पत्रकार महासङ्घ शुद्धीकरण अभियान र वर्तमान सवाल

पत्रकार महासङ्घ शुद्धीकरण अभियान र वर्तमान सवाल

‘प्रेस’ जसलाई लोकतन्त्रमा राज्यको चौथो अङ्गको रूपमा स्वीकार गरिएको छ। परिवर्तित समय, माध्यम तथा उपलब्धताले बर्तमानमा ‘मिडिया’ शब्दले समग्र प्रेस जगत् परिचित बन्न थालेको छ। त्यसमा पनि विद्युतीय माध्यमको विकासले यसको विकास, स्वरूप र प्रयोगका हिसाबले प्रेस जगतले छलाङ मारेको छ।

संयोजन, विकास तथा प्रसारका हिसाबमा जटिलता पार गर्दै पाठकमाझ पुग्ने हाम्रा परम्परागत सञ्चारका माध्यमहरू सूचना तथा सञ्चारको विकाससँगै परिवर्तित बनेका छन्। घटनाका प्रत्यक्ष दृश्य प्रवाह पाठक श्रोता दर्शकको माग हुन थालेको छ। यो परिस्थितमा प्रेसजगत आफू पनि परिवर्तन हुन जरुरी छ।

अहिले सूचना दिने सबैलाई हेर्ने दृष्टिकोण एउटै बनेको छ। मिडिया हुन वा सोसल मिडिया सूचना ग्रहण गर्ने वर्गले एकै दृष्टिले हेर्ने अवस्था बनेको छ। राष्ट्रिय टेलिभिजन होस या कैद गरिएको भिडियो पोस्ट गर्ने सामाजिक सञ्जाल फेसबुकको सामान्य पेज दुवैको स्थान समान जस्तो देखिन थालेको छ।

त्यतिमात्र होइन पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्तमा रही सत्य तथ्य र निष्पक्षता विपरीत फेसबुक पेजमा झुम्मिने प्रतिक्रिया दिनेको सङ्ख्या बृहत् देखिन्छ। फेसबुक पेज, युट्युब च्यानल सञ्चालक र प्रेस जगतमा आवद्धहरुको स्थानलाई समान रूपमा हेर्ने प्रचलन बढेको छ। यसलाई कुन रूपमा लिने? पत्रकारिता अनि मिडियाको क्षेत्र बृहत् भयो अथवा साँघुरिँदै गयो?

यहीँ पत्रकारिता र पत्रकारहरूको स्थान सुरक्षित राख्ने पत्रकारहरूको साझा संस्था पत्रकार महासङ्घ अधिवेशनको निकटमा छ। महासङ्घ जस्तो एक बृहत् संस्थाले पत्रकारिताको गाम्भिर्यता, पत्रकारको पेसागत सुरक्षाको संरक्षण तथा बर्तमानमा मिडिया र सोसल मिडियाबीचको अन्यौलता जसले पत्रकारितामा परेको प्रभाव जस्ता विषयमा ध्यान दिनु जरुरी छ।

मिडिया वा सोसल मिडिया समान दृष्टिकोण राख्नेहरूका अगाडी प्रकाशित प्रसारित सामग्री प्रति विश्वास घटेको छ। त्यससँगै विज्ञापन बजारमा प्रत्यक्ष असर छ भने विभिन्न निकायहरूमा पहिचान अभावकै कारण मिडिया जगतलाई अर्थलोलुुपको आरोप भोग्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ।

पत्रकार महासङ्घको लागि यो विषय चुनौती हो। यसको शुद्धीकरण गर्नु महासङ्घको जिम्मेवारी हो। तर महासङ्घको नेतृत्व कसले कुन रूपमा हत्याउने भन्ने होडबाजी चलिरहेका बेला मिडिया जगतको विकल्पमा महासङ्घ आबद्ध सदस्यको शुद्धीकरणको विवादमा महासङ्घ फसेको छ।

हो, पत्रकारितामा सम्बन्ध विच्छेद गरिसकेका सदस्यहरूको आबद्धता रहिरहनु उपयुक्त हुँदैन। तर पत्रकारितामा रहेका सदस्यहरूलाई मानमर्दन हुने किसिमले शुद्धीकरणको नाममा गरिएको क्रियाकलाप गलत छ। प्रविधिले विश्व भूमण्डलीकरणको प्रभावमा परेका बेला सात समुन्द्र पारी रहेर जीवन धान्न श्रम बेच्छ र बाँकी समय कसैले पत्रकारितामा सक्रियता देखाउँछ भने उसलाई महासङ्घको दृष्टिमा पत्रकारका श्रेणीमा राख्न किन लज्जा?

