सहकारी ठगी : रविविरुद्धको उजुरी परीक्षण, गगनले मागे हिसाबकिताब

सहकारी ठगी : रविविरुद्धको उजुरी परीक्षण, गगनले मागे हिसाबकिताब

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी परीक्षण गर्ने भएको छ।

सुर्यदर्शन सहकारीमा खाता रहेका गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लामिछानेविरुद्ध कृष्णप्रसाद जैसी समेतले पेस गरेको ठगी सम्बन्धी कसुरको जाहेरी सर्वोच्च अदालतले थप परीक्षण गर्ने आदेश दिएको हो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयबाट लेखिएको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी बेहोराको थप परीक्षण गरी दुवै पक्षलाई छलफलमा राखेर मात्र अन्तरिम आदेश जारी हुने वा नहुने निष्कर्षमा पुग्ने भनेको छ।

सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार चाँडै टुङ्गो लाग्नुपर्ने प्रकृतिको विषयवस्तु भएकाले सुनुवाइका लागि अग्राधिकार दिँदै आगामी पेशी २८ गतेका लागि तोकिएको छ। सूर्यदर्शन सहकारीका बचतकर्ताले गत माघ २२ गते रवि लामिछाने, दीपेश पुन सहित विभिन्न व्यक्ति र संस्था गरी १८ जना विरुद्ध पूरक जाहेरी दिएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीका बचतकर्ताको रकम अपचलनमा मुछिएका लामिछानेमाथि संसदीय छानबिनको माग गरेर संसद् बैठक अवरुद्ध गरेको थियो।

सहकारी ठगीमा आरोपित गृहमन्त्री लामिछानेले भने आफूमाथि आरोप मात्र लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयबाट आफू विरुद्ध कुनै उजुरी नपरेको र अभियोजन नभएको भन्दै २०८१ साल वैशाख २४ गते पत्र लेखाएका थिए।

सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानूनी रहेको भन्दै दुवै जनालाई कारबाहीका लागि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन्। रिटमा सुनुवाइ गर्दै सर्वोच्चले महान्यायाधिवक्ता कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्की एकै दिन उपस्थित हुन भनेको छ।

सुर्यदर्शनसँगै लामिछाने बुटवलको सुप्रिम सहकारीको २ करोड रुपैयाँ अपचलनमा समेत मुछिएका छन्। काँग्रेसको रटानपछि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन जेठ १५ मा गठन भएको संसदीय छानबिन समितिले भने काम नै सुरु गरेको छैन।

तीन महिनाको समय पाएको समितिले ५ दिन बिताइसकेको छ। सहकारीका बचतकर्ताको भने सडकमा रुवाबासी चलिरहेको छ।

सहकारी प्रकरण छानबिन समितिले गृहमन्त्री लामिछानेलाई मात्र नभएर गोर्खा मिडियासँग जोडिएका जोकोहीलाई बयानमा बोलाउने काँग्रेस महामन्त्री गगन थापाले बताएका छन्। प्रतिनिधिसभाको बैठकमा महामन्त्री थापाले छानबिन समितिको कार्यादेशमा रविको नाम नराखे पनि गोर्खा मिडियासँग जोडिएकाले बयान लिने बताए।

सहकारी प्रकरणबारे संसद्मा जवाफ दिएका गृहमन्त्री लामिछानेले काँग्रेस सांसदहरूलाई लक्षित गरेर विदेशीलाई सूचना बेचेको, रातो पासपोर्ट काण्डदेखि बाख्रा काण्ड समेत उठाएका थिए। आइतबारको संसद् बैठकमा काँग्रेस महामन्त्री थापाले अब यसको हिसाब किताब प्रधानमन्त्रीसँग माग्ने चेतावनी दिए।

सहकारी प्रकरणलाई लिएर गृहमन्त्री लामिछाने र थापाको इगोहट समेत छताछुल्ल भएको छ। तत्कालीन माओवादी विद्रोहको समयमा नक्कली कागजात पेस गरेर अमेरिका जाने र नेपालमा राम्रो भए पछि फर्कने कुनै एक साथीको कुरा सुनाएर थापाले लामिछानेमाथि व्यङ्ग्य समेत प्रहार गरेका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सहकारी छानबिन संसदीय समितिले माछो माछो भ्यागुतो बनाउने सम्भावना देखिएको बताए। उनले दूधको दूध पानीको पानी छुट्टाउने गरी काम गर्न सचेत पनि गराए।

बजेटमाथिको छलफलमा सत्तारुढ रास्वपाका सांसद गणेश पराजुलीले भने २०४७ सालयताका सबै भ्रष्टाचारका काण्डको छानबिन हुनुपर्ने आफूहरूको माग रहेको र नेपाली काँग्रेसले नै सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएको उल्लेख गर्दै छलफलमा ल्याउन सभामुखसँग माग गरे।

लामिछानेले सत्तामा नपुग्दा सम्म भ्रष्टाचारीको कुरा कसले उठाउँछ भनेर प्रश्न गर्दै आएका थिए।

अहिले लामिछानेले नै गृह मन्त्रालयको बागडोर सम्हालेका छन्। आफ्नो बोलीलाई नै शासन बनाए पनि भ्रष्टाचारका फाइल खोल्ने घुर्की मात्रै लगाएका लामिछाने ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा उभ्याएर तमासा देखाइरहेका छन्।

लामिछानेको फेसबुके निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश नै जारी गरेको छ। कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ सहित अन्तरिम आदेश जारी भएको हो।

सीबी लामा पक्राउ

सहकारीको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछाने मात्रै होइनन्, काँग्रेस नेता पक्राउ नै परेका छन्। दुई सहकारीको एक अर्ब ६३ करोड रुपैयाँ ठगी गरेको आरोपमा काँग्रेस काभ्रेका नेता समेत रहेका कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका चन्द्रबहादुर अर्थात् सीबी लामा प्रहरी हिरासतमा पुगेका हुन्।

काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङको विरुद्धमा ८५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए।

त्यस्तै पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र सहकारी विरुद्ध १२ करोडको हाराहारीमा बिगो माग दाबी गर्दै जाहेरी परेको उनले बताए।

२०८० फागुन २० गतेदेखि नै काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी सीबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको जनाएको छ।

संसदीय समिति निदायो

सहकारी ठगी प्रकरण सडकदेखि संसद्सम्म चर्किरहे पछि छानबिन गर्न गठित संसदीय विशेष समिति भने निदाएको छ। संसद्ले एक हप्ताभित्र काम सुरु गर्न निर्देशन दिए पनि समितिको कार्यालय र चाहिने कर्मचारी व्यवस्थापन हुन नसक्दा समयमै काम सुरु हुन सक्ने सम्भावना टर्दै गएको छ।

सहसचिव स्तरको कर्मचारी सहित संसदीय विशेष समितिको कार्यालय सिंहदरबारमै रहने गरी मोटामोटी सहमति भने भइसकेको छ। अहिले प्राविधिक र अनौपचारिक तयारी भने भइसकेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए।

कार्यप्रारम्भ गर्न दिइएको समय सकिनै लाग्दा संयोजक सूर्य थापा भने अहिले उपत्यका बाहिर छन्। कतिपय सदस्यहरूले संसद्बाट पत्र समेत प्राप्त नभएकाले अन्योलमा रहेको बताइरहँदा दाहालले भने दिएको समय अवधि भित्रै आफूहरूले पाएको भूमिका निर्वाह गर्ने दाबी गरे।

गत जेठ १५ गते सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएपछि ७ सदस्यीय छानबिन समिति गठन भएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.