पहिरोले एकै परिवारका चार जनाको मृत्यु

पहिरोले एकै परिवारका चार जनाको मृत्यु

कतै भारी वर्षा, कतै उखरमाउलो गर्मी

काठमाडौं : ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको परिवारका सदस्यहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा ७० वर्षीया रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती ५० वर्षीया जसमाय साम्रा र छोरीहरू नौ वर्षीया गङ्गा र जमुना रहेको फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए।

पहिरोमा परी मृत्यु भएकाहरू गाउँपालिका उपाध्यक्ष रविनका बुबा, कान्छी आमा र २ बहिनी हुन्। यसैगरी ४० वर्षीया युगेन लिम्बू र तीन वर्षीया छोरी घाइते भएका छन्। पहिरोमा परि ५० वटा बाख्रा र ३० वटा कुखुरा पनि मरेका प्रहरीले जनाएको छ।

गत बुधवार रातीदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाएको छ। पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मनसुन सुरु भएसँगै बाढीपहिरो तथा विपद्को घटना देखा पर्न थालेको हुँदा जिल्लामा सबै स्थानीय विपद् व्यवस्थापन समिति साथै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

उच्च सतर्कता अपनाउन साथै विपद् घटनाको सङ्केत पाएमा स्थानीय जनप्रतिनिधि र नजिकको सुरक्षा निकाय समक्ष सूचना, सहयोग तथा समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ।

कतै वर्षा, कतै गर्मी

कोशी प्रदेशका अधिकांश भूभागमा मनसुन प्रणाली सक्रिय रहेको छ। जसको प्रभावले कोशीको तराई र पहाडी क्षेत्रका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको छ। अहिले इलाम झापा र सुनसरी लगायतका भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

यस्तै मोरङमा भारी वर्षा भएको छ। निरन्तरको वर्षाले अरुण, तमोर र सप्तकोशी लगायतका नदिमा पानीको बहाव उच्च भएको छ। शुक्रवार दिउँसो पनि कोशी प्रदेशका विभिन्न भूभागमा पानी पर्ने मौसमविद् अधिकारीले बताए।

स्थानीय वायुको प्रभावले बागमती र गण्डकी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा रहने छ। त्यस्तै आगामी तीन दिनसम्म मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी रहने भएको छ। अत्यधिक गर्मी हुने भएकाले ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागले विशेष बुलेटिन जारी गर्दै कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ।

शुक्रवार पनि सोही हाराहारीमै तापक्रम पुग्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा शुक्रवार केही शीतल हुने विभागले जनाएको छ। उपत्यकामा दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुने अनुमान छ।

काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान गरिएको मौसमविद् अधिकारीले बताए। कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् अधिकारीले जानकारी दिए।

अस्पतालमा बिरामीको चाप

देशभर उखरमाउलो गर्मी बढेपछि अस्पतालमा ‘लू’का बिरामी बढ्न थालेका छन्। विशेषगरी तराईका ठुला सरकारी अस्पतालमा यतिखेर छाला डढेका, लू, ज्वरो र झाडापखालाका बिरामीको भीड लाग्न थालेको छ।

हाल ४२ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा यतिखेर छाला डढेका, लू, ज्वरो, झाडापखाला जस्ता स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामी बढेको अस्पतालका सूचना अधिकारी सङ्केत कुमार रिसालले बताए।

सामान्य अवस्थामा दैनिक ६ सय बिरामी आउने अस्पतालमा अहिले हजार भन्दा बढी बिरामीको भिड लाग्ने गरेको छ। गर्मीकै कारण जनकपुर अस्पतालमा पनि बिरामी बढ्न थालेका अस्पतालका चिकित्सक डा. कृष्णदेव दासले जानकारी दिए।

अत्यधिक गर्मीका कारण लूका बिरामी सहित ज्वरो झाडापखालाका बिरामीका साथै सर्पदंशका बिरामी पनि अन्य वेलाभन्दा अलि बढी अस्पताल पुग्न थालेका छन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि यतिखेर गर्मीका कारण स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामीको अत्यधिक भीड रहेको अस्पतालका चिकित्सक डा. खगेन्द्रराज भट्टले बताए।

विशेषगरी सर्पदंश, ज्वरो झाडापखालाका बिरामी अस्पतालमा यतिखेर धेरै आउने गरेको अस्पतालले जनाएको छ। तराईमा मात्रै होइन यतिखेर काठमाडौँ उपत्यकामा पनि गर्मीका कारण देखिने स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी बढ्न थालेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.