थर्ड जेण्डरबारे केपी ओली : सम्मानपूर्वक बाँच्ने हक छ, त्यसका लागि समाज सचेत र संवृद्ध हुनुपर्छ

थर्ड जेण्डरबारे केपी ओली : सम्मानपूर्वक बाँच्ने हक छ, त्यसका लागि समाज सचेत र संवृद्ध हुनुपर्छ

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले थर्ड जेण्डर (तेस्रो लिङ्गी) लाई सम्मानपूर्वक बाच्न पाउने हक रहेको बताएका छन्। उनले त्यसका लागि समाज सचेत र संवृद्ध हुनुपर्ने बताए।

राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले सामाजिक न्याय र समानताको आन्दोलनको अग्रभागमा रहेर झन्डा बोकिरहने बताए। उनले महिला आन्दोलनलाई गलत वृत्ति प्रवृत्तिबाट जोगाउनु पर्ने उल्लेख गरे।

लिङ्ग परिवर्तन गरेर महिला बन्ने, स्वअनुभूतिका आधारमा महिलाको नागरिकता माग गर्नेतर्फ सङ्केत गर्दै एमाले अध्यक्ष ओलीले भने,‘यस गलत वृत्ति प्रवृत्तिबाट महिला आन्दोलनलाई जोगाउन हाम्रा महिला दिदीबहिनीले अगुवाइ गर्नुपर्छ।’

तेस्रो लिङ्गीको अधिकारबारे अधिकांश कार्यक्रममा शब्द नै उच्चारण नगर्ने ओलीले महिला सम्मेलनमा थर्ड जेण्डरलाई पनि सम्मानपूर्वक, सुविधापूर्वक बाच्न पाउने हक रहेको उल्लेख गरे। ‘महिलाका सम्बन्धमा भएको विभेद मात्र होइन,जातिका सम्बन्धमा विभेद, धर्मका होस्, लैङ्गिक हिसाबले वा अन्य हिसाबले होस, थर्ड जेण्डरका लागि होस वा अरू प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि होस्,’ओलीले भने,‘सबैका लागि सम्मानपूर्वक बाच्न पाउने, सुविधापूर्वक बाँच्न पाउने हक यस दुनियाँमा छ, त्यो उपलब्ध हुनुपर्दछ, त्यो उपलब्ध हुनका लागि समाज सचेत र संवृद्ध हुनुपर्दछ।’

नेपालमा सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको रिटमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशपछि तेस्रो लिङ्गी पहिचान स्थापित भएको हो। नेपालको संविधानमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार लेखिएको छ। पहिलो संविधान सभामा पन्तले नै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गरेका थिए। उनी एसियाकै पहिलो समलिङ्गी सभासद् समेत हुन्।

एमाले अध्यक्ष ओलीले आर्थिक संवृद्धिले मात्र नहुने भन्दै चेतनाको पनि संवृद्धि पनि आवश्यक रहेको बताए। ‘मेरो जोड तपाईँहरूले सही चेतनाको सम्प्रेषण गरेर सबै साथीहरूलाई सचेत, संवृद्धि चेतनाले सबल बनाउनु पर्छ, संवृद्ध बनाउनुपर्छ’उनले भने।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “हाम्रो अभियान आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा भएको छुट्टै कार्यक्रममा मन्त्री भगवती चौधरीले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने बताइन।

उनले तर अझै पनि राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गरिन। ‘भर्खरै बजेट आएको छ। तर, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्र तथा यौनिक अल्पसङ्ख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेटको व्यवस्था गरिएको छ’, मन्त्री चौधरीले भनिन्, ‘विगतभन्दा बजेट बढेको छ। तर समग्रमा हेर्दा बजेट निकै न्यून छ। विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ।’

बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहे पनि बजेट आउँदा त्यसरी नआएको उनले गुनासो गरिन्। ‘मैले आफ्नो जीवनकालमा यस्तो महसुस गरेको थिएन। कि मलाई यो पितृसत्तात्मक समाज नै हो भन्ने महसुस भयो। निकै नराम्रो लागेको थियो’, उनले भनिन्, ‘बजेटका विषमा पटक-पटक प्रधानमन्त्री अर्थमन्त्रीज्यूसँग छलफल गरेको थिए। हुन त लाइन मिनिस्ट्रिसँग छलफल गरेर बजेटको टुङ्गो लगाउनुपर्ने थियो तर, त्यसो हुन सकेन। मलाई मेरो जीवनकालमा यस्तो कहिल्यै महसुस भएको थिएन। तर हिजो एक खाले ग्लानि महसुस भएको अवस्था थियो। परम्परागत खालको सोच रहेछ भन्ने मलाई लाग्यो।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.