निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

उपेन्द्रको योजना चकनाचुर, राई नेतृत्वमा नयाँ दल दर्ता

उपेन्द्रको योजना चकनाचुर, राई नेतृत्वमा नयाँ दल दर्ता

278
SHARES

काठमाडौं : अनन्त गठबन्धन तोडेर प्रधानमन्त्री बन्ने उपेन्द्र यादवको सपना चकनाचुर भएको छ। यादवको प्रधानमन्त्री बन्ने योजनालाई अशोक राई नेतृत्वले पार्टी फुटाएर चक्मा दिएको छ। अमेरिकाबाट फर्कँदा नफर्कँदै यादवको पार्टी दुई चिरा भएको छ।

राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता नै दिएको छ। निर्वाचन आयोगबाट दर्ता भएको दलको चुनाव चिह्न कस्सिएको मुठी राखिएको छ।

यादव नेतृत्वको पार्टी फुटाएर आयोगमा नयाँ दल दर्ताका लागि राई सहित ७ जनाले दिएको निवेदन जाँचबुझ पछि आयोगले प्रचलित सङ्घीय कानुन पालना गर्ने सर्तमा नयाँ दललाई मान्यता दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए।

दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर आयोगले दल दर्ता गरेको जनाएको छ। यो सँगै नेपालमा राजनीतिक दलहरूको सङ्ख्या १०९ पुगेको छ।

जसपा दुई टुक्रा, उपेन्द्रलाई सर्प्राइज

दल दर्ता पश्चात् आयोगको दल दर्ता किताबमा उक्त दलको अभिलेखीकरण समेत भएको छ। आयोगले दल दर्ताको जानकारी र प्रमाणपत्र जनता समाजवादी पार्टीलाई दिएको छ।

सङ्घीय संसद् सचिवालय, सबै प्रदेश सभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचनको कार्यालयलाई जानकारी सहितको पत्र पठाएको आयोगले जनाएको छ।

जसपा यादव पक्षले भने ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने बताएको छ। प्रवक्ता मनीष सुमनले विज्ञप्ति निकालेर हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उल्लेख गरेका छन्।

अशोक राईले भने माधव नेपाल नेतृत्वको पार्टीले गठबन्धन ढाल्न खोजेपछि नयाँ दल दर्ता गरेको भन्ने आरोपको भने प्रतिवाद गरेका छन्। आफ्नो पार्टी आन्तरिक कारणले विभाजन भएको बताउँदै उनले कुनै पार्टीहरूसँग एकीकरण गर्ने पक्षमा नरहेको दाबी गरेका छन्।

नेकपा एकीकृत समाजवादीले भने जसपा विभाजन राष्ट्रियतामाथि कमजोर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेको छ। संसदीय दलको बैठकमा बोल्दै नेता शेरबहादुर कुँवरले पार्टी फुटाउने काम निन्दनीय भएको बताए।

समाचार शेयर गर्नुहोस्
278
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.