हरेक वर्ष नारामा समावेश गरिने न्यूनतम परिश्रमिक कार्यान्वयन नै नभइरहेको अवस्थामा विशुद्ध पत्रकारिता पेसा अपनाई जीवन चलाउन सहज होला? न्यूनतम पारिश्रमिक कार्यान्वयन भएकै खण्डमा पनि उक्त रकमले जीवन धान्न सहज छैन सबैले बुझेकै विषय हो। त्यहीँ न्यूनतम पारिश्रमिक नै कार्यान्वयन नभएको अवस्थामा अन्य पेसामा संलग्न भन्दै अन्य पेसा सँगै पत्रकारितामा संलग्नहरूको सदस्यता खारेज गरिनु कति उपयुक्त? माथि उल्लेख गरिए झैँ एक सामान्य नागरिकले पेज मार्फत सूचना दिँदा सेवाग्राहीले उसलाई पत्रकारको सूचिमा दर्ज गर्छ भने योग्यता क्षमता र सक्रियता भएकालाई छाता संस्थामा समेट्न बाधा किन?

विशुद्ध पत्रकारितामा संलग्न सदस्य कति छन्? हाल कायम रहेका सदस्य मापदण्ड बमोजिम पत्रकारिता भन्दा फरक पेसा नअङ्गालेका, कुनै दलको समितिमा नरहेका कुनै संस्थामा आबद्धता नजनाएका मात्र हुन त? अनि सदस्यता नवीकरण नगर्ने निर्णय भएकाहरू पहिले पत्रकारितामा रहेका र हाल पत्रकारिताबाट टाढा रहेका मात्र छन् त? कसैले विदेशी भूमिमा रहेर पत्रकारितामा सक्रियता जनाउँछ भने पनि त्यस्ता व्यक्तिको मानमर्दन हुने गरी कारण देखाउँदै सदस्यता हटाउन सिफारिस गरिनु कति उपयुक्त?

लोकतन्त्रको संरक्षण मात्र होइन समाजमा व्याप्त भ्रष्ट्राचार नियन्त्रणमा मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छ। जहाँ मिडियाको उपस्थिति कमजोर छ त्यहाँका नागरिकले राज्य पक्षबाट प्राप्त गर्ने सेवा सुविधाको पक्ष कमजोर हुन्छ। यसका लागि पनि त्यस्ता विषयवस्तु प्रकाशमा ल्याउनु जरुरी छ। तर पत्रकार महासङ्घ समग्र मिडिया जगत् सामाजिक सञ्जालहरूको जालोमा पर्दा पनि आफै कमजोर बन्ने गरी शुद्धीकरणको नाममा कमजोर बन्दै छ। समाजमा अमनचयन, विधिको शासन कायम राख्न तथा लोकतन्त्रको रक्षामा भन्दा पनि आफ्नै सङ्गठनको विवादमा रुमलिएको छ। जसको प्रभाव जिल्ला जिल्लामा सम्म परेको छ।

सक्रिय सदस्यलाई स्थान दिँदैमा महासङ्घलाई कुनै अर्थभार पर्ने होइन। सदस्य सङ्ख्याको कुनै सीमा निर्धारण पनि छैन। पत्रकारिताबाट निष्क्रिय सदस्यको सदस्यता नवीकरण नहुँदा कहिँकतैबाट विरोधको आवाज पनि आउने छैनन्। तर हाल सबै जिल्लाका सञ्चारकर्मी महासङ्घको क्रियाकलाप प्रति रुष्टता जनाइरहेका छन्।

यसबाट महासङ्घले एकपटक स्वमूल्याङ्कन गरेर पनि हेर्ने हो की? दशकौँ देखि महासङ्घमा आबद्ध रहेका, नेतृत्व लिएका महासङ्घको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेकाहरूलाई नै पखा लगाउँदै आफू सक्षम, दर्बिलो अनि गर्भिलो र शुद्ध बन्ने प्रयास गरिरहँदा राज्यका हरेक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको स्वर्ण अक्षरमा नाम अङ्कित गर्न सफल महासङ्घ नै विवादित बन्ने त होइन?

जस जसले पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताला लगाए उनीहरूले नै संयुक्त वक्तव्य जारी गरेर तोकिएकै मितिमा निर्वाचन गर्न माग गरेका छन्। नेपाल प्रेस युनियनले सदस्यता टुङ्गो लगाएर मात्रै महाधिवेशन गरौँ भन्दा खिसीटिउरी गर्नेहरू अहिले सदस्यताको सूची मागिरहेका छन्।

सदस्यता शुद्धीकरण समितिदेखि निर्देशन समितिसमेतमा बहुसङ्ख्यक उपस्थिति रहेकाहरूले नै महासङ्घको निर्वाचनका लागि हलो अड्काइरहेको तथ्य छिपेको छैन। महासङ्घको जिल्ला र प्रदेश संरचनाबाट वैधानिक ढङ्गले सिफारिस भएका सदस्यतामा कैँची लगाउनेहरूले नै विधिको कुरा गर्नु लाजको विषय भयो।

साप्कोटा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष हुन्

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.