुझाएर रिहा भएका छन्।

नक्कली शरणार्थी प्रकरणका प्रतिवादी पूर्वमन्त्री रायमाझी पुर्पक्षका लागि थुनामै छन्। निलम्बित सचिव टेकनारायण पाण्डे पनि नक्कली शरणार्थी प्रकरणमा थुनामा छन्। ललिता निवास प्रकरणका आरोपी पूर्वमन्त्री विजयकुमार गच्छेदारले विशेष अदालतबाट उन्मुक्ति पाएका छन्।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेका नेपालका एक मात्र अर्बपछि व्यवसायी विनोद चौधरीमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading