श्रमाधान योजना घोषणा : श्रम सम्बन्धी कानुन सबैले जानुन्

श्रमाधान योजना घोषणा : श्रम सम्बन्धी कानुन सबैले जानुन्

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ। बुधवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा श्रमाधान योजनाको घोषणा गर्दे श्रम मन्त्री डोल प्रसाद अर्यालले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धार प्रणालीबाट समाधान गर्ने बताए। ‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरेको छ। तर, यसको काम सीमित भयो। त्यसैले वृहत् रूपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरूसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएका छन्। इन्द्रेणीका सात रङ्गहरूसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरूलाई एक विशेष रङसँग जोडिएको छ। जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिविम्बित पनि गर्छ।

श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङग’ कार्यक्रम रहेको छ। जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा काम गर्ने मन्त्री अर्यालले बताए। दोस्रोमा ‘रोजगार बैङ्क’ रहेको छ। यसले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ। तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानताको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए। जसमा विशेष समुदायलाई प्राथमिकता दिइने छ।

श्रमिक दिवस : कामबाटै वञ्चित (भिडियो)

चौथोमा ‘ल’ कार्यक्रम छ। यस कार्यक्रम मार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ। श्रम सम्बन्धी कानुन सबैले जानुन् भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए। अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ। विश्व बजारको श्रमसँग नेपालको श्रमिकलाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य रहेको छ।

अर्को ‘साथ’ कार्यक्रम रहेको छ। यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ। त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा सङ्कलन गरी सम्बन्धित निकायमा पुराएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रूपमा सञ्चालनमा ल्याइनेछ। पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री अर्यालले बताए।

श्रमाधान योजनाका सात क्षेत्र कार्यक्रम :

सेकेन्ड इनिङग ‘अवकाश पछिको आरम्भ’

श्रमाधान सेकेन्ड इनिङगमा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरूको सीप, श्रम र अनुभवलाई पुन ः सक्रिय बनाउन मद्दत गर्ने एक विशेष पहल हो। यस कार्यक्रमले सेवानिवृत व्यक्तिहरूलाई आफ्नो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरूमा संलग्न हुन सहयोग पुर्‍याउने छ।

रोजगार बैक ‘पेसागत यात्राको सहयात्री’

श्रमाधान रोजगार बैङ्कको उद्देश्य रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र वृहत् प्रतिनिधित्व गर्दे रोजगारीका अवसरहरूलाई व्यापक बनाउनु हो। यस कार्यक्रमले श्रमिकहरूलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्छ।

समता ‘विविधताको एकता श्रममा समता’

श्रम क्षेत्रमा लैङ्गिक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मूलधारमा आउन नसकेको नागरिकहरूको पहिचान गर्दे श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्देश्य श्रमाधान समता कार्यक्रमको छ। यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्छ।

ल ‘श्रम सम्बन्धी कानुन सबैले जानुन्’

श्रमाधान ल श्रमिकहरूलाई उनीहरूका कानुनी अधिकारहरू र कर्तव्यहरू बुझाएर श्रमको यात्रामा कानुनी रूपमा सुरक्षित बनाउने कार्यक्रम हो। यस कार्यक्रमले श्रमिकहरूलाई श्रम कानुनका विभिन्न पक्षहरूमा सुसूचित गराई भविष्यमा हुन सक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ। यो कार्यक्रम विशेष गरी श्रमिकहरूको कानुनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरूलाई सहजतापूर्वक समाधान गर्न मद्दत पुराउने ध्येयका साथ ल्याइएको हो।

कनेक्ट ‘भोलिको तयारी, आजैबाट’

विश्व श्रम बजारको हरेक दिन बदलिँदो छ। यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प छैन। ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधतासँग जोड्न श्रमाधान कनेक्ट कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरी रहेका नेपाली श्रमिक र गैर आवासीय नेपालीहरूलाई एउटै धागोमा जोडेर नेपालीहरूको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ।

साथ ‘हामी छौ’

श्रमाधान साथ देश भित्र र विदेशमा काम गर्ने श्रमिकहरू र उनीहरूका परिवारहरूको मानसिक स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखी बनाइएको कार्यक्रम हो। यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र सांस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न केन्द्रित हुनेछ।

कल सेन्टर ‘समस्याहरूको सम्बोधन तुरुन्तै’

श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट सङ्कलन गरी सम्बन्धित निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो।

श्रमाधानले श्रमिकको समस्या समाधानको प्रक्रिया :

कुनै पनि श्रमिकले श्रमाधानमा विभिन्न माध्यमबाट कल गर्नेछन्। कल सेन्टरले समस्याको वर्गीकरण अभिलेखीकरण, सहजीकरण र स्थानान्तरण गर्नेछन्। कल सेन्टरले श्रमिकको समस्याको आधारमा सम्बन्धित निकाय जस्तै, वैदेशिक रोजगार विभाग, श्रम विभाग, सामाजिक सुरक्षा कोष, व्यावसायिक प्रशिक्षण केन्द्र लगायतका अन्य निकायका फोकल पर्सनसम्म पुराउने छन्।

पहिलो चरणमा

श्रमाधान योजना क्रमिक रूपमा कार्यान्वयन हुँदै जानेछ। पहिलो चरणमा श्रमाधान कल सेन्टर हप्ताको सात दिन नै २४ घण्टा उपलब्ध हुनेछ। समस्या समाधानका लागि कल सेन्टरले सम्बन्धित निकायका फोकल पर्सनसम्म पुराउनेछन्। त्यस्तै कल सेन्टरमा मिसकलमा आएको अवस्थामा पनि कल ब्याक गरिनेछ।

दोस्रो चरणमा

त्यस्तै गरी दोस्रो चरणमा विदेशमा आधारित एसआईपि लाइन, आईभिआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याइनेछ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.