अन्तर्राष्ट्रिय श्रम सम्मेलन : लिङ्गका आधारमा भइरहेको शोषण अन्त्यका लागि आवाज उठाउने

अन्तर्राष्ट्रिय श्रम सम्मेलन : लिङ्गका आधारमा भइरहेको शोषण अन्त्यका लागि आवाज उठाउने

जेनेभा : बसन्ती महर्जन र गीता देवी थिङ, दुई जना नेपाली महिला स्वास्थ्य स्वयंसेविकाहरूले ३ देखि १४ जुन, २०२४ सम्म स्वीजरल्याण्डको जेनेभामा आयोजना भइरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो अधिकार र सम्मानका लागि गरिएको लामो सङ्घर्षका बारेमा जानकारी गराउने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आयोजना गर्ने वार्षिक बैठक हो।

नेपालमा कार्यरत सामुदायिक स्वास्थ्यकर्मीहरू महिला स्वास्थ्य स्वयंसेविकाको नाममा कार्यरत छन्। भारत, पाकिस्तान तथा फिलिपिन्स, थाइल्यान्ड तथा अफ्रिकाका विभिन्न देशहरू पनि यस्तै विभिन्न नाममा सामुदायिक स्वास्थ्यकर्मीहरू कार्यरत छन्। तर उनीहरूलाई उचित ज्याला, सामाजिक सुरक्षा र रोजगारीको ग्यारेन्टीबाट वञ्चित गरिएको छ।

युनियनका यी दुई नेताहरू महर्जन र थिङले केयर वर्क फोर्स सम्बन्धी छलफलमा पब्लिक सर्भिसेज ईन्टरनेशनल (पिएसआई) को प्रतिनिधिमण्डलका रूपमा सहभागिता जनाउने छन्।सामुदायिक स्वास्थ्यकर्मीहरुले विना पारिश्रमिक गर्नु परिरहेको काम र उनीहरूको अधिकारका लागि एक दशकभन्दा लामो समयदेखि पिएसआई तथा उसका सदस्य युनियनहरूले गर्दै आएको सङ्घर्षका विषयमा अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा पहिलो पटक छलफल हुँदैछ।सम्मेलनमा श्रमिक, विभिन्न मुलुकका सरकार तथा रोजगारदाताहरूले भाग लिन्छन्।

सम्मेलनमा भाग लिन जेनेभा पुगेका दुवै नेताले उपचार गर्दा निको हुने स्वास्थ्य समस्या हुँदाहुँदै पनि आफ्नो परिवारको सदस्यहरू गुमाएका छन्। तसर्थ उनीहरू स्वास्थ्य उपचारलाई समुदाय तहसम्म पुर्‍याउन प्रतिबद्ध रहेका पिएसआईले जनाएको छ। तर यसका लागि सामुदायिक स्वास्थ्यकर्मीहरू जो अग्रमोर्चामा रहेर काम गर्दछन्, उनीहरूको भूमिकाको सम्मान गरिनु पर्दछ। ‘हामीले गरेको त्याग तथा निःस्वार्थ सेवाका बाबजुद हामीलाई श्रमिकको रूपमा पहिचान दिइएको छैन, स्वयंसेवकको रूपमा लिइएको छ। यो अन्याय हो। हामी सम्मान तथा समुदायलाई पुर्‍याएको महत्त्वपूर्ण योगदानका लागि न्यायोचित क्षतिपूर्तिको हामी हकदार हौ’थिङले भनिन्।

‘सार्वजनिक स्वास्थ्य सेवाको क्षेत्रमा न्यून लगानीको प्रतिफल हामी सामुदायिक स्वास्थ्यकर्मीहरुले अन्यायका रूपमा भोग्नु परिरहेको छ। थोरै कर्मचारी, सामाजिक तथा स्वास्थ्यसम्बन्धी सुरक्षाको कमी, र सुविधामा शून्य बरावरको अवस्थाबाट हामी गुज्रिरहेका छौँ। पिएसआईको सहयोगमा यो अवस्थामा परिवर्तनका लागि हामी सङ्घर्षरत छौँ’महर्जनले भनिन्।

पिएसआईको दक्षिण एसिया प्रशान्त क्षेत्रकी सचिव केट लापिनले लिङ्गका आधारमा श्रमिक महिला माथि भइरहेको शोषण अन्त्यका लागि आफूहरूले यो सङ्घर्षमा सहयोग गरिरहेको बताइन्। ‘सार्वजनिक स्वास्थ्य क्षेत्रमा अप्ठ्यारो अवस्थामा पनि कार्यरत यी महिला श्रमिकले पाइरहेको नाम मात्रको भत्तालाई हामी कसरी स्विकार्न सक्दछौँ’उनले प्रश्न गरिन्। ‘स्पष्ट छ की महिलाले गर्ने भएकै कारण स्याहार सम्बन्धी कामको अवमूल्यन गरिएको छ र यसलाई हलुका रूपमा लिइएको छ’उनले थपिन्।

लापिनले भनिन्, अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा हुने छलफल सामुदायिक स्वास्थ्यकर्मीहरूको सन्दर्भमा कोशेढुङ्गा साबित हुनेछ। ‘एसियाभरिका सामुदायिक स्वास्थ्यकर्मीहरू सङ्गठित हुँदैछन्। उनीहरूले आफ्नो अधिकार स्थापित गर्न सफलता हासिल गर्दै गएका छन्।यो सामूहिकताका कारण सम्भव भएको हो र उनीहरूले खेप्नु परिरहेको शोषण पूर्ण कामको विषयमा विश्व समुदाय छलफलका लागि कमसेकम तयार भएको छ। हामी अपेक्षा गर्दछौँ, यो सम्मेलनले सबै देशका सरकारहरूलाई सामुदायिक स्वास्थ्यकर्मीहरूलाई श्रमिकको रूपमा पहिचान दिन, उनीहरूलाई सार्वजनिक स्वास्थ्यकर्मीका रूपमा पारिश्रमिक उपलब्ध गराउन तथा आइएलओलाई पिएसआईसँग मिलेर यी महिला श्रमिकहरूको अधिकार स्थापित गर्न र मर्यादित कामको वातावरण निर्माण गर्न निर्देशन दिनेछ।;

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.