सहकारी छानबिन समितिको फोकसमा गोर्खा मिडिया

सहकारी छानबिन समितिको फोकसमा गोर्खा मिडिया

काठमाडौं : सहकारीको रकम अपचलन सम्बन्धमा गठन भएको संसदीय छानबिन समितिले गोर्खा मिडियाका सम्बन्ध व्यक्तिहरू सोधपुछ गर्ने भएको छ।

समितिले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको छ। आइतबार बसेको बैठकले कार्यविधि पारित गरी सोही अनुसार कार्यसूची तय गरेको समिति सभापति सूर्य थापाले जानकारी दिए।

पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको उनले बताए।

सहकारी छानबिन संसदीय समितिको जटिलता के?

समितिको कार्यदेश अनुसार सहकारीको रकम अपचलनमा मुछिएका सबैसँग सोधपुछ गर्ने समितिले जनाएको छ। गोर्खा मिडिया समितिको फोकसका रूपमा रहेको सभापति थापाले बताए।

समितिले समस्याग्रस्त सहकारीका जिम्मेवार व्यक्तिसँग सोधपुछ गर्नेछ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध सञ्चालक रवि लामिछाने हाल उपप्रधान तथा गृहमन्त्रीमा बहाल रहेकाले केही जटिलता देखिए पनि सोधपुछ गर्ने समितिले निर्णय गरेको सभापति थापाले बताए।

समितिले नियोजित रूपमा छानबिन नगर्ने बताएको छ। तथ्यको विश्लेषण गरेर सत्यमा पुग्ने सभापति थापाले बताए।

पत्रकार भेषमा सहकारीको रकम ठगी

पत्रकारको भेषमा लुकेका सहकारी ठग तेजविक्रम थापा उर्फ राज ठकुरीसहित ४ जना ठग प्रहरी फन्दामा परेका छन्। पौने ३ करोड बैङ्किङ कसुरको मुद्दासमेत लागेका थापालाई कृषि विकास बहुउद्देश्यीय संस्थाको २ अर्ब ८० करोड रुपैयाँ रकम अपचलनको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

उनी उक्त सहकारीका अध्यक्ष हुन्। थापासँगै उनकी श्रीमती एवं सहकारीका व्यवस्थापक ४४ वर्षीया सजना राजकर्णिकार, सहकारीका सदस्यहरू ४७ वर्षीय सञ्जय सापकोटा र ५३ वर्षीय भीमसेन महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

संस्थाका अध्यक्ष थापा हुलिया परिवर्तन गरेर लुक्दै आएको पाइएको छ। वास्तविक नाम तेजविक्रम थापा भए पनि पक्राउबाट उम्कन उनले राज ठकुरीको नामबाट परिचय पत्र बनाएर प्रयोग गर्दै आएको पाइएको हो। उनले राज ठकुरीको नाममा गोर्खा टिभीको आइडी कार्ड बोक्ने गरेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

उनका अनुसार थापा कृषि टेलिभिजनको संस्थापक अध्यक्षसमेत रहेका छन्। थापाले सहकारीको रकम लगेर टिभी खोल्नेदेखि मार्ट र अस्पतालसम्म लगानी गरेको पाइएको एसएसपी भट्टराईले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.