नेपालको घ्यू जापान निर्यात

नेपालको घ्यू जापान निर्यात

विराटनगर : विराटनगरमा रहेको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात हुन थालेको छ। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा इन्डष्ट्रिजले घ्यू जापान निर्यात गर्न सुरु गरेको हो।

इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको छ। मन्त्रालयका सचिव लेखनाथ दाहालले घ्यू निर्यातलाई निरन्तरता दिन उद्योगलाई अनुरोध गर्दै मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताए।

उद्योगले जापानको एक निजी कम्पनी सँग एक वर्षमा ५० हजार केजी घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको जानकारी उद्योगका सञ्चालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोज कुमार यादवले जानकारी गराए।

सम्झौता पत्र अनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपैयाँको ५ हजार केजी परम घ्यू सहित चिउरा, चियारंग, मह जापान पठाउनेछ। उद्योगले घ्यू जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घ्यूमा १ सय २० रुपैयाँ अनुदान दिने मुख्य मन्त्री हिक्मत कार्कीले बताए।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालले वार्षिक ३ अर्ब निर्यात हुने कोशी प्रदेशको मौलिक उत्पादन छुर्पी उत्पादनलाई राज्यले प्रोत्साहन गर्न र प्याटर्न राइट लिन पहल गरिदिन मुख्य मन्त्री कार्की र सचिव दाहाललाई आग्रह गरे।

विगत दुई वर्ष यता दूध तथा दुग्ध पदार्थको उपभोग कम भएर स्टक रहँदा नेपाल डेरी एसोसिएसन बजार खोज्ने क्रममा बङ्गलादेश, श्रीलङ्का, तिब्बत, भुटान लगायतका ठाउँमा पुगेको थियो। तर लागत बढी र बार्‍है महिना बराबर परिणाम पुर्‍याउन नसक्ने कारण अलमलिएर बसेको दाहालले उल्लेख गरे।

नेपाली बजारमा परम घ्यू प्रति केजी मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ। विराटनगरका स्थानीय अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका थिए। साढे ६ कट्ठा क्षेत्रफल जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दूध, दूध र घ्यू गरी ३ बेग्ला बेग्लै प्लान्ट सञ्चालनमा रहेका छन्।

२०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि आफ्नै उत्पादन परम घ्यू जापान निर्यात गर्न सफल भएको हो। उद्योगले उत्पादन गरी रहेको दुग्धजन्य पदार्थमा कोशी प्रदेश सरकारको अनुदान छ।

तर अनुदान रकमले मात्रै उत्पादित दुग्धजन्य सामग्री जापान निर्यात गर्न सक्ने अवस्था नरहेको उद्योगका सञ्चालक समिति सदस्य मनोजकुमार यादवले बताए। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश सचिव लेखनाथ दाहाललाई उद्योगबाट उत्पादित अन्य दुग्धजन्य सामग्रीमा अनुदानको व्यवस्था गर्न निर्देशन समेत दिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.